ऊ : सुतेँ है
भर्खरै त आठ बजेको छ । कति छिटो सुत्न हतार । बिहानदेखि साँझ सम्मको उल्झनहरुबाट मुक्त भएर एकछिन उभित्र हराउने रहर निमेषमै चिसो हुन्छ ।
म कस्तो प्रेममा छु । मलाई कस्तो प्रेमले बाँधेको हो यो । प्रेम हो कि आदत हो उसको ? ऊ नभई नहुने …… इनबक्स र इन्टरनेटको दुनियाँ भन्दा बाहिर पनि छ र हाम्रो सम्बन्ध ? अझ हाम्रो सम्बन्धको अस्तित्व ? भोलि बिउँझदा उसलाई म बेकार लाग्न सक्छु । मेरो समर्पण र मेरो प्रेम मिथ्या लाग्न सक्छ । माकुराको जालो जस्तो जतिखेरै चुँडिन तयार रहनुपर्ने मेरो कस्तो भाग्य ? मेरो कर्म नै यस्तै त होला नि भाग्यलाई मात्रै किन दोष ?
साँध र सिमा नाघेर अपनत्वमा विलिन हुनु , कवितामा बहकिएको कवि हृदयमा हाम फाल्नु । नखोजेरै आफुलाई भेट्नु …… कसैको अन्तर हृदयमा आफुलाई प्राप्त गर्नु भन्दा ठुलो प्राप्ति अर्को कुन छ र ? वहकिएँ ……… जानेर नजानेर ।
कति सकसले निदाउनुपर्छ मलाई उसलाई अन्दाज सम्म पनि छैन । मेरो निदको गोली निलेर ऊ कसरी निदाउँदो हो हररात ? निदाउँदो हो या जागै बिताउँदो हो ?
उसलाई जगाउनका लागि म मात्रै कहाँ छु र ? म उसको मात्र हुँ ,ऊ मेरो पनि हो । अर्थात ऊ यताको पनि हो , उताको पनि हो । डबल चीन( चिउँडो ) मात्रै होइन डबल रोल छ उसको जिन्दगीमा । कताको सम्बन्धमा भुमिका निभाउन सहज लाग्छ होला उसलाई ?
सुतेँ है भनेपछि छुट्नुपर्ने सम्बन्ध या सुरु हुने सम्बन्ध ?


No comments:
Post a Comment