सूर्य उदाउनु अघि नै बिउँझन्छु । पुर्वी क्षितिज उघ्रँदै गर्दा तिम्रो याद आउँछ । बिस्तारै बढ्दै गएको सूर्यको आकार र प्रकाश सँगसँगै बढ्छ मुटुको गति पनि । तिमीलाई हेरिरहेको घाम यहि हो ,तिमीले हिँडिरहेको धर्ति यहि हो । यहाँ भन्दा बढि के नै चाहिन्छ र तिमीलाई महसुस गर्न । कहिले कपास जस्तै हलुका भएर उड्छ मन ,कहिले गरुँगो हुन्छ पानी बोकेको बादल जस्तै । पानी पर्न नसकेर धुम्मिएको आकाश र रुन नसकेको मनको हालत उस्तै हुन्छ । अन्धकार । मलिन । उदास ।
मन कमजोर भएपछि शरीर पनि यसै कमजोर हुने रहेछ । शरिरको आधा शक्ति त मनकै उर्जा रहेछ र मनको पुरै उर्जा तिमी थियौ । तिमी " तिमी " जस्तो नरहिदिएपछि गलेेको छु । बदलिएको त तिमी थियौ तर बदलाव जति सबै सबै मैले भोगिरहेको छु । सोच्ने ,सम्झने शक्ति क्षीण हुँदै गएको छ । जति सकारात्मक हुन खोजे पनि मस्तिष्क भड्केको आत्मा बनेको छ । मन र मस्तिष्कको लडाइँमा जित्ने मनले नै हो । भावुक भएर , पिलपिलाएर लाडिएर , जसरी हुन्छ जित्नुछ र हराउनुछ तर्कहरुलाई । वहकिएर बाँच्नुमै आनन्द छ मनलाई । थाहा छैन कसरी लगाम लगाउँ र अधिनमा राखुँ यसलाई ।
बाटोभरि तिमी , फूल, पात, बतास र बादलहरुमा तिमी । भोक ,प्यास, निन्द्रामा तिमी । मेरो चयनको श्वास लुट्ने तिमी । क्षतिपूर्ति स्वरुप तिमीले गरेको उपकारमा खुसी हुनु कि दुखी ?



No comments:
Post a Comment