Saturday, April 3, 2021

ईख

जिवनमा सहानुभूति चाहिने कुरा हो कि नचाहिने कुरा हो म नबुझेर अल्मलिन्छु सधैं । जब म पिडामा हुँदा कसैले थमथमाइदिन्छ ,त्यतिखेर झनै विचलित हुन्छु । नजाने मन कसरी कसरी वर्षाको हिमाल भएर पग्लि जान्छ थाहै हुन्न । 

हुनुपर्ने हिमाल जस्तो भईदिन्छ हिउँ । आफ्नै मनसँग खुब रिस उठ्छ । अनि आफ्नै मनको असाध्यै माया लाग्छ । आफ्नै मन दुखाएर ,आफ्नै मन रुवाएर किन अर्कोको मायामा रुन्छ मन ? मिल्दो हो त मन पत्थर बनाइदिन्थेँ । कसैसँग ठोक्किए पनि नदुख्ने । तिमी साथ हुँदा सबैभन्दा बलियो भएको मन तिमीसँगै कमजोर भएर गयो । तिमी त खेलाडी हौ मनको ………तिमीलाई मनहरुसँग खेल्ने मात्रै होइन खेलबाड गर्ने आदत पनि छ । यो सब जानेर पनि तिमीमा भुतुक्क हुने मेरो आफ्नै मन हो बेवकुफ । लाग्छ ,तिम्रा बदमासीहरुलाई पनि प्रेम गर्न सकुँ,तिम्रा तिरस्कारहरुमा पनि प्रेम भर्न सकुँ ……तर यो सब असाध्यै गाह्रो ,असाध्यै अप्ठ्यारो रहेछ ।

एउटा आँखामा तिमी प्रति श्रद्धा भरिएर आउँछ अनि अर्को आँखामा तिमीले गरेको विश्वासघातको आगो दन्किन्छ । त्यसपछि अविरल विवशताको नुनिलो वर्षा ………बाह्रैमास, बाह्रैकाल । 


"सर्पमा विष र मान्छेमा ईख चाहिन्छ । ईख राख ,धोकेवाजलाई जलाउने गरेर प्रगति गर " 

सम्झाउन त म पनि सम्झाउँछु अरुलाई , नसम्झिने मन आफ्नै छ र पो………छातिमा लात त हान्यौ तर तिमीलाई नै दुख्यो कि भनेर पटकपटक दुखेको छ यो छाति । जिन्दगीमा न प्रगति कसैलाई देखाउनका निम्ति गरिने कुरा हो न प्रेम । प्रगतिले जिवनका भौतिक आवश्यकता पुर्ति होलान् । त्यहि प्रगतिमा पनि प्रेम रहेन भने निरसताले छोप्छ । प्रेम बिनाको जीवन सूर्य बिनाको आकाश जस्तै न हो । सबै छ केही देखिन्न । प्रेम त त्यहि सूर्यको ज्योत्स्ना जस्तै हो । जसले ब्राह्मण देखाइदिन्छ । जहाँ मन नपरेका कुराहरु पनि हेर्नुपर्छ, डर लाग्ने कुराहरु पनि भोग्नुपर्छ । प्रतिकूलताहरु पनि झेल्नुपर्छ । हो त्यहि भयो मेरो तिमीसँगको प्रेम पनि । नचाहेर झेल्नुपर्ने ,भोग्नुपर्ने ,सामना गर्नुपर्ने । 

प्रेमको नाउँमा ईख पाल्नु नपरोस् । बदलामा साराका सारा चोटहरु सह्य छन् । पिडाहरु प्रशस्तै छन् । प्रगति गरेर देखाउनुपर्ने पनि धेरै छन् तर प्रेमको बदला कुनै प्रगति र अधोगतिले लिन सक्दैन ।


No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...