यदाकदा सपनाले हाम्रा विपनाका संकेतहरु दिन्छन् । मैले धेरैपटक अनुभव गरेको छु र भोगेको छु । आपत्ति आउनु अघि, खुसी आउनु अघि केही न केही संकेत स्वरुप सपना आएकै हुन्छ , अक्सर ख्याल गरिँदैन । केही दिन अगाडि त्यस्तै भयो । हिँड्दा हिँड्दै बाटोमा कोही भेटियो । भारी भएर हिँडिरहेकी थिएँ । उसले केही बोझ उठाइदियो मेरो, म हल्का भएँ र केहि परसम्म सँगसँगै थियौं । ऊ खुसी थियो । म खुसी थिएँ । सडक दायाँबायाँ बाट हामीलाई हेरेर मुस्कुराइरहेका रहेका ओठहरु थिए । केही क्षणमा भयंकर अन्धकार छायो र बिलाउँदै गयो मेरो साथमा मुस्कुराउँदै हिँडेको एउटा अनुहार । हेर्दाहेर्दै कसरी लुप्त भयो अघिसम्म मेरो हातका चुरा खेलाउँदै गरेको आकृति । म निस्सासिएँ एक्कासी ,सास फेर्न गाह्रो भयो । एकैछिनमा ज्योत्सना छायो ,भर्खरै मेरो हातका चुरामा मुग्ध ऊ त अर्कैको अंगालोमा मग्न रहेछ । बाटोमा भेटिएर बाटोमै छुटिनका लागि किन भेटियो ऊ ? किन आयो जिन्दगीको भारि एकैछिन हलुको बनाइदिन र एकैछिनमा ठुलो बोझ बनिदिन ?
सोच्दा सोच्दै अर्लाम बज्यो । बिउँझिँदा देब्रे छातिमाथि ढुंगाले थिचे जसरी दुखिरहेको रहेछ । एकपटक आफैंलाई चिमोटेँ ,जिम्दै रहेछु ।
बिहानैदेखि टाउको मात्रै होइन मन पनि भारि भयो । सपना राम्रो नदेखेर भन्दा पनि विपना नै ठिकसँग नचलेको महिना हुन लागिसकेको थियोे । संसारमा कसैले कसैलाई नगरेको माया पाउने भाग्यमानी पनि म र पाएको माया अन्जुलीको बालुवा जसरी पोखिएर जाने अभागि पनि म । समेटेर राख्न खोज्दा खोज्दै पनि सकिनँ । बालुवा जस्तो माया दिएको त थिएनौ र पनि किन यस्तो भयो ? मैले लिन जानिनँ या तिमीले दिन जानेनौँ । हाम्रो आधा माया त पोखिएरै सकिएको छ । शंकाहरु वर्षादका मुल जस्तै उम्लिएर आउँछन् । भ्रममा राखेर प्रेमको नाउँमा बलि चढायौ कि जस्तो लाग्छ । तिमीले मसँग बढाउँदै गरेको दुरी र अरुसँग बढाइरहेको सम्बन्ध काफि छ दिल टुट्न ।
दुरीहरु यसै बढ्दैनन् । भोक नभएपछि या अघाएपछि स्वाद कहाँ भेटिन्छ र खाना होस् या सम्बन्धमा । अघाउँदै गएको अनुभत हुन थालेपछि थप्न छोडेको हुँ सम्बन्धमा यादका डिस्प्लेहरु । बस् अरु यथावत् रहनेछ , रहिरहनेछ जीवन पर्यन्त ।



No comments:
Post a Comment