आदतमा बाँच्न सिकाएर आहतमा पुर्याउने तिमीलाई के उपमा दिउँ प्रियतम ? बत्तीस गुणले सर्व सम्पन्न हुने हैसियत मेरो होइन र छैन । आम मान्छेको भन्दा भिन्न छैन मेरो हृदय । रिस उठ्छ , माया लाग्छ र घृणा पनि जागृत हुन्छ यदाकदा । जब कसैले चोट दिन्छ त्यसपछि सबैभन्दा बढि माया आफ्नै लाग्छ । मैले मेरै अधिनको मनलाई त अर्काले दुखाई दिएको सहनुपर्छ भने अरु के नै पो आफ्नो काबुमा राख्न सकुँला र ? सहेँ धेरै सहेँ चोटैचोटले थिलथिलिएको मुटु मेरो जति कसको होला ? कहिले आफ्नाले दिएको चोट त कहिले आफ्नो हुन खोज्नेहरुले दिएको चोट । चोटहरुको पनि वर्गिकरण हुने रहेछ । कसैले दिए पनि दुख्दैन , कसैले नदिए पनि दुख्छ ।
तिम्रो सामिप्यता मेरो नसिवमा थिएन त के भो तिमीसँग छुट्टिएर पनि त एकैपल बाँच्नु परेको छैन । हरेक पल हरेक निमेषमा तिम्रा यादका तिखा भालाहरु आएर छातिमा बिझिरहन्छन् , घोचिरहन्छन् । थाहा छ, तिमी आएको सपना पनि कति पुलकित भएर लम्बिन्छ र बिहान छोटो भइदिन्छ । तिमीले जसरी सोच्यौ त्यसरी सोचेकै थिइन ,तिम्रै हरपलको अपनत्वले यसरी तानिएँ जसरी घुमिरहेछ पृथ्वी सूर्यको वरिपरि । बस् तिम्रो परिक्रमा मात्रै गर्ने सौभाग्य मिलिरहोस् ताकि हाम्रो संगम एक भयानक विस्फोट नहोस् ।
यति मिठो सम्बन्ध यति मिठो प्रेम यति छिट्टै यसरी भ्रममा परिणत हुन्छ थाहै थिएन । भ्रमहरु छोपिन सक्छन् छलिन सक्दैनन् । खै के स्वार्थ थियो तिम्रो निस्कपट प्रेममा । मैन जलाउन पनि सलाई चाहिन्छ म त्यहि सलाई बनेँ । तिमीले कोर्यौ सल्किएँ र निभेँ निमेषभरमा । जुन मैन सल्कायौ त्यो ननिभोस् कहिल्यै । जलिरहोस् तिम्रो हृदयको कुनामा अनवरत । म चाहन्नँ तिमीलाई अँध्यारो देख्न । देख्न त म निष्पट्ट अन्धकारमै धेरैथोक देख्छु तर तिमीलाई त्यहि जलिरहेको मैनको वरिपरि मुस्कुराइरहेको महसुस गरिरहन सकुँ ।
पारिजातले लेखेको " अप्ठ्यारो ठाउँमा आएको पिलो जस्तो माया " भर्खर बुझ्दै छु । न देखाउन सकिन्छ न सहन नै । ऐया भन्न पनि नपाउने रुन त प…… रको कुरा । रोएर मन जितिने भए आकाशको जून पनि धर्तिमा ओर्लेर समाधिस्त हुन्थ्यो होला । सकिन्न , सकिन्न रहेछ नसकिने मनलाई केही गरेर जित्न । सकिनँ मैले पनि र हारिदिएँ र छोडिदिएँ निसश्त्र आँसुहरुको जुलुस निकाल्न ।
तिम्रो आदत रहेछ । सक्यौ । सक्छौ । निर्मोही हुन । निष्ठुर हुन । पापी हुन । तिम्रो निर्ममताको पराकाष्ठा अर्को कसैले भोग्न नपरोस् , म अन्तिम सहिद हुन लालायित छु तिम्रो प्रेम नगरिमा ।

.jpg)

No comments:
Post a Comment