Monday, August 2, 2021

डायरी


 कहिलेकाहीँ साना चोटहरुको पीडा ठुला चोटहरुले पुरिदिन्छ  । ऊ मेरो जीवनको त्यहि ठुलो घाउ बन्यो जसलाई सानो चोटको पीडा सहन नसकेर आफैंले आफैंलाई दुई चिरा बनाउन पुगेँ । जब ठुलो चोट लाग्यो ,सानो चोटको दुखाइ महसुस नै भएन । मलाई थाहा थियो ऊ मेरो गन्तव्य होइन ,प्राप्ति होइन र प्रेम पनि होइन । फेरि पनि ऊ आदत बन्यो ,लत बन्यो  । त्यो अादतको खत उहि थियोे ,त्यो लतको जिम्मेवार उहीँ थियो । विडम्बना अपजसको तितो गोली म एक्लैले निलेँ । बेमानीको तुच्छ आरोप म एक्लैले थेगेँ । वियोग र वेदनाको पहिरोमा म एक्लै पुरिएँ । आँसु र पिडाको दलदलमा म एक्लै भासिएँ । मलाई मन्जुर छन् मेरा अञ्जान कसुरहरुको सजाय ,मलाई मन्जुर छ मेरा अविवेकी निर्णयका परिणाम । तर म उसका जालिम हर्कतहरुलाई के गरुँ ? 

मलाई यी हरफहरु लेखिरहँदा कुनै ग्लानी हुँदैन " यदि मेरो हृदय र चेतना दुवै मेरो काबुमा रहँदैन थियो भने मलाई उसको हत्यारा हुन कुनै पश्चाताप हुने छैन " 

तर म आलो रगतमा बदला खोज्दिन । म बदला लिन्छु त केवल आफ्नै दृढ संकल्पहरुसँग , जो पटकपटक चिप्लिएर ऊ सम्म पुग्ने कोसिस गरिरहे र आफैंलाई अपमानित गराइरहे । 


एउटा मान्छेको मायाले मात्रै होइन एउटा मान्छेको अपमान र घृणाले पनि जिन्दगीमा धेरै फरक पार्दो रहेछ । चाहेर पनि म घृणालाई प्रेम गर्न सक्दिनँ , यदि सक्छु भने म मानवताभन्दा माथि उठिसकेको हुनेछु । मलाई भ्रमहरुमा , ढोंगहरुमा बाँच्नु छैन । कसैको खुसीको निम्ति गरिएको सानो अभिनयले जिन्दगीको सम्पूर्ण नाप नक्सा नै बदलिएपछि डर लाग्छ सम्बन्धहरुसँग । घृणा जाग्छ सबैभन्दा बढि प्रेमसँग ।

No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...