Monday, August 2, 2021

कमरेडलाई पत्र


 डियर कमरेड

जब राजनितीलाई प्रेम गर्न छोडेर

प्रेममा राजनीति गर्न थाल्यौ 

तिम्रो राजनितीले 

सर्वहारा प्रेमको घाँटी निमोठ्न थालेको छ

दिनदहाडै लुटेर

कुमारी आँखाका सपना

विश्वासमाथिको बलात्कार 

भत्काएर भरोसाका दरिला खाँबाहरु

कुन वादको प्रतिस्थापन गर्न चाहन्छौ तिमी ?


तिम्रो माक्र्सवादमा जस्तो 

विकासका लागि विनाशको सिद्धान्त 

प्रेमको हराभरा बगैंचा उजाडेर

पश्चातापको महल सजाउनुमा हुन्न

के मन उजाडेर 

विश्वास भत्काएर

भरोसा तोडेर 

सुषुप्त हृदय विस्फोट गराउन चाहन्छौ ?


तिमी हार्दैनौ 

तिमीलाई हार्न दिने छैन म

प्रेम हराउने युद्ध होइन 

हर आँसुका बुँदहरुले 

मभित्र शक्ति संचय गरिदिन्छन् 

जो तिमीले पुछिदिन सकेनौ

हर चित्कारले मभित्र उर्जा भरिदिन्छन्

जहाँ तिमीले सुम्सुमाउन जानेनौ

डियर कमरेड 

तिमी प्रेममा राजनीति गर्न थाल्यौ 

म तिम्रो राजनितीलाई नै प्रेम गर्न थालेँ !!

No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...