म कहिलेकाहीँ पुग्छु जूनाको कफि हाउसमा । कामको प्रेसर , घरायसी झमेलाहरुले तनाव बढेको बेला प्राय म एक्लै हिँड्छु । आफ्नो कारणले अरुलाई दुखाउन नपुगियोस् भन्ने हेतु पनि म त्यसो गर्छु । जूना मेरो बच्चै देखिकी साथी , बिहे गरेको ६ महिनामै लोग्नेले सौताको कलह भित्र्याएपछि घर गरि खान नसकेर माइती गाउँमा बसेर जीवन धानिरहेकी छ, पाँच सात सालदेखि ।बाटो छेउमा जस्ता पातो बेरबार पारेर दुई साल जति चिया ,चुरोट दोकान चलाएपछि अहिले पक्की घरको दुईवटा सटर लिएर हिउँदमा कफी र गर्मीमा लस्सी बनाएर जिविका चलाइरहेकी छ । परिश्रम नै बेचे पनि दुनियाँका मुख थुन्न त नसकिने नै रहेछ यो जगतमा । लोग्ने छोडेकी भन्ने बित्तिकै मान्छेहरूको अनुहार कुच्चेको कचौरा जस्तो भइहाल्ने, किन छोडी छु मतलब । निराश भएर जब उसको नजिक पुग्छु , उसको साहस , लगनशीलताले आशा भरिएर आउँछ र जिन्दगीको माया लागेर आउँछ । सानो घाउको दुखाइ ,ठूलो घाउले लुप्त बनाइदिए जस्तै ।
![]() |
म सरासर गएँ र अगाडीकै टेबुलमा बसेँ , कुनामा अरु ग्राहक थिए ।वर्षको अन्तिम चिसो मौसम थियोे ,चैत लागेर पनि झरी परेकाले म कफिको तलतलले त्यहाँ पुगेको थिएँ । त्यसो त मलाई चिया ,कफिको लत छैन ,अक्सर साथीहरुसँग नाइ भन्न नमिल्ने अवस्थामा र यस्तै मौसम र मनले च्यालेन्ज गरेको बेला मात्रै आइपुग्ने गर्थे म जूनाको पसल । कुनापटिका केटाहरु अलि बढि नै हल्ला बढाउँदै थिए । मलाई असहज महसुस भयो ,सक्दो छिटो निस्कन मन भो । लिएको कफि छोडेर हिँड्न नि सकिनँ ।
त्यहाँ भएको मध्ये एउटा केटो अघि देखि अश्लील शब्द प्रयोग गरेर कुनै केटीको उपहास गरिरहेको थियोे ।एकैछिनमा फोन आयो , उसले फोन उठाएर स्पिकर अन गरेको थियो सायद, फोनमा कोही केटी रुँदै थिइ ,भक्कानिएर के के भनी मैले बुझिनँ । फोन राखेपछि बडा गर्वले सुनायो," मेरो लागि रुने यस्ता केटी त कति छन् कति , के गर्नु घरमा लान मिल्दैन " निल्न लागेको कफि सर्कियो ,मलाई खोकी चल्यो । त्यसपछि जुरुक्क उठेर हिँडे, अरु सुन्न सक्ने क्षमता नै थिएन मसँग ।
घर आएर डङ्रङ्ग ओछ्यानमा लडेपछि सम्झेँ ,म पनि त त्यसैगरी रोएको थिएँ नि तिमीसँग । तिमीले पनि त्यस्तै भन्यौ कि ?? तिम्रो लागि पनि रोइदिने कति कति थिए कि ? हरे मेरो आँसु नबग्नु पर्ने बाटो पो बग्यो कि ? उफ् अौडाह भो, के केटीहरु केटाहरुको नाउँमा आँसु बगाउन मात्रै जान्दछन् ? पुरुषको यौवनको आगो निभाउने अस्त्र मात्रै हो त नारी ?? मेरो समर्पण ,विश्वास ,प्रेम सब तिम्रो लागि पनि एउटा मीठो बहाना मात्रै थियो त ? मनले भन्छ, तिमी प्रेम हौ, मस्तिष्कले भन्छ तिमी पुरुष हौ । प्रेम किन यति संकिर्ण हुन्छ ? पुरुष किन यति निर्दयी हुन्छ ? निर्दयी पुरुषको किन माया लाग्छ ,किन आँसु बग्छ ?
प्रश्नै प्रश्नले किचिएर म निसासिन्छु , सास फेर्न गाह्रो हुन्छ र जुरुक्क उठेर बाहिरिन्छु । अौँसीको रात चकमन्न छ, जून बिनाको आकाशमा तारिकाहरुको बिस्कुन छ । प्रत्येक तारिकामा बेग्लै चमक छ , मलाई जून बिनाको आकाश फराकिलो लाग्छ । तिमीबिनाको मन पनि शितल लाग्छ र मनमनै एउटा प्रण गर्छु " जसरी जून बिनाको आकाश रित्तो छैन , त्यस्तै तिमी बिना पनि मेरो जीवन एक्लो छैन । भलै कोही कसैको हात नहोला तर आफैं भित्रको एउटा हिम्मत हुनेछ ।"


No comments:
Post a Comment