डियर कमरेड
भरोसा र विश्वासको जग भत्काएर
नव क्रान्तिको सिर्जनामा
तिमीले उचालेका परिवर्तनका ईटाहरु
नखसुन् तिम्रै गोडाका बुढि अौँलामाथि
अझै
तिमीलाई चोट लाग्दा दुख्ने मुटु छ यहाँ
यो प्रेमले भरिएको मुटु
कुनैदिन ,
घृणाले नपोखियोस्
तिमीलाई दुख्दा मलाई दुखोस्
भलै मलाई दुख्दा तिमी दुख्नु पर्दैन
एक चिम्टी सिन्दुर
र एक झुत्तो पोतेको लालच होइन प्रेम
तिम्रो क्रान्तिकारी छलाङले
अयोग्य ठहरायो मेरो प्रेम गर्ने तरिका
बहिस्कार भयो घर संसार बसाउने योजना
र पनि
तिम्रो खुसीको लागि
तिम्रो राम्रोको लागि
जिन्दगीका धेरै खुसीहरुमाथि
बमबारी गर्न सक्छे
विध्वंस बनाउन सक्छे सपनाको संसार
म एक मैन
सकिउँला तिम्रो लागि जल्दा जल्दै
तिमीले दिएका चोटहरु
तिमीले दिएका पीडाहरु
मेरो उर्जा बनेका छन्
मेरो साहस भएका छन्
तिमीले लक्ष्य नै बदलेर गयौ
मैले लक्ष्य प्राप्तिका निम्ति बाटो बदल्न सिकेँ
नबनोस् दुश्मनी प्रेमको अन्त्य
तिम्रो परिवर्तनका पाइलाहरुमा
म सधैं रातो गुलाफ विछ्याइरहन सकुँ !!


No comments:
Post a Comment