Wednesday, September 3, 2025

संकल्प

 

कलियुगकी राधा हुँ 

किन्तु

परन्तु

द्वापर युगमै इति: 

भइसकेको 

कृष्णको निश्चल प्रेम भेटिनँ

अपितु 

दुसाशनका बिजहरु यत्रतत्र 

सल्बलाइरहेछन् 

कंसका काला कर्तुतहरु 

छताछुल्ल पोखिई रहेछन् 

म लाज पचाएर 

खोजिरहेछु 

एक निष्कलंक प्रेम 

जसको प्रतिरक्षामा 

 उत्रने छैनन् कुनै रुक्मिनीहरु 

आँसुको 

मसाल बोकेर 

यहाँ पति बाँडिएको देखिन्छ

प्रेमि खोसिएको देख्ने

आँखाहरु गान्धारी भएका छन् 


कल्पनाको अर्को पर्याय 

प्रेम लेखिन्छ ,गरिन्न 

गरिएको प्रेम 

लेख्न लायक भए पो

अचेल प्रेम हुँदैन 

आकर्षण हुन्छ 

संभोग हुँदैन सेक्स हुन्छ 

प्रेमी भेटिँदैन ,पुरुष भेटिन्छ 

दुईचार स्खलनपछि 

दुत्कारेर हिँड्छ 

र भन्छ  " चरित्रहीन " 

म लेख्नेछु 

प्रेमको अर्को अध्याय 

जहाँ हुने छैनन् 

कामुकतामा उठेका 

भावनाका ज्वारभाटाहरु 

र निमोठिने छैनन् 

स्निग्ध समर्पणका उद्वेगहरु 

नआओ कोही प्रेमको

भर्याङ चढेर 

पटकपटक उठ्दैन ढलेको विश्वास 

र गुमेको ईज्जत् 

लिंग र प्रेमको 

प्रकृति अलग छ !!

Thursday, August 21, 2025

बुद्ध ,बहुला र "म"


 

लट्टा परेको कपाल

मयलको पत्रले पुरिएर एउटै भएको

छाला र लुगाको रंग

खप्टिएर भिरेको फ्याङ्ले कपडाले

धर्म छोडेर देखिएको गुप्ताङ्ग

चालीस डिग्रीको पीचमा लतारिएका

नाङ्गा पैताला

दुनियाँले देखिरहेको

यो सामान्य दृश्यले

म असामान्य हुन्छु


बीच सडकमा बिना त्रास ,बिना संकोच

निडर ,निर्भय ऊ थचक्क बसिदिन्छ

एउटा अज्ञात भयले , म आँखा चिम्लन्छु

मेरो मस्तिष्क ,

रगत र गिदिको आहालमा लट्पटिएको

मानव आकृतिले विकृत हुन्छ

म आँखा लुकाएर पछि हट्छु

आश्चर्य ,


कुनै दन्त्य कथाको नायकको झैँ

निर्भिक अट्टहासले म फर्किएँ

न रिस ,न राग न भय न अपेक्षा न उपेक्षा

शान्त उसका आँखामा मैले बुद्ध देखेँ

एकाएक कस्सिएको मुठ्ठी

र आक्रोशित लवजले म अल्मलिएँ

मैले भर्खरै देखेको शान्त आँखा

बुद्धको कि बहुलाको ??


बहुलाको आँखामा बुद्ध देख्ने

मेरा आँखा बहुला हुन् कि

बुद्धलाई बहुला देख्ने मेरो मगज उस्तो ??

ऊ यसरी उठ्यो ,

जसरी

आफ्ना डमरुको रक्षामा बघिनी उठ्छे

अन्धाधुन्ध झम्टन्छे र लुच्छे

ठिक त्यस्तै उसको गर्जनले म अलिपर भाग्छु

अरुहरु पनि भाग्छन् ,

ऊ बुद्ध होइन बहुला हो


बहुलाले जुनसुकै बेला जस्तोसुकै हुर्मत लिन सक्छ

मान्छेलाई मान्छेको अगाडि नाङ्गिन लज्जा हुन्छ

नाङ्गो बहुलालाई न लज्जा न ग्लानी

बाटोको माटो उठाएर शीरमा हाल्छ

र खोच्चिएका खुट्टा उचालेर सपथ खान्छ

“सत्य सेवा सुरक्षणम् “

बेसुरा हर्कतबाट भीडले मज्जा लिन्छ

र हाँस्छ उपहास

त्यसपछि ऊ ढुंगा उठाउँछ र भिडतिर दौडन्छ

के बुद्ध बहुलाउँदा यस्तै हुन्छ ??



छिन्नभिन्न भएर भीड हराउँछ

तातो सडकमा फेरि थचक्क बस्छ

चिसो तातोको संदेश नपठाउने रक्तनशा

घामपानीको असर नदेखाउने हाड छाला

न दुख्छ न रुन्छ ,लाग्छ निर्जीव ठुटो हो

जब

व्यस्त सडक अवरुद्ध हुने गरेर

व्यस्त मानिसका पाइला टक्क अडिने गरेर

बीच बाटोमा तेर्सो पर्छ र बर्बराउँछ

फेरि पनि म

शिष्यहरुको माझमा दर्शन बाँडिरहेको बुद्ध देख्छु

सिलसिला विहिन उसका विषयहरु

प्रसंगविहिन राखिएका तर्क

प्रयोग विहिन भएको प्रमाणित जस्तो

कता कता कस कसलाई झट्का लाग्छ

र फेरि बुद्ध बहुलामा परिणत हुन्छ



ऊ माटोको टीका लगाउँछ,

माटोको ओछ्यानमा माटोकै सिरान हाल्छ

बिना लोभ कोहि पापी हुन्न

ऊ पापी होइन ,उसलाई लोभ के को ?

ऊ बहुला फगत बहुला

मगज सड्केको बहुला

ऊ आफ्नै भाइलाई दलाल भन्छ

देश बेच्नेहरुको सत्तोसराप गर्छ

गरिबको पसिनामा रजाइँ गर्नेहरुको

माटोको मोलमोलाइ गरेर

नाप नक्सा खुम्च्याउनेहरुको पोल खोल्छ

सत्यसँग डराउनेहरुले , इमान बेचेर नाङ्गिएकाहरुले

तर्कले जित्न र इमानले हार्न नसक्नेहरुले

ऊ तिर औंला उठाए र भने बहुला हो यो


अब सबै उसलाई बहुला देख्छन्

ऊ सबैलाई भ्रष्ट देख्छ

कहिले आनन्द बोल्छ कहिले आक्रोश

कहिले घीन बोल्छ कहिले करुणा

बेप्रवाह बोल्दा बोल्दै अनियन्त्रित हुन्छ

एउटा कम्पनले डगमगाउँछ भीड र धपाउँछ

म घरि बुद्ध देख्छु ,घरि बहुला

हुन सक्छ मेरो भ्रम

कतै म आफैं त बहुलाइनँ ??

अपराजित "पारिजात"

 

प्रिय पारिजात 

यो हाड मासुलाई 

माटोको जिम्मा लगाएर 

अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग

तिमीले सकम्बरी र सुयोगवीर लेख्दा

साल्गीको बलात्कृत आँसु लेख्दा 

अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा 

एउटा अपमान सहि

एउटा तिरस्कार सहि

एउटा अपवाह सहि

कसैकी रण्डी हुन पर्यो कि परेन ? 

कसैकी वेश्या हुन पर्यो कि परेन ? 

मलाई शंका लाग्छ 

कतै उपमाहरुको भारीले 

आशंका र कपोकल्पित दिग्भ्रमहरुले

तिमीलाई बाँझो राखेको त थिएन ?


म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई 

तिमीले ती घाउहरु 

उतै छोड्यौ कि सँगै लिएर आयौ ? 

त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?

कट्कटी दुख्ने हातगोडाका जोर्नी 

अशक्त फोक्सोको उकुसमुकुस 

त्यहाँभन्दा बेसी 

दुख्यो कि दुखेन मनको धरातल ? 

प्रिय पारिजात 

फुलेपछि नझर्ने जीवन के को छ र ?

तिमी झर्यौ एउटा उचाइमा पुगेर

म भुइँमा पोखिनुको 

बाटोमा छरिनुको 

हजारौं पैतालाले कुल्चिनुको 

एउटा तितो कहानी लिएर आउनेछु

मेरा सवालहरुको जवाफ खोजिराख है ।।

Monday, November 11, 2024

तुलसी विवाह

 

स्वस्थानी व्रत कथामा उल्लेख भए अनुसार जब भगवान विष्णुले हर तरहले युद्ध गर्दा पनि जालन्धरसँग आफ्नो पराजय हुने भएपछि जालन्धर पत्नी वृन्दा माथि प्रपन्च रचि जालन्धरको भेषमा एक पतिव्रता नारीको सत्य डगाइ जालझेल पुर्वक  जालन्धरसँग विजय हासिल गरेको प्रसंग उल्लेख छ । एक तिलस्मी कथा ,जादुमयी परिकल्पनाहरुको संयोजन । सत्य हो ,होइन । होस् नहोस् तर हामी मानिरहेछौँ  युगौंदेखि । नारीलाई एकैपटक शक्ति र भोग्याका रुपमा उभ्याइएका कथनहरु प्रशस्तै भेटिन्छन् । यसै प्रसंगमा पनि जालन्धर पत्नीको पतिव्रताका कारण उनका पति शक्तिशाली थिए । जब उनको सतित्व अन्जानमा परपुरुषसँग संसर्गित भयो त्यसपछि जालन्धरको शक्ति क्षीण भयो र पतन भयो । मतलव पुरुषको तागत ,शक्ति र सफलता थिइ कुनै समय नारी । तर के पुरुषको शक्ति महिलाको योनी हो  ? के महिलासँग पुरुषलाई बहलाउनका लागि एक योनी मात्रै पर्याप्त छ ?  तर्क यो पनि आउँछ । पुरुष सत्ता र सोचले महिलाको योनीलाई भोगको साधन र सृष्टिको उपमामै सिमित बनाइदिए पनि त्यसैलाई आफ्नो शक्तिको स्रोत पनि मान्ने रहेछन् भन्ने एक नजिर हो जालन्धरको मृत्युवरण । 

त्यसपछिको अर्को एक रोचक प्रसंग उल्लेख छ । जब विष्णुद्वारा आफू बलात्कृत (  खासमा बलात्कार थिएन । जालन्धरको भेषमा आएका विष्णुलाई आफ्नै पति सम्झेर समर्पित भएकी हुन्छिन् । ) भएको  थाहा पाउँछिन्  ।  उनले विष्णुलाई श्राप दिन्छिन् । ढुंगा हुन परोस् , रुख हुन परोस् ,झार हुन परोस् , घाँस हुन परोस्  । आज त्यहि श्रापित ढुंगा शालिग्राम भएको छ ,पिपल भएको छ,   तुलसी भएको छ , कुश भएको छ । ईश्वरको लिला । आफ्नै सृष्टि , आफ्नै दृष्टि ।

अहिलेको कानुन भन्दा निकै शक्तिशाली थियो क्यार निसाफ । बोलेपछि पुग्ने । एक वचनको श्रापले सृष्टि पालनकर्ता धर्तिमा खुरुक्क ओर्लनु परेको । 

तर यो युग अर्कै हो । यहाँ एकै जन्ममा सात जुनि भोग्नुपर्छ ।  न कसैको श्राप लाग्छ न आशिष लाग्छ । 

विष्णुलाई श्राप दिएर आत्मदाह गरेकी वृन्दा । तुलसीको रुपमा पुजित विष्णुकै प्रिय मानिन्छ र तुलसी र विष्णुकै विवाह गरिन्छ । हाय युग । त्यो श्राप थियो कि उपासना विष्णु प्रतिको  ।




Sunday, September 15, 2024

डायरी

 




आँखाको निद हराउँछ । तिमीलाई भेट्नु अघि अनि भेटिसकेपछि पनि । तिमीसँगका हरेक भेटहरु यादगार छन् । स्मृतिमा बसेर घरिघरि जिस्काइरहन्छन् । भेट्नु अघि कौतुहलताले निदाउन दिँदैन ,छुटेपछि तिमी प्रतिको सम्मोहनले । थाहा छ छुट्नु भनेको फेरि भेट हुनु हो । त्यो भेटको कुनै अवधि छैन । तिथिमिति छैन । हुन सक्छ केही दिन पछि , केही महिना ,केही वर्ष या हुन सक्छ अर्को जन्मको प्रतीक्षा पनि । प्रतीक्षाको अर्को नाम हौ तिमी । जसको लागि म हरेक पल तडपमा बिताइ दिन सक्छु । तृष्णा  तृप्त होस् ,नहोस् हृदय भरिएर पोखिएको हुन्छ तिमीसँग …… मेरो उर्जा ,मेरो शक्ति मेरा हर कारणको कारक हौ तिमी । 


सांसारिकता भन्दा पर…… अर्को पनि एउटा संसार छ । त्यहाँ तिमी छौ अनि म छु । त्यहाँ हाम्राहरु हुने छैनन् । हाम्रो खुसीमा जल्नेहरु , हाम्रो पिडामा नुनचुक छर्नेहरु हुने छैनन्  । त्यहाँ चल्ने छ हाम्रो एकल साम्राज्य ।  तिमी " तिमी " भएर बाँच्नेछौ  ,म " म" भएर बाँच्नेछु । यस्तो पनि त खयाल आउँछ नि मनमा । 

मनमा आए जति बाँच्ने हक कहाँ छ र हामीलाई ? हामी त समाजले लगाइदिएको लगाममा दौडनु पर्छ ।  आँखाहरु त छन् तर हेरिदिने अरु नै छन् । देखिदिने अरु नै हुन्छन् । 

निर्निमेष सहि तिमीसँगको भेट अजम्वरी रहनेछ । मेरो मन मस्तिष्कमा विचरित विचित्र चित्रहरु तिम्रै उपहारहरु  हुन् ।

september 14, 2024



Wednesday, September 11, 2024

डायरी

 

ऊ : सुतेँ है 

भर्खरै त आठ बजेको छ । कति छिटो सुत्न हतार । बिहानदेखि साँझ सम्मको उल्झनहरुबाट मुक्त भएर एकछिन उभित्र हराउने रहर निमेषमै चिसो हुन्छ । 

म कस्तो प्रेममा छु । मलाई कस्तो प्रेमले बाँधेको हो यो । प्रेम हो कि आदत हो उसको ? ऊ नभई नहुने …… इनबक्स र इन्टरनेटको दुनियाँ भन्दा बाहिर पनि छ र हाम्रो सम्बन्ध ? अझ हाम्रो सम्बन्धको अस्तित्व ? भोलि बिउँझदा उसलाई म बेकार लाग्न सक्छु । मेरो समर्पण र मेरो प्रेम मिथ्या लाग्न सक्छ । माकुराको जालो जस्तो जतिखेरै चुँडिन तयार रहनुपर्ने मेरो कस्तो भाग्य ? मेरो कर्म नै यस्तै त होला नि भाग्यलाई मात्रै किन दोष ? 

साँध र सिमा नाघेर अपनत्वमा विलिन हुनु , कवितामा बहकिएको कवि हृदयमा हाम फाल्नु । नखोजेरै आफुलाई भेट्नु …… कसैको अन्तर हृदयमा आफुलाई प्राप्त गर्नु भन्दा ठुलो प्राप्ति अर्को कुन छ र ? वहकिएँ ……… जानेर नजानेर । 

कति सकसले निदाउनुपर्छ मलाई उसलाई  अन्दाज सम्म पनि छैन । मेरो निदको गोली निलेर ऊ कसरी निदाउँदो हो हररात ? निदाउँदो हो या जागै बिताउँदो हो ? 

उसलाई जगाउनका लागि म मात्रै कहाँ छु र ? म उसको मात्र  हुँ ,ऊ मेरो पनि हो । अर्थात ऊ यताको पनि हो , उताको पनि हो । डबल चीन( चिउँडो ) मात्रै होइन डबल रोल छ उसको जिन्दगीमा ।  कताको सम्बन्धमा  भुमिका निभाउन सहज लाग्छ होला उसलाई ? 

सुतेँ है भनेपछि छुट्नुपर्ने सम्बन्ध या सुरु हुने सम्बन्ध ?

Tuesday, August 6, 2024

डायरी

 


मायामा बन्धन नै कहाँ हुँदो रहेछ र डियर ?  तिमीले पखेटा हाल्यौ र गुँड छोड्यौ । मेरो प्रेमले तिम्रा पखेटा काटेर कुँजो बनाउन चाहेन, भलै तिम्रो साथमै रहने चाह नभएको होइन । उडानबाट थाकेपछि फर्केर त आउँछौ नि ? तिमीले हाम्रो प्रेमका विरुद्ध उठाएको कदमले पनि मभित्र भएको तिमीप्रतिको अनुराग लर्खराउन सकेन । यो अनुराग कस्तो ? यो मोह कस्तो ? यो प्रेम कस्तो ? अनि कस्तो मान्छेको मन ? तिमीले हृदयले प्रेम गर्यौ या मस्तिष्कले ? प्रेम त गरेको हौ । यदि प्राप्तिको एक धर्सो सिन्दुर साक्षी होइन भने तिमी मेरो हौ र म तिम्रो हुँ । मैले तिम्रा आँखामा छचल्केको न्यास्रो देखेको छु , छातिमा ऐठनको गाँठो देखेको छु । ओठमा उदासीको गीत तिम्रो पनि छ ,मेरो पनि छ । फेरि पनि मुस्कुराउनु जिन्दगी हो । यहाँ आँसुमाथि सहानुभूतिको खोलो बगाउनेहरुको भीड छ । तिनै भीडबाट टाढा भाग्नका लागि पनि एक धर्सो मुस्कान बोकेर हिँड्नु जरुरी भएको छ । एउटा प्रेमीले आफ्नो प्रेम जोगाउन गर्नुपर्ने सबै सबै कर्म गरेको हौ , सानै सहि युद्ध त भएकै हो । तिमी योद्धा भएर मैदानमा त उत्रियौ तर यसरी हारेको सिपाही जस्तो पछाडि फर्केर आफ्नो दृढ संकल्प नै भुल्छौ भन्ने चाहिँ लागेको थिएन । यो प्रेमको युद्ध थियो र तिमीमाथि तिमीलाई हराउन अनेकौं अस्त्रहरु प्रयोग भए । प्रेमसँगै हुर्किएको भ्रमलाई ढाल्न नसक्नु मेरो कमजोरी थियोे । जिन्दगीमा भ्रमले जित्यो र प्रेम हार्यो । प्रेम हार्दाको पीडा तिमीलाई थाहा छ र मलाई पनि । मायाले पोलेको छाति तिमीसँग छ र मसँग पनि । पहिलो देखि अन्तिम भेट सम्म साटिएका आँसुका फूलहरु न तिम्रो मानस्पटलमा ओइलाउँछ न मेरो हृदयमा मुर्झाउँछ । कुनैपल , कुनै क्षण प्रेमले सम्झ…… घृणाले सम्झ अलिकति महसुस गर बस् त्यति भए पुग्छ । मलाई मेरो भागको प्रेम मस्तै मिलेको छ ,तिमीलाई तिम्रो भागमा परेको प्रेम कसैले खोसेर खोसिन्न । महशुस हो ,तिमी गर म गर्छु । तिमीलाई नसम्झेको कुनै क्षण हुन्न ,तिमीलाई नदेखेको कुनै चीज हुन्न । फेरि पनि तिमीलाई भेट्नुपर्ने ,तिमीलाई छुनुपर्ने ,तिम्रो आलिंगनमा बाँधिएर तिम्रो छाति भिजाउनुपर्ने यो तृष्णा हो ,यो प्यास हो , मोह हो थाहा छ । माया भन्नू नै यी सबै सबै त रहेछन् । कहिले तावामा ,कहिले भुङ्ग्रामा । मायाले पोल्छ । लाग्छ यो मोह भन्दा माथि उठेर तिमीलाई अनन्त प्रेम गरुँ । तिमीलाई नभेटुँ ,नदेखुँ फेरि पनि तिमीलाई हृदयमा स्पर्श गरुँ । हरेक पाइलामा महसुस गरुँ र नखोजुँ कतै कुनै उपस्थिति जहाँ तिमीलाई अरु कसैको साथमा देखेर मुर्छा परुँ । हो यस्तै हुनेछ हाम्रो प्रेम । यसरी नै सम्झनेछु तिमीलाई । तिम्रो सुखको कामनाहरुमा , तिम्रो खुसीको कामनाहरुमा जिन्दगीका अप्ठ्यारा बाटाहरु पनि सजिलै कटाउन सक्छु । तर तिम्रा बाटाहरुमा कदापि तगारो बन्ने छैन । तिम्रो अप्ठ्याराहरुमा आउनेछु , निराशाहरुमा आउनेछु । तिम्रो लागि सदा खुल्ला छ यो प्रेमिकाको काख ,जहाँ खुसी र पिडाका सुस्केराहरु सुस्ताउन कसैको अनुमति चाहिन्न । २७ फेब्रुअरी ,२०२१ २०७७/११/१५


Monday, August 5, 2024

डायरी

 

मान्छे भित्र खै कुन किसिमको इगोले राज गरिरहेको हुन्छ । स साना उल्झनहरुमा पनि बेस्सरी उम्लेर आउने रहेछ । विष नभएको सर्प र इख नभएको मान्छेको कुनै अर्थ रहँदैन भनिन्छ । इख र इगो फरक हुन् । इखले उचाइमा पुर्याउँछ भने इगोले उचाइ बाट खसालिदिन्छ । मान्छेहरुलाई खस्न कति हतार हो । निमेषभरको आत्मरति ……क्षणिक विजयको उल्लास …… फेरि उहीँ धरातल ।

धर्मका लागि धर्म भुल्ने यो कस्तो चेतना ? कस्तो ज्ञान ? धर्मले जे जे नगर्नु भनेको छ …… मान्छेले त्यहि गरेर धर्मको पालन गरिरहेको छ । फूल सृष्टि गर्नेले काँडा पनि सृष्टि गरेको छ । काँडाको काम तब आउँछ जब पैतालामा अर्को काँडा बिझ्छ । नभए सुकोमल फूलहरुकै सुगन्धमा लिप्त छ दुनियाँ । यो कुतर्कहरुको युग हो । तर्कलाई जित्न नसकेपछि वचनका भाला लिएर युद्धमा अग्रसर हुन्छ आफ्नै प्रेमी पनि  । अत : एउटी नारीले पुरुषसँग सधैं ,उम ,हजुर ,है ,होनि सिवाय दोस्रो प्रश्न गर्नु भनेको सम्बन्धमा पुर्ण विराम लगाउनु हो । भलै भागवत व्यासाशनमा नारीहरुकै पूजा किन नहोस् । शक्ति माथि नै हो भक्ति हुने । विडम्बना नारीहरु जति शक्तिशाली स्थानमा पुगे पनि पुरुष समाजको आँखाले अबला नै देख्ने रहेछ । र अबलाका लागि आफ्नो तर्फबाट टेको दिन पाउँदा गर्वले छाति चौडा बनाउने रहेछ । 

धेरै कुरा पर्दा पछाडी हुन्छन् । रंगमञ्चमा त यथेष्ट तयारी सहित प्रस्तुत हुने हुन् सबै । रंगमञ्चमा सुकोमल देखिएको पात्र पर्दा पछाडि  क्रुर र निर्दयी पनि हुन  सक्छ  । हरेक मान्छेभित्र छ त्यो रंगमञ्च । पर्दा हटाइदिने हो भने सर्वाङ्ग नाङ्गा छन् । तिनका रोम रोमका विषाक्त छादहरु स्पष्ट देखिन्छन् । यहाँ नाटकको वाह वाहि हुन्छ ,यथास्थितिमा नाक खुम्चिन्छ सबैको । 


Saturday, March 30, 2024

बेड नम्बर सत्ताइस्



"ऐया नि आमा ,मरेँ " 

पल्लो छेउको बेडमा भर्खरै एउटी महिलालाई अाइ सि यू बाट वार्डमा ल्याइएको छ । तीस ,पैँतीसको हाराहारीमा छ उनको उमेर । प्रसुती वार्डमा  सुत्केरी दिदीको रेखदेखमा खटेको छु । वार्ड भरि बच्चाहरुको कोकोहोलो छ । कहिले कुन बच्चो च्याँ गर्छ ,कहिले कुन बच्चो च्याँ गर्छ र वार्डको मौनता भङ्ग गर्छ । एक किसिमको जुहारी चलिरहन्छ ,भर्खरै बाहिरी संसारको स्पर्श गरेका कलिला नन्ना मुन्नाहरुको । 

दुई रातको निन्द्रा र दौडधुपको थकानले लखतरान भएर झप्प मात्रै भएको थिएँ । ती महिलाको क्रन्दनले जुरुक्क उठायो । अक्सर प्रसव वेदनाले शिथिल भएका महिला निदाएका हुन्थे , बच्चाहरुको चिरबिरे रुवाईले पनि नबिउँझाउने थकाइ हुन्थ्यो अामाहरुमा ।


अौषधी र सलाइनको बोत्तल मिलाएर नर्सहरु नियमित कर्ममा लागे । ती महिलाको करुण रोदनले विथोलिएको मेरो निन्द्रा फर्किएन र म उनको छेउमा पुगेँ । यताउता हेरेँ , कतैपनि बच्चा नदेखेपछि लाग्यो मिस क्यारेज रहेछ । उफ्, एउटी अामाको लागि यो कति पीडादायी छ , मैले भोगिसकेको छु । उनी पूरा होशमा थिइनन् र तन्द्रामा बर्बराइरहेकी थिईन् । 

"नाईं ,मलाई छोड्देउ " 

"मलाई छोड्देऊ " 

निकैबेर पछि एउटा कालो मोटे केटो आयो ,अौषधीको झोला बेड नजिकैको स्टोर टेबलमाथि फ्याँक्यो अनि भुइँमा बसेर टिफिनको खाना झिकेर खायो । मानौं ऊ महिनौंदेखि भोकाएको थियो र उसले अाज मात्रै भातको थाल भेटेको हो । 

एकदम भद्दा किसिमले खाएर म्याट ओछ्याएर सुत्यो । म अवाक हेरिरहेँ । 


मनमा अनेक प्रश्नका छालहरु उठे र बिस्तारै किनार लागे । बच्चाहरुको तीखो रुवाई अाज नमिठो लाग्यो । त्यो बच्चा विहिन सुत्केरीको मनमा के बित्दो हो यी बच्चाहरुको चिरबिरले बरु अर्कै वार्ड सारिदिए पनि हुने जस्तो लाग्यो । त्यो मोटे उसको लोग्ने रहेछ । रातभर एकपटक पनि उनको निधार छोएन ,हात समाएन र भनेन कस्तो छ तिमीलाई ? 

अस्पताल ल्यायो ,ज्यान बचाइदियो र लोग्ने हुनुको धर्म निभायो । कर्तव्य पूरा गर्नु र प्रेम गर्नु एउटै हो ? 

यहाँ अधिकांश पुरुष कर्तव्य परायणलाई पुरुषत्व ठान्छन् । जुन प्रेम हृदयको कुनो रसाएर अनवरत प्रवाह हुन्छ , त्यसलाई अधिकांश महिलाले महसुस गर्नै पाउँदैनन् ।


बिहानै तातो सुप ल्याएर खुवाएँ । अलिअलि घामको न्यानो बढेपछि हस्पिटल बाहिरको चौरमा गयौँ । अप्ठ्यारो गरेर बिस्तारै हिँडिन् । 

" कति महिना भएको थियो ?"

" सात महिना नाघिसकेको  "

" पहिलो हो कि ?" 

" अाठ वर्षकी छोरी छ" 

" फेरि छोरी जन्माउन दिएनन् ?" 

उनी मेरो काखमा घोप्टो परेर घुँक्क घुँक्क गर्न थालिन् । मलाई उनको आलो घाउ चलाइदिएकोमा खुब पछुतो लाग्यो । नसोधेको भए पनि हुने । 

" यस्तो बेला रोएर कमजोर नहुनु त "

मैले उनलाई उठाउँदै आँसु पुछिदिएँ ।

चार पाँच दिनको अस्पताल बसाइमा हामी निकै नजिकियौँ । म दिदी र उनको बराबर रेखदेख गर्थेँ । 

उनको लोग्ने भनौदो कैदीलाई जस्तो रातभरि कुर्थ्यो र बिहानै देखि हराउँथ्यो फेरि साँझमा अाउँथ्यो ,खान्थ्यो र सुत्थ्यो । 

कस्तो  छ भनेर सोध्नु त परको कुरा , एकपटक पनि स्वास्नीको मुख हेरेको देखिनँ । म उसको लोग्नेको आँखाभरि स्वास्नी प्रति घृणा मात्रै देख्थेँ । यति धेरै घृणामा पनि लोग्ने स्वास्नीको सम्बन्ध हुन्छ ?


विदेश गएको तीन वर्षपछि लोग्ने घर आउँदैछ । मनमा काउकुती चल्नुपर्ने हो । कतिखेर भेटुँ र अंगालो हालेर मनभरि रुनु पनि नभएको होइन तर घरिघरि लाग्ने वाकवाकी र रिंगटाले सन्तोषको सास फेर्न दिएको छैन । के गरुँ र कसो गरुँ सोच्दा सोच्दै आउँछु भनेको भन्दा छिटै अाइपुगेको लोग्नेलाई देखेर खुसी हुनुको साटो खङ्रङ्ग हुन्छे प्रमिला । प्रमिला अर्थात् बेड नम्बर सत्ताइसकी बिरामी । जसको सात महिनाको गर्भ आफ्नो नभएर अरु कसैको पाप हो भन्ने थाहा पाएपछि लात्तै लात्ता बजारेर तुहाइदियो र बलात्कार गर्यो सबैको सामुन्ने नाङ्गेझार पारेर । त्यो त्यहि लोग्ने हो जसले रक्त मुच्छेल शरिरसँग स्वास्नीको निरिहता र शिथिलतासँग विजय हासिल गर्यो र लोग्ने हुनुको मर्यादा बचाउन अस्पताल पुर्यायो । 


प्रमिलाले यौवनको डाह मेटाउन पर पुरुषसँग सम्बन्ध राखेर यस्तो भएको थिएन । बरु पर पुरुषले आफ्नो हवस नियन्त्रण गर्न नसक्दाको परिणाम थियो त्यो गर्भ । त्यो पुरुष अरु कोही थिएन , बाउ समानको ससुरो थियो । गाउँ समाजको अगुवा । जो अगुवा उहीँ बाटो हगुवा भएपछि कसको अनुशरण गर्ने ? कसले निसाफ दिने ?



Monday, January 29, 2024

यारा

 

मन कहाँ कहाँ भाँचिदैन र यारा ? तिमी आफुलाई मात्रै नहेर म त तिम्रै दर्पण हुँ ,तिमी जसरी जहाँ भाँचिन्छौ ,जति पटक भाँचिन्छौ सँगै भाँचिएको हुन्छु । सँगै दुखेको हुन्छु । तिमीलाई दुख्दा कहाँ नदुखेको छ र मलाई ? सम्बन्धको सेतु मन हो । मन नै भाँचियो भने कहाँ रहन्छ माया ? कहाँ रहन्छ विश्वास ? अनि कहाँ रहन्छ हाम्रो प्रेमको अस्तित्व ? 

यो जालिम दुनियाँमा तिमीलाई जति नै गाह्रो छ मलाई पनि बाँच्न । तिमीले नै बनाएको सेतु ,तिमीले नै बढाएको सम्बन्ध तिमीले नै तोडे मात्रै तोडिन्छ । तिमीले नै छोडे मात्रै छोडिन्छ । 

तिमी प्रति विश्वासको सगरमाथा छ । प्रेमको चन्द्रमा छ । जो सदा अटल छ र रहनेछ अनन्त अनन्त सम्म । मेरो मुठ्ठीभरको आवेग थेग्न नसक्ने छाति त तिम्रो पनि होइन । मैले छामेकी छु धेरै पटक । स्पर्शमा कम आभाषमा धेरै । पानीका छालहरु बेप्रवाह किनारमा फ्याँकिए झैँ निमेषभरका निम्ति भएको हाम्रो संगम त्यति कमजोर पनि त थिएन । 

तिमी प्रति अथाह प्रेम छ र पो अलिकति घुर्कि देखाउन धक लाग्दैन । अलिकति रिस पोखाउन भय लाग्दैन । प्रेमले जितेपछि यसरी जितिँदो रहेछ कि संसारका हर कुरा आफ्नै लाग्छन् । हर चीज आफ्नै लाग्छन् । र तिमी पराइ हुन खोज्दा कसरी पराजित हुन सक्छु म । मलाई हारेर पनि तिम्रो हुनु छ र जितेर पनि तिम्रो । बस् ………



Sunday, January 21, 2024

प्रकृति


 कहिलेकाहीँ बाल्यकाल सम्झन्छु । सम्झिरहने त्यस्तो खास क्षण केही छैन । जति सम्झन्छु प्रेमिल भन्दा बढि रिसाहा प्रवृत्तिको एक घामठ बच्ची झेलेका निर्दोष बाउ आमाको क्लान्त अनुहार मात्रै सम्झन्छु । एक्लो सन्तान भएर पुलपुलिएकी भन्नेहरु थिए । टाउकामा चढाएर राखेको फल देख्लास् भन्थे । कसैसँग झगडा गरिनँ । रिसको आगो दनदनी बलेको अनुहारमा देखिन्न थियोे । बाहिरबाट जति शान्त देखिन्थेँ ,भित्र म आगाको भुङ्ग्रामाथि कुदिरहेको हुन्थेँ । 

सानैदेखि जे भोगेँ , त्यहि भोगिरहेकै छु आजसम्म । मान्छेले आगोको जिन्दगी पनि पानी भएर जिउनु पर्ने रहेछ । त्यसको उदाहरण म किन अरुलाई दिउँ ? ! 


सानो कुरामा पनि सम्झौता झेल्न नसक्ने मैले कति ठुला ठुला परिस्थितिमा आफुलाई सम्हाल्न सकेँ । गर्छु भनेको काम गर्नैपर्छ , गर्नु हुँदैन भनेको काम पनि गर्नैपर्छ । बहुलठ्ठीपना । गर्नुपर्ने भन्दा ज्यादा गर्नै नहुने कामको लामो  सूची बन्छ होला मेरो जिन्दगीमा । कसैलाई रुवाउन नपरोस् , रुवाइनँ । कोही आफ्नै तक्दिर सम्झेर नदुखेको टाउको ठोक्दै रुन्छन् भने म त्यसलाई आफ्नो कसुर मान्न कदापि तयार छैन । जानेर गरेका भुलहरुमा कसैलाई कतै दुखाई दिएकी छैन । 


कसैलाई अरुलाई पीडा दिएर आफू खुसी हुने आदत हुन्छ । कसैलाई आफुलाई पीडा दिएर अरुलाई खुसी दिने चाहत । यी दुवै मनोरोगी हुन् । यस्ता मान्छेसँग कहिल्यै केमिस्ट्री मिल्दैन मेरो । त्यसो त संसारमा आफ्नो हिसाबले चल्ने मान्छे कति नै छन् र ? सब यन्त्रवत छन् । कोही पैसाको पछाडि कोहि पद, कोही सुख, कोहि शान्तिका लागि कुदिरहेछन् बेलगाम । पुग्ने कहाँ ,पाउने के थाहै छैन । पाएका कुराले मान्छेलाई कहिल्यै सन्तोष दिएको छैन । सधैं प्राप्तिको लालचमा कुदेको छ कुदेको छ । 


म रिसको प्रसंगमा थिएँ । यस्तो लाग्छ रिस मेरो रगतमै छ । जीनमै छ । हुनुपर्ने कम ,नहुनुपर्ने नै धेरै गुण छन् मसँग । भएका कुरा सबै कहाँ देखिन्छन् र ? 

मभित्र दन्केको आगो, वर्षेको झरि , पग्लेको हिमाल पनि त अन्तरयामी छ ईश्वर जस्तै । छ तर भेटिँदैन । देखिँदैन । मसँग भएको रिस ,मसँग भएको प्रेम ,मसँग भएको करुणा मेरै सम्पत्ति हुन् । न विक्रि हुन्छन् न लिलाम । म मभित्रको प्रेम लाई जति नै प्रेम गर्छु रिसको झिल्को लाई पनि । तँ छस् र त सल्काउन पाएको हुन्छु अभिमानको आगो , स्वाभिमानको मसाल । रिस घृणा होइन अहंकार होइन । दम्भ र घमण्ड होइन । स्वभाव हो , प्रकृति हो । प्रकृति स्विकार्नु नै त जीवन हो । 



Thursday, January 18, 2024

प्रयोगशाला

 

नादान सम्बन्धलाई प्रेमको नाम दिने तिमी । कहाँ सजिलो छ र नाम दिन जति नामको जतन गरिरहन ? जतन गरेँ जस्तो लाग्छ र तिमीलाई यो नामको ? उहुँ गरेनौ । चाहेर या नचाहेर । या तिम्रो मनसाय नै यस्तै पो थियो कि । एउटा भावुक ,कोमल हृदयमाथि तिमीले गरेको अत्याचार कहिल्यै माफ हुने छैन । प्रेममा मान्छे सधैं बच्चा नै भइरहने रहेछ । म कहिल्यै परिपक्व हुन सकिनँ र पटकपटक डुबिरहेँ निर्लिप्त तिम्रो विश्वासमा । मेरो विश्वासको पटकपटक गलत फाइदा उठाउन कसरी सक्यौ ? पटकपटक एउटै व्यक्तिको प्रेममा पर्नु र एउटै व्यक्ति फरकफरक व्यक्तिको प्रेममा विचरण गर्नु धोका हो । प्रेमको वेश्यावृत्ति हो । 


पहिल्यै कसैसँग थियौ । भएकै थियोे । होइन ,छैन भन्दै अर्को नाटक मञ्चन गर्यौ । कलाकार न हौ । विम्ब र प्रतिकका लागि मेरा अञ्जान चाहतहरुको बलि चढायौ । प्रयोगशाला बनायौ समग्रमा म र मेरा भावनाहरुको । सौभाग्य मेरो । कमसेकम केही त योगदान गर्न सकेँ तिम्रा लागि अनुभवहरुको । तिमीलाई परिपक्व बनाउनुमा केही जिम्मेवारी पाएँ भनेर चित्त बुझाउँला । गुनासो गर्नको लागि पनि एउटा आत्मिकता चाहिन्छ । त्यो आत्मिक निकटता भत्काउँदै गयौ र म तिम्रा निर्ममताले किचिमिची भएको छु । अब न गुनासो छ न आशा । बस् तिमीलाई तिम्रो मिशनका लागि शुभकामना छ । 


तिम्रो प्रयोगशालाको अन्तिम अन्वेषण अरु कोही बन्नु नपरोस् । बरु बाँकी टुक्रिन पनि म नै तयार छु ।



Tuesday, January 16, 2024

अन्तरद्वन्द


 सूर्य उदाउनु अघि नै बिउँझन्छु । पुर्वी क्षितिज उघ्रँदै गर्दा तिम्रो याद आउँछ । बिस्तारै बढ्दै गएको सूर्यको आकार र प्रकाश सँगसँगै बढ्छ मुटुको गति पनि । तिमीलाई हेरिरहेको घाम यहि हो ,तिमीले हिँडिरहेको धर्ति यहि हो । यहाँ भन्दा बढि के नै चाहिन्छ र तिमीलाई महसुस गर्न । कहिले कपास जस्तै हलुका भएर उड्छ मन ,कहिले गरुँगो हुन्छ पानी बोकेको बादल जस्तै । पानी पर्न नसकेर धुम्मिएको आकाश र रुन नसकेको मनको हालत उस्तै हुन्छ । अन्धकार । मलिन । उदास । 


मन कमजोर भएपछि शरीर पनि यसै कमजोर हुने रहेछ । शरिरको आधा शक्ति त मनकै उर्जा रहेछ र मनको पुरै उर्जा तिमी थियौ । तिमी " तिमी " जस्तो नरहिदिएपछि गलेेको छु । बदलिएको त तिमी थियौ तर बदलाव जति सबै सबै मैले भोगिरहेको छु । सोच्ने ,सम्झने शक्ति क्षीण हुँदै गएको छ । जति सकारात्मक हुन खोजे पनि मस्तिष्क भड्केको आत्मा बनेको छ । मन र मस्तिष्कको लडाइँमा जित्ने मनले नै हो । भावुक भएर , पिलपिलाएर लाडिएर , जसरी हुन्छ जित्नुछ र हराउनुछ तर्कहरुलाई । वहकिएर बाँच्नुमै आनन्द छ मनलाई । थाहा छैन कसरी  लगाम लगाउँ र अधिनमा राखुँ यसलाई । 


बाटोभरि तिमी , फूल, पात, बतास र बादलहरुमा तिमी । भोक ,प्यास, निन्द्रामा तिमी । मेरो चयनको श्वास लुट्ने तिमी । क्षतिपूर्ति स्वरुप तिमीले गरेको उपकारमा खुसी हुनु कि दुखी ?



Monday, January 15, 2024

सपना (डायरी )


 यदाकदा सपनाले हाम्रा विपनाका संकेतहरु दिन्छन् । मैले धेरैपटक अनुभव गरेको छु र भोगेको छु । आपत्ति आउनु अघि, खुसी आउनु अघि केही न केही संकेत स्वरुप सपना आएकै हुन्छ , अक्सर ख्याल गरिँदैन । केही दिन अगाडि त्यस्तै भयो । हिँड्दा हिँड्दै बाटोमा कोही भेटियो । भारी भएर हिँडिरहेकी थिएँ । उसले केही बोझ उठाइदियो मेरो,  म हल्का भएँ र केहि परसम्म सँगसँगै थियौं । ऊ खुसी थियो । म खुसी थिएँ । सडक दायाँबायाँ बाट हामीलाई हेरेर मुस्कुराइरहेका रहेका ओठहरु थिए । केही क्षणमा भयंकर अन्धकार छायो र बिलाउँदै गयो मेरो साथमा मुस्कुराउँदै हिँडेको एउटा अनुहार । हेर्दाहेर्दै कसरी लुप्त भयो अघिसम्म मेरो हातका चुरा खेलाउँदै गरेको आकृति । म निस्सासिएँ एक्कासी ,सास फेर्न गाह्रो भयो । एकैछिनमा ज्योत्सना छायो ,भर्खरै मेरो हातका चुरामा मुग्ध ऊ त अर्कैको अंगालोमा मग्न रहेछ । बाटोमा भेटिएर बाटोमै छुटिनका लागि किन भेटियो ऊ ? किन आयो जिन्दगीको भारि एकैछिन हलुको बनाइदिन र एकैछिनमा ठुलो बोझ बनिदिन ?   

सोच्दा सोच्दै अर्लाम बज्यो । बिउँझिँदा देब्रे छातिमाथि ढुंगाले थिचे जसरी दुखिरहेको रहेछ । एकपटक आफैंलाई चिमोटेँ ,जिम्दै रहेछु । 


बिहानैदेखि टाउको मात्रै होइन मन पनि भारि भयो । सपना राम्रो नदेखेर भन्दा पनि विपना नै ठिकसँग नचलेको महिना हुन लागिसकेको थियोे । संसारमा कसैले कसैलाई नगरेको माया पाउने भाग्यमानी पनि म र पाएको माया अन्जुलीको बालुवा जसरी पोखिएर जाने अभागि पनि म । समेटेर राख्न खोज्दा खोज्दै पनि सकिनँ । बालुवा जस्तो माया दिएको त थिएनौ र पनि किन यस्तो भयो ? मैले लिन जानिनँ या तिमीले दिन जानेनौँ । हाम्रो आधा माया त पोखिएरै सकिएको छ । शंकाहरु वर्षादका मुल जस्तै उम्लिएर आउँछन् । भ्रममा राखेर प्रेमको नाउँमा बलि चढायौ कि जस्तो लाग्छ । तिमीले मसँग  बढाउँदै गरेको दुरी र अरुसँग बढाइरहेको सम्बन्ध काफि छ दिल टुट्न । 

दुरीहरु यसै बढ्दैनन्  । भोक नभएपछि या अघाएपछि स्वाद कहाँ भेटिन्छ र खाना होस् या सम्बन्धमा ।  अघाउँदै गएको अनुभत हुन थालेपछि थप्न छोडेको हुँ   सम्बन्धमा यादका डिस्प्लेहरु । बस् अरु यथावत् रहनेछ , रहिरहनेछ जीवन पर्यन्त ।



Sunday, January 14, 2024

सहिद


 आदतमा बाँच्न सिकाएर आहतमा पुर्याउने तिमीलाई के उपमा दिउँ प्रियतम ? बत्तीस गुणले सर्व सम्पन्न हुने हैसियत मेरो होइन र छैन । आम मान्छेको भन्दा भिन्न छैन मेरो हृदय । रिस उठ्छ , माया लाग्छ र घृणा पनि जागृत हुन्छ यदाकदा । जब कसैले चोट दिन्छ त्यसपछि सबैभन्दा बढि माया आफ्नै लाग्छ । मैले मेरै अधिनको मनलाई त अर्काले दुखाई दिएको सहनुपर्छ भने अरु के नै पो आफ्नो काबुमा राख्न सकुँला र ? सहेँ धेरै सहेँ चोटैचोटले थिलथिलिएको मुटु मेरो जति कसको होला ? कहिले आफ्नाले दिएको चोट त कहिले आफ्नो हुन खोज्नेहरुले दिएको चोट । चोटहरुको पनि वर्गिकरण हुने रहेछ । कसैले दिए पनि दुख्दैन , कसैले नदिए पनि दुख्छ । 

 


 तिम्रो सामिप्यता मेरो नसिवमा थिएन त के भो तिमीसँग छुट्टिएर पनि त एकैपल बाँच्नु परेको छैन । हरेक पल हरेक निमेषमा तिम्रा यादका तिखा भालाहरु आएर छातिमा बिझिरहन्छन् , घोचिरहन्छन् । थाहा छ, तिमी आएको सपना पनि कति पुलकित भएर लम्बिन्छ र बिहान छोटो भइदिन्छ । तिमीले जसरी सोच्यौ त्यसरी सोचेकै थिइन ,तिम्रै हरपलको अपनत्वले यसरी तानिएँ जसरी घुमिरहेछ पृथ्वी सूर्यको वरिपरि । बस् तिम्रो परिक्रमा मात्रै गर्ने सौभाग्य मिलिरहोस्  ताकि  हाम्रो संगम एक भयानक विस्फोट नहोस् । 


यति मिठो सम्बन्ध यति मिठो प्रेम यति छिट्टै यसरी भ्रममा परिणत हुन्छ थाहै थिएन । भ्रमहरु छोपिन सक्छन् छलिन सक्दैनन् । खै के स्वार्थ थियो तिम्रो निस्कपट प्रेममा । मैन जलाउन पनि सलाई चाहिन्छ म त्यहि सलाई बनेँ । तिमीले कोर्यौ सल्किएँ र निभेँ निमेषभरमा । जुन मैन सल्कायौ त्यो ननिभोस् कहिल्यै । जलिरहोस् तिम्रो हृदयको कुनामा अनवरत । म चाहन्नँ तिमीलाई अँध्यारो देख्न । देख्न त म निष्पट्ट अन्धकारमै धेरैथोक देख्छु तर तिमीलाई त्यहि जलिरहेको मैनको वरिपरि मुस्कुराइरहेको महसुस गरिरहन सकुँ । 


पारिजातले लेखेको " अप्ठ्यारो ठाउँमा आएको पिलो  जस्तो माया " भर्खर बुझ्दै छु । न देखाउन सकिन्छ न सहन नै । ऐया भन्न पनि नपाउने रुन त प…… रको कुरा । रोएर मन जितिने भए आकाशको जून पनि धर्तिमा ओर्लेर समाधिस्त हुन्थ्यो होला । सकिन्न , सकिन्न रहेछ नसकिने मनलाई केही गरेर जित्न । सकिनँ मैले पनि र हारिदिएँ  र छोडिदिएँ  निसश्त्र आँसुहरुको जुलुस निकाल्न ।


तिम्रो आदत रहेछ । सक्यौ । सक्छौ । निर्मोही हुन । निष्ठुर हुन । पापी हुन । तिम्रो निर्ममताको पराकाष्ठा अर्को कसैले भोग्न नपरोस् , म अन्तिम सहिद हुन लालायित छु तिम्रो प्रेम नगरिमा ।




Saturday, January 13, 2024

मन



 मन स्थिर छैन । घरिघरि विगत र वर्तमानसँग ठोक्किएर कहालीलाग्दो आगतमा पुगेर पछारिन्छ । यदि मनको एक्स रे  हुन्थ्यो भने भयावह देखिँदो हो । टायर मुनिको अवोध शिशु जस्तो । भाँचिने मन, दुख्ने मन , टुक्रिने मन र पनि फेरि  नदेखिने …… कस्तो अमुर्त ,कस्तो अजनवी । 

फुटपाथमा थापेको पसल जस्तो दुनियाँको लात्ति खाएर बेचिनुपर्ने , मूल्य भएर पनि अवमूल्यनमा चेप्टिनुपर्ने । ठिक यस्तै समय भोगिरहेछ मन । 

जति कलात्मक बनाउन खोजे पनि एकपटक चुँडिएको धागो ,चुँडिएकै हुन्छ भलै गाँसिए पनि । पटकपटक छिन्दै ,गाँस्दै गरेको मन फुकाउनेलाई पनि कहाँ सजिलो छ र ? यताबाट सुरु गरे उताबाट फुस्किन्छ ,उताबाट सुरु गरे यताबाट फुस्किन्छ । फुस्किन र गाँसिन पनि त संयोग चाहिन्छ । संयोग र वियोगका उतारचढावहरुमा पिल्सिएर एउटा रुखो जिन्दगी बाँच्न विवश बनाउने नियति पनि त आफ्नै हो । 


कहिलेकाहीँ त लाग्छ यो अस्तव्यस्त समयलाई यहिँ तिलाञ्जली दिउँ र लागुँ एउटा अर्को अनन्त यात्रामा ,  जहाँ नभेटिउन्  मनमाथि शासन चलाउने हैकमबाजहरु ,नभेटिउन् अप्ठ्यारो समयमा चेप्ट्याएर मनको स्वाद मेट्ने भेगन मनभक्षीहरु ।  ती भेगनहरु जो पशुको हाड, मासु र रगत होइन मान्छेको मन ,भावना र कोमलताको चौरासी व्यञ्जन भोजन गर्छन् । मान्छेको मन दुखाएर निस्केको आँसु पिउँछन्  । मान्छेकै मनको बलि दिएर भाकल विसर्जन हुन्छ अचेल मन्दिर परिसरमा । ती तमाम निर्दयी हृदयहरुको जय होस् यदि मेरो पराजयमा उनीहरुको जय हुन्छ भने ।



Saturday, September 17, 2022

रङ्ग

मुठ्ठीमा लुकाएर अलिकति अबिर 

अबिरमा मिसाएर चुलामाथिको धुइँसो

तिमी एकसुरो भएर 

क- बाट कलम 

सिकिरहेका बेला

सुटुक्क तिम्रा गालाहरुमा

दलिदिंदा जति हिस्सी त आजसम्म देखिएनौ तिमी !

र मलाई लखेटी लखेटी 

तिमीले फ्याँकेको अबिरको धुलोले 

जति सुन्दर कहिल्यै बनाएन ! 


अकारण

खितखिताएर हामी 

कतिबेर हाँस्यौ होला , 

एक अर्काको छुन हुने/नहुने

अङ्गहरु कति छोइए होला ……

आऊ यसपालि ,

फेरि पनि तिमीलाई 

धुइँसोले रंगाउन मन छ ,

खितखिताएर हाँस्दै भाग्न मन छ,

तिम्रो अघि अघि ………

तिमीले फ्याँक्ने एकमुठ्ठी रातो रंगको लोभमा ।।


पत्थरको फूल


 


तिमी आफुलाई भ्रमर सम्झन्छौ

डस्न मात्रै खोज्छौ,

म पत्थरको फूल

डसेर तिमी आफैं नदुख

म तिमी पीडाले ग्रस्त

छट्पटिएको हेर्न सक्दिनँ

मलाई कुनै भमराको भुनभुन स्वीकार छैन,

चाहे त्यो स्वैर कल्पनाको राजकुमार किन नहोस्

म मनमौजी ,निस्फिक्रि स्वाधीन छु

मेरो सुरक्षाको नाउँमा

पैसाको खोलो नबगाऊ

प्रेमलाई कलंक बनाएर

अवैध बाबु हुन नखोज तिमी ,

मलाई आफ्नै लोग्नेबाट बलात्कृत हुनु छैन

म आफ्नो वैँसलाई आफैं लगाम लगाउन सक्छु

जोगाउन सक्छु कुमारी यौवन

गमलामा फुलेका फूलहरुको रंग हेरेर,

सुगन्ध सुँघेर नाम दिए जस्तो

कुनै नाम चाहन्न

म सुवासिलि, हँसिलि, सुशीला ,मनोहरा, मेनका''

अहँ केही होइन म,

मात्र म एक विद्रोह

तिम्रो मुठ्ठीमा नअट्ने,

तिम्रो संसारमा नरम्ने

फगत म एक विद्रोही फूल !!


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...