दुईचार दिन अघि एउटी साथीले कुरैकुरामा भनी " तिमीसँग यसरी नजिकबाट साथी हुनु अघि मैले तिम्रो बारेमा अर्कै कुरा सुन्थेँ "
" के सुनाउँथे ? "" बहुत घमण्डी "
घरमा अति झगडालु , रिसाहा ,भनेको कुरा पुग्नैपर्ने ………
म हाँसे । कमसेकम मेरो बारेमा गाउँमा कुरो हुँदो रहेछ । यो पनि खुसीको कुरो हो । यसो सम्झन खोजेँ ,म त्यस्तै थिएँ त ……… ?? जम्मै त होइन तर हो …… त्यस्तै । म सानैदेखि अभिमानी हुँ । मेरो अभिमानमाथिको चोट म सजिलै स्विकार गर्न सक्दिनँ । चाहे विषय जस्तोसुकै होस् । एकपटक मेरो महिनावारी समयमा भएन । चौध पन्ध्र वर्षको थिएँ । भर्खर भर्खरै महिनावारी सुरु भएको थियोे । सायद स्कुलको नौ दस कक्षातिरै पढ्दै थिएँ । एक साँझ सुत्ने बेलामा बा अामाको खुसखुस सुनेँ । आमा भन्दै हुनुहुन्थ्यो " छोरीको पर सर्ने दिन नाघिसक्यो ,भएर नि नभनेको हो कि के गरेकी हो ?"
" छोरी तह लाउनी अामाले हो तँ सम्झा न "
नसुन्नु पर्थ्यो ,सुनिहालेँ । आफ्नो मन पेटमै नभएको विषयमा घरमा भएको गाइँगुइँले यति विक्षिप्त बनायो कि भोलिपल्ट देखि बाउ अामासँग बोल्नै छोडिदिएँ । बोल्न मात्रै होइन यिनीहरुका घरको भात पनि खान्न भनेर एक हप्ता त अनशन नै बसियो । अनि यस्ती निफुल्केकि केटीलाई घमण्डी नभनेर के भन्छन् त गाउँलेले ।
केटा साथी सम्म नभएकि छोरीमाथि महिनावारी समयमा भएन रे भन्दैमा छोरीको चरित्रमाथि नै शंका गर्ने बाउ अामा मेरो मात्रै त होइनन् होला तर पनि मलाई त्यतिबेला मेरा बाउ अामा असाध्यै अधर्मी लाग्थे । धेरै लामो समय मलाई यो कुराले विक्षिप्त बनायो । म के कुरामा डिप्रेस छु कसैलाई थाहा थिएन तर म आफुलाई निकै एक्लो फिल गर्न थालेँ । एक्लै रुने ,एक्लै बस्ने । यतिसम्म कि घरमा आएका साथीसँग पनि म राम्रो व्यवहार गर्न सक्दैनथेँ मलाई कसैसँग बोल्न मन लाग्दैन थियोे । कोहि बोल्यो कि रिस उठ्थ्यो । अलिकति मेरो उमेरको बचपन थियो अलिकति मभित्र अहम पनि थियोे ।
आफुलाई चित्त नबुझेका स साना कुरामा पनि सहमत हुन नसक्नु मेरो अादत थियोे । यसैलाई मान्छेहरु घमण्ड भन्दा रहेछन् । अहिले लाग्छ ,म ठिक थिएँ । भन्नेहरुले त आफू अनुकूल जे पनि भनिदिन्छन् । अहिले म बदलिएको छु । आफुलाई बदल्नु र जीवनलाई हेर्ने दृष्टिकोण बदल्नु बिल्कुल फरक कुरा हुन् । बाहिरी आवरण बदल्नु र भित्री चिन्तन बदल्नु जस्तै । जिन्दगी भोग्नै बाँकी छ । जिवनको परिभाषा भोगाइ हो । अहिलेसम्म अप्ठ्यारा मान्छे निकै भोगियो , सायद अरुलाई पनि म अप्ठ्यारो लाग्दो हुँ ।
यतिसम्म अप्ठ्यारो कि नचाहेर पनि साथमै रहनुपर्ने , सँगै हिँड्नुपर्ने । कुनैकुनै जुत्ताले जति दुखाए पनि मान्छेको भिडमा फुकालेर हातमा बोकेर हिँड्न सकिन्न नि हो त्यस्तै अप्ठ्यारो तर झेल्नैपर्ने किसिमको । केही सजिलाहरु पनि हुन्छन् । जसलाई निमेषभर भेटिन्छ र छुटिन्छ पनि त्यसरी नै ।
"तर तिमीलाई भेटेपछि त्यस्तो लागेन ,मान्छेहरु जे पनि भन्दा रछन् "
म मनमनै हाँसे फेरि , "तिमीसँग भेट हुँदा मैले आफुलाई बदलिसकेको थिएँ ।"
हो मान्छेमा घमण्ड हुनुपर्छ तर कसैलाई पीडा दिने किसिमको होइन । हाम्रो जिवनमा अरुले हामीलाई कसरी हेर्छन् भन्दा पनि हामीले अरुलाई कसरी हेर्छौ भन्ने कुराले बढि महत्त्व राखेको हुन्छ । अहिले आफ्नै बाउ अामालाई हेर्ने मेरो दृष्टि गलत थियो भन्ने लाग्छ । आधा गाग्रो पानी जस्तै अाधा ज्ञानले मान्छेलाई अस्थिर बनाउँछ । अस्थिरताले ल्याउने मानसिक विचलन यति घातक हुन्छ कि कुनै न कुनै विनाश भएकै हुन्छ कुनै न कुनै रुपमा ।
अहिले पनि धेरैको नजरमा घमण्डी छु । मेरो घमण्डले मलाई मेरो धरातलमा उभिन दिएको छ ।
यतिसम्म कि प्रेमीको नजरमा सम्म म घमण्डी रहेछु । मेरो घमण्ड नाजायज थिएन ,त्यो समयले एकदिन प्रमाणित गरिदिनेछ । मेरो घमण्ड हामी टुट्नुको कारण होइन ,यो पनि उसले महसुस गर्नेछ ।
जिन्दगीका यस्ता धेरै किस्ता छन् ,जसलाई धेरैपटक लेख्दै मेट्दै गरेको छु । डायरीका पाना च्यातेर फाले जस्तो सजिलो हुँदैन आफ्ना दैनिकीहरुबाट मन नपरेका दिनहरु फाल्न । मन नपरेका कुराहरुलाई पनि प्रेम गर्न थालेको छु । जब प्रेम हुन्छ ,नराम्रो र मन नपर्ने भन्ने नै हुँदो रहेनछ । जति खोट होस् ,जति अवगुण होस् ,जति नै लापरवाह होस् ……प्रेमको नजरले प्रेम मात्रै देखाइदिन्छ । भलै प्रेमको पनि आफू अनुकूल परिभाषा दिनेहरुको जमात छ यहाँ । पाउँदा प्रेम, नपाउँदा घृणा । मान्छेभित्रको यो अहंकार भन्दा बढि घातक केही देख्दिन म । मलाई घमण्डी भन्नेहरुलाई पनि म प्रेम गर्छु । मलाई घृणा गर्नेहरुलाई अझै बढि प्रेम गर्छु । जसले जे दिन सक्छ , जति दिन सक्छ त्यहि नै प्राप्ति हो । अरुले के दिन्छ भन्दा पनि आफुले के दिन सकिन्छ ,मेरो लागि महत्त्वपूर्ण हुनेछ ।
फेब्रुअरी २०,२०२१
२०७७/११/०८
अनामिका सजल


No comments:
Post a Comment