Monday, March 22, 2021

भर्जिनिटी र प्रणय दिवस




आफ्नो बनाउन नसके पछि धोकेवाजको बिल्ला भिराउने प्रेमी प्रेमिकाहरु प्रशस्तै भेटिन्छन् मायाको दुनियाँमा । एउटा धोकेवाज म हुँ , अनि अर्को धोकेवाज ऊ पनि हो । तर ऊ र म मा अाकाश पातालको फरक छ । किनकि ऊ पुरुष हो र म स्त्री । एउटा पुरुषले मलाई धोका दियो । मैले उसको विवशतालाई , अाफ्ना कमजोरीहरुलाई केलाउने प्रयास गरेँ । कहाँ नेर चुकेँ म भनेर हर पाइलामा फर्केर हेरेँ , उसका लापरबाहीहरुलाई आफ्नो मौनताको आँचलले ढाक्ने हर यत्न गरेँ ।  उसको केयरलेस व्यवहारलाई व्यस्ततासँग गाँसेर मन बुझाउन सिकेँ । अरु त अरु उसको पर्समा भेटिएको "सामान " पनि नदेखे जस्तो गरेर सम्बन्धलाई साथ दिइरहेँ ।
व्यस्तताको नाममा उसले दिएका धोकाहरु , करियरका नाममा पर्खाएका वर्षौं वर्षहरु …… केही होइनन् , केही थिएनन् मेरा लागि सब मान्य थिए । उसको राम्रो ,उसको खुसी ,उसको सफलतालाई आफ्नो ठानेर बलि चढेका मेरा खुसीहरु चाहिँ ??
प्रेममा दासत्वको अनुभूत नै नहुने रहेछ । यदि हुन्थ्यो भने म निकै पहिले नै त्यसबाट मुक्त हुने थिएँ , कोसिस त जरुर गर्ने थिएँ । उसले खुल्ला आकाशमा उड्न दियो , बन्द कोठामा कैद गरेन । तर लट्टाइ उसको हातमा थियो र म कुनबेला चैट हुन्थेँ र कहाँ पछारिन्थेँ न उसको बसमा थियो न मेरो ।

"म माया देखाउन जान्दिन । तिमीलाई जिन्दगीभर मैले माया नगरेको भ्रम परिरहन्छ ।"
" ठिकै छ त, म माया गर्छ कि भन्ने भ्रममा माया गरिरहुँला"
माया टुट्यो ,सम्बन्ध छुट्यो तर प्रेम रहिरह्यो । त्यहि भ्रम पनि कति मिठो , कत्रो विश्वास ।
दुनियाँलाई लागेको थियो ,म उसको बेमानीलाई बेहद घृणा गर्नेछु र थुक्नेछु उसँग हिँडेका बाटाहरु ……उसलाई पनि यस्तै लाग्दो हो । तर म किन घृणा गरुँ ? मैले घृणा गर्नलाई प्रेम गरेको थिइनँ । प्रेम परमात्माको त्यो उपहार हो जुन भाग्यमानीले मात्रै अनुभूत गर्न सक्छन् र म त्यहि भाग्यमानी थिएँ । प्रेमको न आयु हुन्छ न चिरायु रहन्छ । यो अनुभूत गरुन्जेल रहिरहन्छ र म अनन्त अनन्त सम्म यसलाई आफुमा समाहित गर्न सकिरहुँ ।
जिवनका बाटाहरु अलग हुनु प्रेमको अन्त्य होइन । उसले बाटो बदल्यो ,साथ बदल्यो । उसको सहजताको बाटो छेक्नु मेरो प्रेमको धर्म होइन । जब नदेखिने ईश्वर प्रति आस्थाले शीर निहुरिन सक्छ भने गुमाएको प्रेम प्रति पनि आस्था जगाउन सकिन्छ । आफ्नो हुनु मात्रै प्रेम हुन्थ्यो भने यहाँ कोही कसैको होइनौँ । एउटै छतमुनि बसेका हामी धेरै अपरिचित हुन्छौं ,अझ एउटै भान्सा ,एउटै ओछ्यानमा पनि कहाँ प्रेम नै प्रेम छ र ? वैमनस्यता र बाध्यतामा एक हुनु भन्दा त दुर भएर प्रेमले एक निमेष सम्झना गर्नुमै परमानन्द भेट्छु म ।
आधुनिक प्रेम सप्ताह चलिरहेछ । टीनयजर्सको उत्सुकता र उत्ताउलोपन थेगिनसक्नु छ । काँचो उमेर, चञ्चल मन। न कसैको डरले हच्किन्छ न कसैको भरले । मलाई यो उमेरको खुब न्यास्रो लाग्छ । थाहै नपाई बिति गएछ । अभाव र दुखका दैनिकी सँग कुस्ती खेल्दाखेल्दै कुन बेला फुत्कियो त्यो अवोधपन थाहै पाइएन । यस्तै उमेरमा भएका धेरै भुलहरुले जिन्दगी निल्नु न ओकल्नु भएका थुप्रै कहानी छन् लेख्नका लागि । लेख्नका लागि मात्रै होइन जिन्दगी बुझ्नका लागि समाज बुझ्नका लागि ।
अबको हप्ता दिनमा बिहे हुन लागेकी साथीलाई आफ्नो हुनेवाला जीवनसाथीको विषयमा सोच्ने फुर्सद  छँदै छैन । न त बिहेपछिको योजना र उत्सुकता नै बाँकी छ । चिन्ता छ त एउटै, बिहे अगाडिको प्रेम सम्बन्ध जो विवाहमा परिणत हुन सकेन र उसले विवाह अगाडि नै गुमाएको कुमारित्व । नारिको कुमारित्व किन योनीमा खोजियो ? कुमारित्व मात्रै होइन ,यहाँ त नारीको चरित्र नै योनीमा खोजिन्छ । यो सोच पुरुषको होइन ,पितृसत्तात्मक समाजमा हुर्किएको हर कोहिको मुलमन्त्र बनेको छ ।
नारीमाथि लगाम लगाउने समाजकै पुरुषहरुले आफू अनुकूल लगाम तोड्दै गए र नारीहरुको चरित्रलाई चिया पसल जस्तो बनाईदिए । जो आउँछ पिएर जान्छ । गुलियो पुगे नपुगेको , ल्वाङ सुकुमेल पुगे नपुगेको गुन बैगुन गाउँछ ।
विवाह अगाडिको शारीरिक सम्बन्ध पुरुषले पनि राखेको थियोे ,त्यहाँ ऊ मर्द भयो । र मेरो साथी जस्ता सयौं नारी जो आफ्नो भुलको प्रायश्चित गर्नका लागि जिन्दगीभर अप्ठ्यारो झेलिरहन्छन् ,अपमान सहिरहन्छन् । आत्म निर्णय गर्न सक्ने उमेर र मानसिकताले यहाँ फरक पर्दैन ।
फेब्रुअरी १०,२०२१
२०७७/१०/२८
                             अनामिका सजल

No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...