मन स्थिर छैन । घरिघरि विगत र वर्तमानसँग ठोक्किएर कहालीलाग्दो आगतमा पुगेर पछारिन्छ । यदि मनको एक्स रे हुन्थ्यो भने भयावह देखिँदो हो । टायर मुनिको अवोध शिशु जस्तो । भाँचिने मन, दुख्ने मन , टुक्रिने मन र पनि फेरि नदेखिने …… कस्तो अमुर्त ,कस्तो अजनवी ।
फुटपाथमा थापेको पसल जस्तो दुनियाँको लात्ति खाएर बेचिनुपर्ने , मूल्य भएर पनि अवमूल्यनमा चेप्टिनुपर्ने । ठिक यस्तै समय भोगिरहेछ मन ।
जति कलात्मक बनाउन खोजे पनि एकपटक चुँडिएको धागो ,चुँडिएकै हुन्छ भलै गाँसिए पनि । पटकपटक छिन्दै ,गाँस्दै गरेको मन फुकाउनेलाई पनि कहाँ सजिलो छ र ? यताबाट सुरु गरे उताबाट फुस्किन्छ ,उताबाट सुरु गरे यताबाट फुस्किन्छ । फुस्किन र गाँसिन पनि त संयोग चाहिन्छ । संयोग र वियोगका उतारचढावहरुमा पिल्सिएर एउटा रुखो जिन्दगी बाँच्न विवश बनाउने नियति पनि त आफ्नै हो ।
कहिलेकाहीँ त लाग्छ यो अस्तव्यस्त समयलाई यहिँ तिलाञ्जली दिउँ र लागुँ एउटा अर्को अनन्त यात्रामा , जहाँ नभेटिउन् मनमाथि शासन चलाउने हैकमबाजहरु ,नभेटिउन् अप्ठ्यारो समयमा चेप्ट्याएर मनको स्वाद मेट्ने भेगन मनभक्षीहरु । ती भेगनहरु जो पशुको हाड, मासु र रगत होइन मान्छेको मन ,भावना र कोमलताको चौरासी व्यञ्जन भोजन गर्छन् । मान्छेको मन दुखाएर निस्केको आँसु पिउँछन् । मान्छेकै मनको बलि दिएर भाकल विसर्जन हुन्छ अचेल मन्दिर परिसरमा । ती तमाम निर्दयी हृदयहरुको जय होस् यदि मेरो पराजयमा उनीहरुको जय हुन्छ भने ।



No comments:
Post a Comment