मान्छे भित्र खै कुन किसिमको इगोले राज गरिरहेको हुन्छ । स साना उल्झनहरुमा पनि बेस्सरी उम्लेर आउने रहेछ । विष नभएको सर्प र इख नभएको मान्छेको कुनै अर्थ रहँदैन भनिन्छ । इख र इगो फरक हुन् । इखले उचाइमा पुर्याउँछ भने इगोले उचाइ बाट खसालिदिन्छ । मान्छेहरुलाई खस्न कति हतार हो । निमेषभरको आत्मरति ……क्षणिक विजयको उल्लास …… फेरि उहीँ धरातल ।
धर्मका लागि धर्म भुल्ने यो कस्तो चेतना ? कस्तो ज्ञान ? धर्मले जे जे नगर्नु भनेको छ …… मान्छेले त्यहि गरेर धर्मको पालन गरिरहेको छ । फूल सृष्टि गर्नेले काँडा पनि सृष्टि गरेको छ । काँडाको काम तब आउँछ जब पैतालामा अर्को काँडा बिझ्छ । नभए सुकोमल फूलहरुकै सुगन्धमा लिप्त छ दुनियाँ । यो कुतर्कहरुको युग हो । तर्कलाई जित्न नसकेपछि वचनका भाला लिएर युद्धमा अग्रसर हुन्छ आफ्नै प्रेमी पनि । अत : एउटी नारीले पुरुषसँग सधैं ,उम ,हजुर ,है ,होनि सिवाय दोस्रो प्रश्न गर्नु भनेको सम्बन्धमा पुर्ण विराम लगाउनु हो । भलै भागवत व्यासाशनमा नारीहरुकै पूजा किन नहोस् । शक्ति माथि नै हो भक्ति हुने । विडम्बना नारीहरु जति शक्तिशाली स्थानमा पुगे पनि पुरुष समाजको आँखाले अबला नै देख्ने रहेछ । र अबलाका लागि आफ्नो तर्फबाट टेको दिन पाउँदा गर्वले छाति चौडा बनाउने रहेछ ।
धेरै कुरा पर्दा पछाडी हुन्छन् । रंगमञ्चमा त यथेष्ट तयारी सहित प्रस्तुत हुने हुन् सबै । रंगमञ्चमा सुकोमल देखिएको पात्र पर्दा पछाडि क्रुर र निर्दयी पनि हुन सक्छ । हरेक मान्छेभित्र छ त्यो रंगमञ्च । पर्दा हटाइदिने हो भने सर्वाङ्ग नाङ्गा छन् । तिनका रोम रोमका विषाक्त छादहरु स्पष्ट देखिन्छन् । यहाँ नाटकको वाह वाहि हुन्छ ,यथास्थितिमा नाक खुम्चिन्छ सबैको ।


No comments:
Post a Comment