हो तिम्रो मन चट्टान जस्तै छ
र छ फलाम जस्तै बलियो
किन्तु
रसाएकै हुन्छ
पत्थरिला चट्टानहरु पनि
सावन जागेपछि
छताछुल्ल पोखिएर
संसार सिंच्नु पनि कला हो
पुजिनका लागि
ढुंगाले पनि मन्दिर पाउनुपर्छ
यत्रतत्र फैलिएका सबै ढुंगा देउता हुन्नन्
जसरी किसुनजीका
सोह्र हजार गोपिनीहरु प्रेमिका भएनन्
प्रेम भन्ने चीज
न अनुनयमा हुन्छ न विनिमयमा
नसच्चिने भुलहरु हुन्नन्
र नच्यातिने भ्रमहरु पनि
भुलहरु सच्चिएपछि
भ्रमहरु च्यातिएपछि
पूर्वले बिहानीको पर्दा उघारेझैं
प्रेमको लालिमाले
यो छातिको देब्रे पाखो झल्मलाएको छ
र तिमी अनमोल "रत्न" मा
अनुदित भएका छौ !!


No comments:
Post a Comment