एकाएक शरिरको तापक्रम बढे जस्तो लाग्यो । जेष्ठको घाम अझै सेलाएको छैन । ओढेको पातलो पोलार पनि फ्याँकिदिन्छु । टाउको भारि हुन्छ । उठेर पानी पिउँछु र लम्पसार हुन्छु ।
नाक थुनिएको जस्तो भएर सास फेर्न सक्दिनँ र ऐंठनमा ब्युँझन्छु । राम्रोसँग सास तान्न सकिरहेको छु फेरि किन त्यस्तो भो ? सायद तर्कना हुँदो हो । लामखुट्टेको मनोमानीसँग रिस उठ्छ र गुडनाइट प्लगमा घुसारेर फेरि पसारिन्छु ।
एकाएक एम्बुलेन्स साइरन बजाउँदै अाउँछ । उठ्न खोज्छु हातगोडा चल्दै चलेनन् । सेतो पहिरनमा आएका मान्छेको अाकृति जस्तो छायांले उचालेर एम्बुलेन्समा राखे । प्रतिवादमा न बोली फुट्यो न हातगोडा नै चलाउन सकेँ । मेरो बचाउमा न एउटै कोठामा सुतेकी बहिनी निस्की न पल्लो कोठाबाट बा अामा नै । बेस्सरी रुन खोजेँ ,आवाज अाएन आँसु मात्रै बग्यो ।
होशमा आउँदा नाकमा पाइप घुसारिएको रहेछ । नाडीमा सलाइन चढाइराखेको । अँध्यारो कोठा, भेन्टिलेटरको सुसाहट । सन्नाट्टामा मृत्युले अट्टहास गरिरहेझैँ देखेँ । सम्झनामा आँखाले देखेका , हृदयले महशुस गरेका सबै एक एक गरेर अाउन थाले । सबैभन्दा बढि याद बालापनको आयो । बुबाले काखमा राखेर दाह्री दल्दै खाएको म्वाई , अामाले तोरीको तेलमा मेथी पड्काएर तालुमा ठोकिदिएको । बहिनी जन्मेपछि घरमा छाएको खुसी , थै थै गर्दै आँगनमा डुलाएको पल । स्कुल पढ्दा साथीहरूले चोरेर खुवाएको आँप, लिची ,भकि अमिलो ,अमला । नौ कक्षा पढ्दा रंजिताले घरमै बनाएर ल्याएको केक कक्षाकोठामै काटेर मनाइदिएको वर्थडे ।
सँगै हिँडे डुलेका साथी संगी । कति हो कति यादको पहिरो । आइसोलेशन बाहिरबाट चियाइरहेका आँखाहरुमा निकैबेर खोज्दा पनि ती आँखाहरु भेटिएनन् । जुन आँखाहरु मलाई प्रेमको दिलाशा दिन्थे र बाँच्न प्रेरित गर्थे । त्यसपछि चेत हरायो ।
एक्कासी आँखामा तिरमिराउने ज्योति अायो र जुरुक्क उठ्न खोजेँ । आँखा त सावन भएका रहेछन् । छेउमा बसेर आमा आँसु पुछिदिँदै रहेछिन् । बहिनीले पानी दिई । आफैँलाई चिमोटेँ हजारपल्ट र एकिन गरेँ , म ठिकठाक रहेछु ।
उफ् कस्तो कायरता मृत्युप्रति । मृत्यु जिवनको अन्त्य हो कि पूर्णता ? कस्तो असमञ्जस्यता हो यो । बस् तर्कना र सपनाले कहाँ कहाँ पुर्याएछ ।


No comments:
Post a Comment