तिमी बिरामी भएको थाहा पाएपछि, बिर्सिएँ तिमीले मेरो पवित्रतामाथि लात हानेर जिन्दगीको मझधारमा छोडि गएको । बिर्सिएँ ,तिमी अरु कसैको सिन्दुर हौ भन्ने र मलाई तिमीसँग भेट्ने ,तिमीलाई छुने हक छैन भन्ने पनि । कोरोना कहरले जनजीवन जटिल बनिरहेको छ । मानिसहरु श्वाससँग लडाइँ गरिरहेछन् । तिम्रा रसिला आँखा र कलेटी परेका काला ओठहरुले मलाई स्तब्ध तुल्यायो । पहिलो भेटमा जुधेका ती नशा भरिएको नजर कता , मुस्कान पोतिएको गुलाबीओठ कता …… हेर्दाहेर्दै कति कतिखेर आँखाहरु साउन भइसकेछन् ,थाहै पाइन । खै कस्तो सम्मोहन हो , यो मनले जिद्दी गर्यो ,यति जिद्दी त तिमीलाई पहिलो पटक भेट्नका लागि पनि गरेको थिएन । अन्तिम भनेर पनि हामीले कयौं भेटहरु गर्यौँ । हामी चाहेर छुटेका थिएनौ , छुटाइयो ,नियतिले छुटायो । समय विपरीत ध्रुवमा उभ्भिदिएपछि हाम्रो केही लागेन । दुश्मनी भएर छुट्टिएको भए , मनमुटाव भएर ,अघाएर ,पुगेर छुट्टिएको भए म तिम्रो हालतसँग दुख्ने थिइनँ । तिमी मेरो अनुपस्थितिमा एक्लो अनुभूति गर्ने थिएनौ ।
खै कसरी पुगेँ तिम्रो डेरा पुग्ने गल्लि सम्म । गल्लीहरुमा पनि हतारिँदै दौडिरहेँ बेप्रवाह……… मैले कसैलाई देखिनँ ,मलाई क कसले देखे ,के के भने त्यो पनि सम्झना छैन । म त तिमीलाई देख्ने युद्धमा निस्किएको थिएँ । किनकि मैले बिना लडाइँ तिमीलाई भेट्न पाउने कुनै सम्भावना थिएन । म भ्रममा थिएँ र भ्रममै दौडिएँ । वरै बाट झ्यालमा हेरेँ ,त्यहाँ हरियो पर्दा थिएन । त्यो झ्याल र झ्यालको पर्दासँग पनि मेरो सम्बन्ध थियो ।गाढा …… तिमीसँग जस्तै ……… जब म झ्याल उघारेर पर्दा सार्थेँ ,तिमी पछाडिबाट आएर अंगालो हाल्थ्यौ र फेरि पर्दा सहित झ्याल नै थुनिदिन्थ्यौ । मलाई तिमीले यसरी नै थुनि राखेको मन पर्थ्यो । जिन्दगीभर म पर्दा उघारिरहने र तिमीले लगाइरहने सिलसिला चलिरहेको छ अझै पनि । सम्बन्धका पर्दा , विगतकापर्दा अनि वास्तविकताका पर्दा । कति फरक छ त्यो झ्यालको पर्दा र जिन्दगीको पर्दा तानातान गर्नुमा ।
एउटा मुटुमा दुई जना राखेर मुटुसँग खेलबाड गर्न सक्ने तिमीले एउटै कोठामा ,एउटै ओछ्यानमा दुई सुहाग मनाउनु कति नै ठुलो कुरा भयो र ? मलाई लाग्थ्यो ,सायद उसलाई मेरो सम्झना प्रिय होला र त त्यहि कोठामा भित्र्यायो नव दुलही । त्यो किचनमाथिको बल्वमा मेरो छायाँ देख्यौ कि देखेनौ ? कोमलताहरुमा रगडिदै गर्दा मेरा स्मृतिहरु चिच्याएर तिम्रो कामुकता स्खलित भयो कि भएन हँ ? मनमा यस्ता अनेकौं प्रश्नहरु आए र गए पनि त्यसै गरि । लोग्नेमान्छे जति सबैलाई एउटै तुलामा जोखे पनि कोही घटिबढि हुन्नन् होला । धेरै पुरुषको संगतले होइन ,धेरै नारीको पिडाले यहि मानसिकता बनाइदियो । नदुख्ने कोही छैनन् ,नरुने कोही छैनन् । अरु त अरु तँलाई माया गर्दैन उसले , तँ उसको जिन्दगी बाट टाढा जा भन्ने तिम्रै परान प्यारीले पनि रुनु परेको छ , रुनु त पर्छ नै , जो नारीको संवेदनामाथि आफ्नो अहम पूरा गर्न हाम फालेर आएकी छ । मेरो सात वर्षको प्रेम, समर्पण ,त्याग र तपस्या एउटा हावाको सानो झोक्काले उडाएर कहाँ कहाँ पुर्यायो भने तिम्रो जिवनमा पनि आउँछ आँधी हुरि र तुफान त …तिमीले पनि महसुस गरेको हेर्न मन छ ।
मन हो बहकिँदै बहकिँदै कता कता पुग्यो फेरि । मैले तिम्रा सबै गल्तीहरु माफ गरिसकेको छु । मलाई तिमीसँग न गुनासो बाँकी छ न ठुलो अपेक्षा नै । तर जुन माया थियो ,श्रद्धा, प्रेम थियो त्यो त अझै पनि छ । न आँसुले पखालियो न धोकाले । झ्यालको हरियो पर्दा नदेखे पछि पनि तिमी त्यहाँ छैनौ भनेर विश्वास लागेन । सोचेँ ,मेरा यादहरुसँग भाग्न नयाँ पर्दा लगायौ । जब गेटमै घरबेटी दिदीसँग भेट भयो , तिमीले त मसँगै यो कोठा पनि छोडिसकेको रहेछौ । तिमीलाई खोज्दै तिमीसम्म आइपुग्न त सक्थेँ तर किन किन तिम्रो स्वप्निल जिन्दगीमा मेरो उपस्थिति असामान्य हुन्छ जस्तो लाग्यो । तिम्रो खुसीको लागि टाढा भएकी म , आफ्नो खुसीको लागि कसरी नजिक हुन सक्थेँ ? आफ्नोे खुसीको लागि पूरा गरेको स्वार्थले एकदिन पोल्छ । दोस्रोको खुसीका लागि गरेको बलिदानले दिने परमानन्द जोकोहीको भागमा कहाँ लेखेको हुन्छ र ?
तिम्रो सु स्वास्थ्यको कामना सिवाय केही गर्न सकिनँ । गरुँगो पाइला लिएर उकालो लागेँ । जहाँ तिमीले भेट्दै पिच्छे पिपलको फेदमा उभिएर टीका लगाइदिन्थ्यौ र फोटो खिचिदिन्थ्यौ । आज टीका लगाइदिने तिमी छैनौ , फोटो खिचिदिने तिमी छैनौ तर तिम्रा यादहरु प्रशस्तै छन् ।


No comments:
Post a Comment