Sunday, August 29, 2021

सुन्दरताको विज्ञापन

 


महिला सशक्तीकरण र समताका बहस भइरहँदा हिजो र आजको समाज व्यवस्था र सामाजिक आचरणहरुमा आमूल परिवर्तन नआएको होइन । जैविक रुपमा महिला र पुरुषको संरचना फरक छ । प्रकृतिले जुन चीज महिलालाई दिएको छ त्यो पुरुषलाई दिएको छैन र जुन कुरा पुरुषलाई दिएको छ त्यो महिलालाई दिएको छैन । आफुसँग नभएका कुराहरुसँग सहकार्य गर्नुपर्ने भएर नै महिला र पुरुषको सम्बन्ध शारीरिक ,मानसिक र सामाजिक  रुपमा पनि आदिम युगदेखि अनित्य रहिआएको छ ।  महिला र पुरुषको प्राकृतिक आकर्षणले शारीरिक सम्बन्ध मात्रै हुन्थ्यो र त्यसमा भावनात्मक संवेगले काम गर्दैन थियो भने यो सृष्टि चक्र यहाँसम्म आइपुग्ने नै थिएन । तर ……… आधुनिक समाजमा भावनात्मक उर्जा सकिँदै गयो र अहंकारको जालो फैलँदै जान थालेको छ ।

आधुनिकता र स्वतन्त्रताका नाममा चर्का चर्का बहस गर्ने कोटीका महिलावृन्दहरु एक लाइकका लागि विज्ञापनको प्रसाधन बनिदिन्छन् । के महिलाले अझै पनि शारीरिक सुन्दरताका लागि प्रतिस्पर्धा गरिरहने हो  ? के महिलासँग वैचारिक बहसमा उत्रन तर्क छैन ,क्षमता छैन ? राज्यसँग आरक्षणको लागि कहिलेसम्म कोटा मागिरहने ? हाम्रो क्षमताले हामीले उच्च स्थान प्राप्त गर्न अझै कति पुस्ता पर्खिनु पर्छ ? 

उमेर पुगेपछि बिहे गरिदिनु पर्छ ,बच्चा जन्माइदिनु पर्छ ……… थोरैले रहरले वैवाहिक सुख हासिल गरेको हुन्छन् , अझ मातृ सुख त अनुभवहीन भइदिन्छ कामकाजी महिलाको । भुइँ नदेखिने पेट हुँदा पनि अफिस जानुपर्छ , फिल्ड हेर्नुपर्छ । त्यसमाथि लोग्नेको पसिनामा आहाल बसेका आइमाईहरुको वचन सुन्नुपर्छ " अब त पोइको कमाई खाएर बस्ने बेलामा कति लोभ गरेको पैसाको ? " हाय रे दुनियाँ आफ्नो परिश्रमको एक हजार पनि पोइले खटाएर दिएको दस हजारभन्दा कति मुल्यवान हुन्छ भन्ने अर्काको कमाइमा रजाइ गर्नेहरुले कसरी बुझुन् । 

बच्चा जन्मिएपछि ज्यान तङ्ग्रिन नपाउँदै जागिर जोगाउने दौडधुप सुरु हुन्छ । दिनभरि गान्निएका स्तन र भोकाएको शिशुको ब्यालेन्स मिल्दैन र सुरु हुन्छ फेरि अर्को तिक्तता ………

यस्तो समाजसँग संघर्ष गर्नुपर्ने हामीलाई चिन्ता चाहिँ लिपिस्टिकको कलर र क्रिमको क्वालिटीको हुन्छ । पहिरनका डिजाइन र श्रृङ्गार प्रसाधनको हुन्छ  ।  भित्रबाट सुन्दर र शिष्ट बनाउनको लागि पनि कुनै प्रोडक्ट हुन्थ्यो भने मलाई लाग्छ त्यहाँ कुनै महिलाको होडिङ बोर्ड बन्ने छैन । किनकि आजसम्म महिलाहरुलाई शारीरिक सुन्दरताकै घमण्ड छ र पुरुषले त्यसको भरपुर प्रयोग गरेको छ । यहाँ विज्ञापनमा सुन्दरता हुँदैन ,सुन्दरताको विज्ञापन हुन्छ । 

Monday, August 2, 2021

डायरी- विमर्श


 जिन्दगीले भोगेका धेरै कुराहरु डायरीमा उतार्न सकिन्न । हामी आफ्नो लागि कम र अरुको लागि धेरै होशियार भएर बाँच्ने कोसिस गर्छौं । आफुलाई के हुन्छ भन्दा बढि अरुले के सोच्छन् भन्ने कुराले हाम्रो दिमागमा यसरी जाल बुनेको हुन्छ कि चाहेर पनि त्यो जालो बाट हामी मुक्त हुन सक्दैनौं । मैले धेरै पटक आफ्नो डायरी च्यातेको छु र जलाएको छु । के मेरा दैनिकी त्यति लज्जास्पद थिए ? के मेरा अभिव्यक्ति त्यति अस्विकार्य थिए ? कसैले पढ्न नहुने ,नसक्ने कुराहरु के लेखेँ मैले ? किशोरी उमेरमा आउने धेरै भावनाहरु मैले संगालेर राख्न सकिनँ ,जानिनँ । म काँचो थिएँ र मलाई डर लाग्थ्यो मलाई पढेर के भन्लान् ।  मन हो , मनमा राम्रा नराम्रा सबै किसिमका भावहरु आउँछन् ,विचारहरु आउँछन् र तरंग फैलाउँछन् । हामी हुर्किएको वातावरण अनुकूल हामीमा यति धेरै लगाम लगाइन्छ कि हामीलाई हाम्रा उमेरले दिएका अनुभवहरु लेख्ने हक सम्म छैन । हामी कुन मानसिकतामा बाँचिरहेका छौँ अझै ? 

हामीलाई हाम्रो समाजले कुन स्तरको बनाउन चाहन्छ ? समाज तपाईं ,हाम्रै सम्मिश्रण होइन र ? 

समाजमा व्याप्त अनैतिकता , अव्यावहारिकता जस्ताको त्यस्तै विकास गरेर एउटि छोरीको ,एउटी किशोरी ,एउटी यौवनाको डायरी जलेर खाग हुँदैमा समाज सभ्य हुन सक्दैन । यसले कुण्ठाको बाटो डोर्याउँछ र समाजलाई अझै भत्काउँछ ।

म तिनै च्यातिएका र जलाइएका डायरीका किस्साहरु सम्झने यत्न गर्दैछु ।

डायरी


 कहिलेकाहीँ साना चोटहरुको पीडा ठुला चोटहरुले पुरिदिन्छ  । ऊ मेरो जीवनको त्यहि ठुलो घाउ बन्यो जसलाई सानो चोटको पीडा सहन नसकेर आफैंले आफैंलाई दुई चिरा बनाउन पुगेँ । जब ठुलो चोट लाग्यो ,सानो चोटको दुखाइ महसुस नै भएन । मलाई थाहा थियो ऊ मेरो गन्तव्य होइन ,प्राप्ति होइन र प्रेम पनि होइन । फेरि पनि ऊ आदत बन्यो ,लत बन्यो  । त्यो अादतको खत उहि थियोे ,त्यो लतको जिम्मेवार उहीँ थियो । विडम्बना अपजसको तितो गोली म एक्लैले निलेँ । बेमानीको तुच्छ आरोप म एक्लैले थेगेँ । वियोग र वेदनाको पहिरोमा म एक्लै पुरिएँ । आँसु र पिडाको दलदलमा म एक्लै भासिएँ । मलाई मन्जुर छन् मेरा अञ्जान कसुरहरुको सजाय ,मलाई मन्जुर छ मेरा अविवेकी निर्णयका परिणाम । तर म उसका जालिम हर्कतहरुलाई के गरुँ ? 

मलाई यी हरफहरु लेखिरहँदा कुनै ग्लानी हुँदैन " यदि मेरो हृदय र चेतना दुवै मेरो काबुमा रहँदैन थियो भने मलाई उसको हत्यारा हुन कुनै पश्चाताप हुने छैन " 

तर म आलो रगतमा बदला खोज्दिन । म बदला लिन्छु त केवल आफ्नै दृढ संकल्पहरुसँग , जो पटकपटक चिप्लिएर ऊ सम्म पुग्ने कोसिस गरिरहे र आफैंलाई अपमानित गराइरहे । 


एउटा मान्छेको मायाले मात्रै होइन एउटा मान्छेको अपमान र घृणाले पनि जिन्दगीमा धेरै फरक पार्दो रहेछ । चाहेर पनि म घृणालाई प्रेम गर्न सक्दिनँ , यदि सक्छु भने म मानवताभन्दा माथि उठिसकेको हुनेछु । मलाई भ्रमहरुमा , ढोंगहरुमा बाँच्नु छैन । कसैको खुसीको निम्ति गरिएको सानो अभिनयले जिन्दगीको सम्पूर्ण नाप नक्सा नै बदलिएपछि डर लाग्छ सम्बन्धहरुसँग । घृणा जाग्छ सबैभन्दा बढि प्रेमसँग ।

भ्रम


 धेरै भयो आँखा विझाएको

परेला पर्यो कि 

भुसुना पस्यो 

धुलो ,मैलो पो छिर्यो कि

पानी छ्यापैँ

आइ ड्रप हालेँ

र अन्त्यमा 

ऐना अगाडि उभिएर 

आफ्नै आँखा नियालेँ 

निकैबेर पछि देखेँ 

तिमी पो रहेछौ !!

कमरेडलाई पत्र


 डियर कमरेड

जब राजनितीलाई प्रेम गर्न छोडेर

प्रेममा राजनीति गर्न थाल्यौ 

तिम्रो राजनितीले 

सर्वहारा प्रेमको घाँटी निमोठ्न थालेको छ

दिनदहाडै लुटेर

कुमारी आँखाका सपना

विश्वासमाथिको बलात्कार 

भत्काएर भरोसाका दरिला खाँबाहरु

कुन वादको प्रतिस्थापन गर्न चाहन्छौ तिमी ?


तिम्रो माक्र्सवादमा जस्तो 

विकासका लागि विनाशको सिद्धान्त 

प्रेमको हराभरा बगैंचा उजाडेर

पश्चातापको महल सजाउनुमा हुन्न

के मन उजाडेर 

विश्वास भत्काएर

भरोसा तोडेर 

सुषुप्त हृदय विस्फोट गराउन चाहन्छौ ?


तिमी हार्दैनौ 

तिमीलाई हार्न दिने छैन म

प्रेम हराउने युद्ध होइन 

हर आँसुका बुँदहरुले 

मभित्र शक्ति संचय गरिदिन्छन् 

जो तिमीले पुछिदिन सकेनौ

हर चित्कारले मभित्र उर्जा भरिदिन्छन्

जहाँ तिमीले सुम्सुमाउन जानेनौ

डियर कमरेड 

तिमी प्रेममा राजनीति गर्न थाल्यौ 

म तिम्रो राजनितीलाई नै प्रेम गर्न थालेँ !!

विश्वास


शरदको पहिलो शीत बनेर 

मेरो हृदयमा तिमी खसेपछि

प्रेमको पहिलो आभाष गरेको हुँ

तिम्रा निर्दोष चञ्चल आँखाहरु 

तिम्रा कामुक निला ओठहरु 

मसिना अौँलाका कापमा 

नाचिरहेका कलमले 

ओकलेका प्रेमिल पत्रहरु

अनि

कहिल्यै नटुट्ने हृदयका कसमहरु

जानि नजानि छोइएका

चिमोटिएका अविस्मरणीय किस्साहरु

कसरी कसरी अाज 

तिम्रा स्मरणहरुबाट हराए

र पनि 

मलाई विश्वास छैन यो अविश्वास प्रति

र विश्वास गर्छु 

तिमी मेरै हृदयको अन्तरमा कतै

फुलिरहेछौ

फक्रिरहेछौ

र मगमगाइरहेछौ यत्रतत्र !!

आकर्षण


 हो म कागज हुँ 
वैँशले उन्मत्त फलाम होइन 
कागजसँग फलाममा जस्तो 
चुम्बकीय आकर्षण नहोला 
भलै 
कागजको आकर्षण 
चुम्बक होइन 
हृदयसँग रहनेछ 
जसरी रहन्छन् आकाशमा 
रातिका ताराहरु 
दिनमा पनि 
नदेखिँदैमा छैन भन्न मिल्छ र ??

मृत सपना


 ऊ हर सपनीमा आउँछ 

र मेरो काख

सिरानी हालेर निदाउँछ

उसैगरी देख्छ 

मिठा मिठा सपना

जसरी हामी योजनाहरु बनाउँथ्यौ

हजुर अामाको लागि

उसको जस्तै आँखा भएको भुन्टे

हजुरबुवाका लागि

मेरो जस्तै ओठ भएकी भुन्टी

अनि 

अलिकति लाज 

अलिकति डर

मिसिएर 

लाल भएका गालामा 

उसले खाएको म्वाईँ

सबै सबै आउँछन् 

मेरा सपनाहरुमा

उसका सपनाहरु

मिसिएर 

म अवाक भएर बिउँझन्छु 

र सुम्सुमाउँछु रित्तो सिरानी 

र रित्तो हृदयको कंक्रिड भित्तो ।।

विसर्जन Vs विवाह


 

बिहे भनेपछि सकभर घरबाटै हुन्छ । आधुनिकता र बदलिँदो समयानुकूल पार्टी प्यालेस, धार्मिक आस्था र अनुष्ठान अनुरुप मठ मन्दिर अझै अविश्वास र विश्वास बीच सम्झौता गर्न अदालत पनि चलेकै प्रक्रिया हुन् तर अपशोच । 

पार्लरको एक छेउमा झुन्डिएको रातोमा गोल्डेन कलरको स्टोन मिसिएको एक डोरो पोतेले मन लोभ्यायो । केही नसोची किनेँ ,एक सय सत्तरी तिरेर । अलिपर पुगेपछि बाटो छेउमा ठुला साना ऐनाहरुको अगाडि प्लास्टिकका थैलामा पोको पारेर बेच्न राखेको सिन्दुरले एउटा मोह जगायो । र दस रुपैयाँको एक चिम्टी सिन्दुर किनेँ । 


साइड ब्यागमा सिन्दुर ,पोते बोकेर हिँडिरहँदा एकाएक मनमा ऊ आयो र गयो पनि उसैगरी । झिलिक्क बिजुलीको गतिमा ……मेरो ठाउँमा ऊ हुँदो हो त यसरी न सिन्दुर पोतेको मोहले गल्ने थियो न मेरो मोहले । बाधा नै के थियो र ?? एकाएक मलाई ऊ हुन लाग्यो र फोन गरेर बोलाएँ विश्राम गेष्ट हाउस । ऊ लुरुलुरु आयो र छेउमा बस्यो । प्रेमको वर्षात् थामिएसँगै मैले ब्यागबाट एक सय सत्तरीको पोते र दस रुपैयाँको सिन्दुर झिकेर उसको हातमा थमाइदिएँ ।


थर्थराइरहेका मेरा हातबाट सिन्दुर लियो र सिउँदोमा सिमाना कोरिदियो । भन्नुपर्दा  एक डोरो पोतेमा विवाह समापन भयो । न साक्षी ,न कसम न वाचा । विवाहका मान्यताहरु भत्काएर हामीले विवाह गरेका थियौं । यो उसलाई थाहा थियोे ,मलाई थाहा छ र बाँकी ईश्वर जान्दछ । समयले मन मात्रै होइन मनभित्रको प्रेम पनि बदल्दो रहेछ । हुन सक्छ यो प्रेम थिएन र अरु नै थोक हुन पनि सक्छ । म प्रेमलाई त्यति तुच्छ कोटीमा राख्न पनि त सक्दिनँ । यो  सम्बन्धको साँध सिमाना भत्काउन कुनै कठिनाइ थिएन उसलाई र उसले भत्काएर गयो । सुकोमलताको लोभमा  , सुन्दरताको मोहमा । जो फेरि पनि मेरो हृदयमा अविछिन्न प्रेम बोकेर बाँचिरहेकै छ ,एक सय असीको सिन्दुर पोते र बर्जित विवाह ।

जिवनमा धेरै कुराहरु विसर्जित हुन्छन्  यसैगरी तर उसको माया ,उसको सम्झना पहाड बनेर उभिएको छ छातिमा ।

विखण्डीत प्रेम

 


हो तिम्रो मन चट्टान जस्तै छ

र छ फलाम जस्तै बलियो 

किन्तु 

रसाएकै हुन्छ 

पत्थरिला चट्टानहरु पनि 

सावन जागेपछि 

छताछुल्ल पोखिएर

संसार सिंच्नु पनि कला हो 


पुजिनका लागि

ढुंगाले पनि मन्दिर पाउनुपर्छ

यत्रतत्र फैलिएका सबै ढुंगा देउता हुन्नन्

जसरी किसुनजीका 

सोह्र हजार गोपिनीहरु प्रेमिका भएनन् 

प्रेम भन्ने चीज 

न अनुनयमा हुन्छ न विनिमयमा 


नसच्चिने भुलहरु हुन्नन् 

र नच्यातिने भ्रमहरु पनि 

भुलहरु सच्चिएपछि

भ्रमहरु च्यातिएपछि

पूर्वले बिहानीको पर्दा उघारेझैं

प्रेमको लालिमाले 

यो छातिको देब्रे पाखो झल्मलाएको छ

र तिमी अनमोल "रत्न" मा 

अनुदित भएका छौ !!

कटाक्ष

 


ओ मेरो पतिदेवकी प्रेमिका 

आऊ हामी हात मिलाऊँ 

मित्रताको 

सह- अस्तित्वको 

"ऊ "

मेरो "पति"

तिम्रो "प्रेमी "

तिमीलाई जस्तै ,

प्रेमकै बाटो भएर

पत्नी बनाएको हो मलाई पनि 

तिमी र म मा के को दुश्मनी ?

के को ईष्र्या ?

के को डाह ?? 


एउटै हो मुटु तिम्रो ,मेरो 

जति तिमीलाई दुख्छ ,त्यति नै दुख्छ मलाई पनि 

आउ सँगसँगै दुखौँ 

र महसुस गरौँ 

लोग्नेमान्छेको वितण्डा 

लोग्नेमान्छेको प्रेम 

ऊ रुवाउँछ तिमीलाई 

ऊ हाँस्न दिँदैन मलाई 

र पनि तिमी प्रेम गर

र पनि म पूजा गर्छु 

आऊ पतिदेवकी प्रेमिका 

हामी गला मिलाऊँ !!

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...