Saturday, July 31, 2021

सलह

 


किसानको बालीमा पसेको सलह जस्तो 

भनेन उसको प्रेमले 

यो हुने ,यो नहुने 

यो कलिलो ,यो बूढो 

चपायो भेटे जति पत्र 

कुन अौषधी ,कुन विषादी 

अघाउनका लागि हजार माइलको यात्रा 

सहेर हजार हण्डर

न दुख्यो कुनै ठेसमा 

अन्त त: 

उजाड बस्तीमा पिलपिलाइरहेका

हुलका हुल 

उदास मुहारहरु……

एकाएक आएर विथोल्ने 

त्यो उसको प्रेम थियोे कि सलह ??

डियर कमरेड


 डियर कमरेड 

भरोसा र विश्वासको जग भत्काएर 

नव क्रान्तिको सिर्जनामा 

तिमीले उचालेका परिवर्तनका ईटाहरु

नखसुन् तिम्रै गोडाका बुढि अौँलामाथि 

अझै 

तिमीलाई चोट लाग्दा दुख्ने मुटु छ यहाँ 

यो प्रेमले भरिएको मुटु

कुनैदिन ,

घृणाले नपोखियोस् 

तिमीलाई दुख्दा मलाई दुखोस् 

भलै मलाई दुख्दा तिमी दुख्नु पर्दैन 


एक चिम्टी सिन्दुर 

र एक झुत्तो पोतेको लालच होइन प्रेम

तिम्रो क्रान्तिकारी छलाङले

अयोग्य ठहरायो मेरो प्रेम गर्ने तरिका 

बहिस्कार भयो घर संसार बसाउने योजना

र पनि 

तिम्रो खुसीको लागि 

तिम्रो राम्रोको लागि

जिन्दगीका धेरै खुसीहरुमाथि 

बमबारी गर्न सक्छे 

विध्वंस बनाउन सक्छे सपनाको संसार

म एक मैन 

सकिउँला तिम्रो लागि जल्दा जल्दै 


तिमीले दिएका चोटहरु 

तिमीले दिएका पीडाहरु

मेरो उर्जा बनेका छन्

मेरो साहस भएका छन् 

तिमीले लक्ष्य नै बदलेर गयौ 

मैले लक्ष्य प्राप्तिका निम्ति बाटो बदल्न सिकेँ 

नबनोस्  दुश्मनी प्रेमको अन्त्य 

तिम्रो परिवर्तनका पाइलाहरुमा 

म सधैं रातो गुलाफ विछ्याइरहन सकुँ !!

डायरी

   ऊ मेरो मुस्कानको कारण, हरेक प्रहरमा आउने उसको रखवारीको म्यासेजले ,उसले गर्ने सजेस्ट ,केयर वाला म्यासेजले त्यसै त्यसै पुलकित बनाइदिन्छ । नजाने अनेक बहाना हुँदा रहेछन् बोल्ने,बोलाउने अनि सुन्ने र सुनाउने । यो उसैबाट सिकेँ मैले । अनि मेरो आँसुको कारण पनि उहि । थाहा छैन कति कति बुँद त बेहिसाब आँखाभित्रै सुकाएँ । बाँच्नको लागि एक झिल्को अाशा जगाइदिएर ,रहर र कहरको एक दियो जलाइदिएर के गरुँ ?? त्यो झिल्को अाज डढेलो बनेर फैलिएको छ जताततै , त्यो दियो सल्किएको छ अाज अाफ्नै छातिको देब्रे पाखोमा । ऊ त एउटा अगुल्टो न थियो ,झोसिएर गयो ।यता पुरै बस्ती सकिएको के प्रवाह उसलाई ? माया त माया नै थियो ।चाहे एकपलको ह‍ोस् ,चाहे जनमभरको होस् । सारमा मैले ऊ बाट पाएको माया एक निमेषको होला, त्यो पनि कता कताबाट बहकिएर अाएको माया । जसरी अायो ,उसैगरी गयो ।जताबाट अाएको उतै गयो । बतासलाई बाँधेर राख्न सामर्थ्य छ र मेरो ? सूर्यको बाटो छेक्न सकेको छ र केहिले ? हो त्यस्तै मेरो बसमा रहेन ऊ, मेरो बसमा रहन सकेन उसको माया ।उडेर गयो ………पिंजडाबाट फुत्केको चरा जस्तैः …… म भुइँबाट हेरिरहेँ । उसको उचाइ मेरो आँखाले नाप्नै सकेन । हेर्दाहेर्दै विलायो सुन्यतामा ,अाँखाभित्र ,मानस्पटलमा बनेको विम्ब भने बेस्सरी बटारिन थाले । अाकार हराएको बादलको टुक्रा जस्तो , सिमानाहिन प……र उभिएको क्षितिज जस्तो कताकति स्पष्ट देखा पर्छ , कताकति  धमिलो भएर ।वर्षौदेखि नपुछिएको दर्पणमा जस्तो ।


डायरी


 फेसबुकको इनबक्समा भएको सामान्य परिचय र तिमीले, मैले वर्षौं अघिदेखि लेखि छोडेको स्टाटस, साहित्यिक रचना र तस्बिरमा गरेको लाइक ,कमेन्टको अइरो पहिरोको भरमा म कहाँ तिमीलाई जीवनसाथीको रुपमा अपनाउन सहमत हुन्छु त डियर अन्जान मान्छे !  हो म बुझ्छु जमाना डिजिटल छ, परिचय सँगै सबथोक साटासाट गर्न सकिने प्रविधि छन् , मन चाहे भेट्नु पनि ठुलो कुरो होइन तर भेट्ने हदसम्म पुगेर छुट्न साह्रै गाह्रो हुन्छ ।यो मैले भोगेको छु र फेरि दोहोराएर भोग्न चाहन्न । तिमी बुझ, समयभन्दा अघि र पछि हामी केही गर्न सक्दैनौं । म भाग्यवादी त होइन र पनि मेरो कर्मले यही सिकाएको छ। वास्तवमा तिमी जुन कुरा देखेर मप्रति आशक्त छौ , त्यो भेटिए पश्चात् म मा नभेटिन पनि सक्छ । हो  म प्रेम लेख्छु ,यौन लेख्छु ,विकृति लेख्छु ,विसङ्गति लेख्छु । कहिले रुँदै लेख्छु ,कहिले लेखिसकेपछि रुन्छु । तिमीले भर्चुअल दुनियाँबाट मेरो यो पागलपन देखेका छैनौ । मेरो उठ्ने र सुत्ने टाइम टेबल हुन्न , मन लागे जुनै बेला लेखिरहेको हुन्छु , पढिरहेको हुन्छु । भात भान्सामा मेरो रुचि छैन ,जुन तिमीले मेरै जिम्मेवारी सम्झन्छौ । र मेरो लागि भात भान्सा गरिदिएर मलाई लेख्ने ,पढ्ने माहोल बनाइदिन सक्छौ त तिमी ? आज आवेशमा आएर सहमत भयौ भने पनि तिमीलाई म निल्नु न ओकल्नुको गाँस हुनेछु , म अरुले जे गरे त्यो पनि गर्न त सक्छु तर अरुभन्दा केही पृथक पनि गर्नुछ र त्यो तिमीलाई स्वीकार्य हुनै सक्दैन ।


तिमीलाई थाहा छैन, म कसैको प्रेम हुँ । ऊ प्रतिको मेरो भुमिकाले तिमीलाई हिनताबोध हुन सक्छ । मेरो प्रेमीको अगाडि तिमी कहिल्यै भरी हुने छैनौ र तिमीलाई यो कहिल्यै सह्य हुन सक्दैन । लोग्नेमान्छे एउटै ओछ्यानमा दुई ओटी पत्नी सँगै निदाउन सक्छ , तर पत्नीको मनमा भएको अर्को पुरुष प्रतिको प्रेम कदापि सहन सक्दैन । र तिमी त्यहि पुरुष हौ, अब पनि मसँग जीवन बिताउने सपना देख्न सक्छौ ??

हुन त म मीठो झुट बोलिदिन सक्थेँ ,नजाने कतिसँग बोलिसकेको छु । आफू दुखेर अर्काको खुसीका खातिर झुट बोल्दा मलाई पश्चाताप हुँदैन । अर्कालाई दुखाएर आफ्नो खुसीका लागि झुट बोल्नु चाहिँ पाप जस्तो लाग्छ र आजसम्म त्यो साहस गर्न सकेको छैन । मैले तिमीलाई दुखाउन चाहिनँ । मलाई विश्वास छ तिमीले छि: भन्ने छैनौ र दुख्ने पनि छैनौ । नियालेर हेर्दा जून पनि दागी देखिन्छ , म त मान्छे सँगै रहँदा ,बस्दा अनेक खोट भेटिएलान्  । सोचेभन्दा बिल्कुल भिन्न आचरण भइदियो भने के गर्छौ हँ ?  या तिमी पृथक भएर आउ, या मलाई पृथक रहन देऊ । म हतारमा र दोधारमा निर्णय दिन सक्दिनँ ,र तिमी पनि त्यसो नगर । हरेक प्रस्ताव स्वीकृत हुन्नन् , यसलाई असामान्य नसम्झ । तिमीलाई सुन्दर जीवनको शुभकामना !!

कोरोना कहर



एकाएक शरिरको तापक्रम बढे जस्तो लाग्यो । जेष्ठको घाम अझै सेलाएको छैन । ओढेको पातलो पोलार पनि फ्याँकिदिन्छु । टाउको भारि हुन्छ । उठेर पानी पिउँछु र लम्पसार हुन्छु ।

नाक थुनिएको जस्तो भएर सास फेर्न सक्दिनँ र ऐंठनमा ब्युँझन्छु । राम्रोसँग सास तान्न सकिरहेको छु फेरि किन त्यस्तो भो ? सायद तर्कना हुँदो हो । लामखुट्टेको मनोमानीसँग रिस उठ्छ र गुडनाइट प्लगमा घुसारेर फेरि पसारिन्छु ।


एकाएक एम्बुलेन्स साइरन बजाउँदै अाउँछ । उठ्न खोज्छु हातगोडा चल्दै चलेनन् । सेतो पहिरनमा आएका मान्छेको अाकृति जस्तो छायांले उचालेर एम्बुलेन्समा राखे । प्रतिवादमा न बोली फुट्यो न हातगोडा नै चलाउन सकेँ । मेरो बचाउमा न एउटै कोठामा सुतेकी बहिनी निस्की न पल्लो कोठाबाट बा अामा नै । बेस्सरी रुन खोजेँ ,आवाज अाएन आँसु मात्रै बग्यो ।


होशमा आउँदा नाकमा पाइप घुसारिएको रहेछ । नाडीमा सलाइन चढाइराखेको । अँध्यारो कोठा,  भेन्टिलेटरको सुसाहट । सन्नाट्टामा मृत्युले अट्टहास गरिरहेझैँ देखेँ । सम्झनामा आँखाले देखेका , हृदयले महशुस गरेका सबै एक एक गरेर अाउन थाले । सबैभन्दा बढि याद बालापनको आयो । बुबाले काखमा राखेर दाह्री दल्दै खाएको म्वाई , अामाले तोरीको तेलमा मेथी पड्काएर तालुमा ठोकिदिएको । बहिनी जन्मेपछि घरमा छाएको खुसी , थै थै गर्दै आँगनमा डुलाएको पल । स्कुल पढ्दा साथीहरूले चोरेर खुवाएको आँप, लिची ,भकि अमिलो ,अमला । नौ कक्षा पढ्दा रंजिताले  घरमै बनाएर ल्याएको केक कक्षाकोठामै काटेर मनाइदिएको वर्थडे ।

सँगै हिँडे डुलेका साथी संगी । कति हो कति यादको पहिरो । आइसोलेशन बाहिरबाट चियाइरहेका आँखाहरुमा निकैबेर खोज्दा पनि ती  आँखाहरु भेटिएनन् । जुन आँखाहरु मलाई प्रेमको दिलाशा दिन्थे र बाँच्न प्रेरित गर्थे । त्यसपछि चेत हरायो ।


एक्कासी आँखामा तिरमिराउने ज्योति अायो र जुरुक्क उठ्न खोजेँ । आँखा त सावन भएका रहेछन् । छेउमा बसेर आमा आँसु पुछिदिँदै रहेछिन् । बहिनीले पानी दिई । आफैँलाई चिमोटेँ हजारपल्ट र एकिन गरेँ , म ठिकठाक रहेछु ।

उफ् कस्तो कायरता मृत्युप्रति । मृत्यु जिवनको अन्त्य हो कि पूर्णता ? कस्तो असमञ्जस्यता हो यो ।  बस् तर्कना र सपनाले कहाँ कहाँ पुर्याएछ ।

डायरी


 एकाएक बदलिएको उसको मन प्रति कटाक्ष पोख्दै मैले भनेँ " तिमीलाई मेरो मायामा विश्वास थिएन भने, तिमीलाई मेरो शरिरसँग मोह थिएन भने किन रात बिताउन दियौ ?"

ओठका कापहरु बाट बहादुरी फुत्काएर उसले भनेको थियो " पानीको कुवामा पुगेपछि तिर्खा नभए पनि अलिकति प्यास त जागिहाल्छ नि शाब्दिका , तिमी यसलाई विषय नबनाउ न" 

अनि यहि विषय कहिल्यै निको नहुने छातिको घाउ बनेको छ शब्द ।

Friday, July 30, 2021

डायरी

 

एउटा साधारण क्याफे । ऊ बसेको छ । म असजिलो सँग उभिएको छु छेउमा ।सँगै बस्न किन किन मनले मानेको छैन । चियाको चुस्की लिँदै उसले भन्यो ,दुईचार महिना हो गाह्रो हुने त्यसपछि तिम्रो जिवनमा पनि कोही अाउँछ अनि तिमीले बिस्तारै बिर्सने छौ ।"

यो ऊ बोलेको थिएन । भर्खरै भर्भराउँदै गरेको उसको नयाँ सम्बन्ध बोल्दै थियोे ।
चियाको कप र प्लेटको टकरावले फेरि झस्किएँ म । ऊ भनिरहेको थियोे " जिन्दगी छोटो छ ,दुखी भएर बाँच्न हुन्न तिमीले यो सब सहज स्विकार्नु पर्छ ।"
छेउको अर्को टेबलमा एक जोडी स्कुले बालबालिका अाए । दुवैको रंग कालो थियो ।पुक्क परेका गालाहरुमा खोपिल्टा पारेर हाँस्दै थिई सानी केटी । यत्तिकैमा यी दुई कसको अायु लामो छ भनेर विवाद गर्न लागे , सानी केटीले हात उचालि र फुच्चे केटाले पनि हात उचालेर अाफ्ना दुई हत्केला फुच्चीका हत्केलामा टाँस्यो । केटोका हत्केलामा केटिको हात विलायो र सानी केटी आँखाभरि आँसु पारेर कोल्टे फेरि । फुच्चे केटाले सोध्यो  "किन रोयौ ? "
सानी केटीले आँसु पुछ्दै भनी "म मरेपछि तिमी अर्को बिहे गर है " !
मलाई बालख प्रेमले फेरि टुक्राइदियो । उनीहरु मृत्युपछिको वियोगान्त कल्पना गरेर रोए ऊ जिउँदैमा मारेर खुसी खोज् भनिरहेको छ । प्रेम भन्नू पनि त केही रहेनछ ।

उन्मुक्ति

 जब तिम्रा आँखाहरु मेरा आँखाहरु छलेर 

दोबाटाहरुमा हराउन थाले

हो त्यसपछि ,फेरि तिम्रो प्रतीक्षा गरिनँ

म निर्दयी ,निष्ठुरी 

किञ्चित म पापीनी होइन 

मैले तिम्रो कसम कुल्चेर हिँडेकी छैन

आऊ आँखामा आँखा जुधाएर जाँचौँ

कसको कति सत्य डगमगाउँछ 

र एउटा अन्तिम फैसला गरौँ 


म अविश्वासको पर्दा उचालिरहेकी छैन

आशंकाको आगो फुकिरहेकी छैन

तिमीभित्रको "म" र मभित्रको "तिमी" माथिको निगरानी 

तिमीलाई कैदीको कयस जस्तो लाग्छ भने 

तिमी उड, मेरो स्पन्दनमा ताल्चा मारिएको छैन

र तिम्रो उडानको पखेटा काटिएको छैन

म तिम्रो बाटोमा तगारो नबनुँला !!


कलियुगकी कुन्ती


तिमी त्यो युगकी कुन्ती होइनौ
जसको अवैध प्रेमको एउटा कहानी लेखियोस्
र युग युगले सम्झना गरिरहोस्
यहाँ त
बिस्तारा सम्मको यात्रा सँगै
प्रेमको आयु सकिन्छ र नजन्मिँदै सहिद हुन्छन्
कलि युगका कर्णहरु
कलिलो पाठेघर क्षतविक्षत बनाएर
हुर्काएको प्रेमको चिनो
सिस्नु र बाँसघारीका झाङमा लगेर
फ्याँक्न पनि हिम्मत चाहिन्छ
उ युगकी कुन्तीले त नदिमा बगाइदिनु पर्यो
छातिमा टाँसेर वात्सल्य पोख्न सकिनन्
तर म तिनको कायरतालाई थुक्छु
बरु यहाँका सडक सडकमा भेटिने
बौलाहीहरु बहादुर लाग्छन्
घर बिर्सिए, समाज चिनेनन्
देश छैन , अधिकार छैन
र पनि कत्ति मिठो मातृप्रेम छ
उसको नाङ्गो छाति
कत्ति पनि अश्लील देखिन्न
किनकि
त्यहाँ वात्सल्यताको वस्त्र छ
अन्धकारको छायांमा उत्तेजनाको पानी पोखेर हिँड्ने
महापुरुषलाई आफ्नै अनुहारको खाते केटो देख्दा
अाङ्ग सिरिङ्ग हुन्छ कि हुँदैन ?
विलासिताको घमण्डले,
मान्छे नभएरै मान्छे हुनुको घमण्डले
जात ,धर्म ,वर्ण र वर्गको घमण्डले
कहाँ पुर्याउँछ समाज
कहाँ पुर्याउँछ युग
एकले अर्कालाई हुत्याउँदा हुत्याउँदै
आफू पनि हुत्तिन के बेर
सांसारिकता जलेर एकैचोटि खरानी पनि भइहाल्दैन
फेरि टुटे फुटेका सम्बन्धहरु
नाता र निशानीहरु
उस्तै बनाउन ,दिगो र सिंगो बनाउन
अरु धेरै युग पर्खनुपर्छ
तिमी आँखा चिम्लेर हाम नफाल
मृत्युको पनि मापदण्ड हुन्छ
गहिराइ र उचाइ नाप्न भए पनि आँखा खोल
गोडा लतारेर हिँडेपछि ठेस लाग्नु स्वभाविक हो
जानेर लागेको ठेस कम दुख्छ
आफ्नी प्रेमिका अर्ध वस्त्र
चोक चोकमा बहुलाएर हिँडेको हेर्न सक्नु
आफ्नो प्रेमी निर्वस्त्र
गल्ली गल्ली भौँतारिएर बाँचेको हेर्न सक्नु
यो समयको, प्रेममा भरिएको विषको घडा हो
कोहि पिएर पनि बाँच्छन्
कोहि नपिए पनि जिउन सक्दैनन्
तिमी त्यो युगकी कुन्ती भएर
प्रेमपान नगर
सूर्यको किरणभन्दा छिटो झर्ने
पुरुषको वीर्य आफुमा लीन नगराऊ
त्यो प्रेम होइन वासना हो
स्खलित उत्तेजना सँगै
शिथिल हुने प्रेमले सन्तुष्टि दिने छैन र तिमी
पगली भएर
बहुलाही भएर
मठ मन्दिर ,देवालय, सत्तल ,पाटी ,पौवा
कुना काप्चा जताततै बलात्कृत हुने छौ
हर दिन ,हर रात
त्यहाँ न तिम्रो जात चाहिन्छ , न रुप न रंग न वर्ग
न चाहिन्छ तिमीलाई सन्तान जन्माउन वैधानिक लोग्ने
या वैधानिक कानुन
कसैले प्रश्न गर्ने छैनन् तिमीलाई
"तिम्रो बच्चाको बाउ कुन हो ?
तिम्रो बच्चाको जात कुन हो ?"
सोधे पनि के
तिमी कि हाँसिरहनेछौ, कि रोइरहनेछौ
कि ढुंगा टिपेर लखेट्ने छौ अलि परसम्म
फेरि उहि नियति , उहि प्रहार
उहि दुखाइ ,उहि कठोरता !!
म मान्दिन रामको आदर्श
बरु प्रेमको सच्चा भक्त हो रावण
प्रेमले कुमारी योनी खोज्दैन
यो भन्दा ठुलो उदाहरण कुन हुन्छ ?
यदि रावणको प्रेममा सीताको चरित्र हुन्न थियो भने
अपहरण ,अपहरण हुने थिएन
प्रेमको उत्सव हुने थियो
तिमी यो युगकी सीता
अग्नि कुण्डमा हाम फालेर
आफ्नो सतित्व सावित गर्न सक्दिनौ
छातिको अाकार नबढ्दै
ब्वाँसाहरुको सिकार भइसकेकी तिमीलाई
अग्निले पनि साथ दिने छैन
यौवनको अागो निभाउन
प्रेमको तेल नथप
तिमी आफैंमा एउटा शक्ति
आफैंमा एउटा संसार
खण्डहर बनाएर धरतीलाई श्राप नदेउ
धरतीले पनि किसिम किसिमका जीव जन्माएको छ
आकाशले पनि किसिम किसिमका पिण्ड बोकेको छ
तिमी धरती बन
आकाश बन
आमा बन
अनि नारी बन !!

आत्मानुभूती

 यदि उसले मलाई माया गर्थ्यो भने 

तिमीसँग विवाह गर्ने थिएन 

र तिमीलाई माया गर्थ्यो भने 

मलाई प्रेम गर्ने थिएन 

यत्ति पनि नबुझेर 

आफुलाई भाग्यमानी सम्झने तिमी 

फरक यति हो 

तिमीले लोग्ने पायौ 

मैले लोग्नेमान्छे चिन्न पाएँ 

पाएपछि चिन्नु भन्दा

चिनेपछि गुमाउँदा

मलाई कुनै पश्चाताप छैन ।।


अनुनय

 ए जून 

तिमी एकैछिन बिटुलिँदा

छाक छोड्नेले

आफुलाई सुनपानीमा चोख्याउनेहरुले

मेरो जिन्दगीमा लागेको ग्रहण

मेरो प्रेममा लागेको दाग 

मेरो आत्मामा

लत्पतिएको रगतका टाटा मेट्न 

कति छाक छोड्ला ?

कति झ्याल, ढोका थुन्ला ?

मलाई बाँच्न सिकाइदेऊ न 

अलिकति साहस

अलिकति सहनशीलताको उर्जा दिएर !!


विद्रोही पारिजात





प्रिय पारिजात 

यो हाड मासुलाई 

माटोको जिम्मा लगाएर 

अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग

तिमीले सकम्बरी र सुयोगवीर लेख्दा

साल्गीको बलात्कृत अाँसु लेख्दा 

अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा 

एउटा अपमान सहि

एउटा तिरस्कार सहि

एउटा अपवाह सहि

कसैकी रण्डी हुन पर्यो कि परेन ? 

कसैकी वेश्या हुन पर्यो कि परेन ? 

मलाई शंका लाग्छ 

कतै उपमाहरुको भारीले 

आशंका र कपोकल्पित दिग्भ्रमहरुले

तिमीलाई बाँझो राखेको त थिएन ?


म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई 

तिमीले ती घाउहरु 

उतै छोड्यौ कि सँगै लिएर आयौ ? 

त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?

कट्कटी दुख्ने हातगोडाका जोर्नी 

अशक्त फोक्सोको उकुसमुकुस 

त्यहाँभन्दा बेसी 

दुख्यो कि दुखेन मनको धरातल ? 

प्रिय पारिजात 

फुलेपछि नझर्ने जीवन के को छ र ?

तिमी झर्यौ एउटा उचाइमा पुगेर

म भुइँमा पोखिनुको 

बाटोमा छरिनुको 

हजारौं पैतालाले कुल्चिनुको 

एउटा तितो कहानी लिएर अाउनेछु

मेरा सवालहरुको जवाफ खोजिराख है ।।

दुरी

 

टाढा छु 

तर  नजिक छु 

घामभन्दा पनि नजिक 

जून भन्दा पनि नजिक

सुनिरहेछु 

तिम्रो मुटुको धक्धक

देखिरहेछु आँखाको न्यास्रो

र महसुस गरिरहेछु यारा

तिम्रो आलिंगनको न्यानो !! 


तिम्रा सुस्केराहरुमा 

थकानहरुमा गलिरहेछु तिमी जस्तै 

तिमी मुस्कुराउँदा मात्रै हाँस्छ हिमाल

तिमीसँगै झरिरहेछ आकाश

भिजाएर छातिको देब्रे पाखो 

जति उर्बर होस् जमिन

तिम्रो वर्षा बिना 

मेरो प्रेमको पाटो बाँझै रहन्छ यारा !!

✍️अनामिका सजल

Sunday, July 4, 2021

प्रेम या ईष्र्या


 तिमी उसको सर्टको कलरमा 

मेरो लिपिस्टकको दाग खोजिरह्यौ 

उसको अंगालोमा मेरो पर्फ्युमको सुगन्ध खोजिरह्यौ 

अनि खोजिरह्यौ 

मोबाइल र ल्यापटपमा 

मसँगका कल हिस्ट्री र च्याटका स्क्रिन सर्टहरु

विडम्बना 

खोजिनौ र भेटिनौ कहिल्यै 

मेरो आँसुले भिजेको उसको छाति 

मेरो क्रन्दनले उफ्रिएको उसको मुटु

मेरा आँखामा हेर्न नसकेर झुकेको उसको नजर

मेरो आँसु पुछेर भिजेका उसका अौंला


शंकाको कठघरामा उभ्याएर 

मसँग छुटिसकेको उसलाई 

मेरै नाममा कसम खुवाएर 

तिमी उसलाई प्रेम गर्छ्यौ 

या मेरो प्रेमको ईष्र्या ??


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...