Wednesday, March 24, 2021

ईट्टाभट्टाको धुलो र अक्षरको मोह

 

  बिहान सबेरै निन्द्राले छोड्यो । त्यसो त क्याम्पस सकिएपछि अल्छी दैनिकी सुरु भएको छ । बिहान जतिबेला उठे पनि हुन्छ ,कहिँ जान हतारो पर्दैन । कहिलेकाहीँ अल्छीपनको पनि हद नाघेर अफिस जाने समयसम्म निदाइदिन्छु ,अक्सर राति अबेरसम्म ननिदाएको बेला । जिवनमा गाली गर्ने मान्छे नहुनु पनि साह्रै अनुशासनहिन हुनु जस्तो हुँदो रहेछ । थाकेकी होली सुतोस् भन्ने बाबा, दिदी सुतोस् तँ उठेर यसो गर उसो गर भनेर बहिनीलाई सुत्न नदिने अामा ………मायाले बिगार्छ धेरैजसो ।
घरदेखि ठिक पारि पट्टि ईँटा भट्टा खुलेको तीन चार वर्षै भइसकेको छ । राति एक दुई बजेदेखिको पटङपुटुङ ईट्टा खसालेको अावाज, गाडीको घाइँघुइँ, ठुलो ठुलो स्पिकरमा बज्ने दोहोरी गितका झन्कारले कहिलेकाहीँ निन्द्रा मात्रै बिथोल्दैन ,विगतको बालापनमा लगेर यसरी पछारिदिन्छ कि ,म त्यहिँ बालुवा र माटोमा लट्पटिएर धुस्रे फुस्रे भएर त्यतै कतै दौडिन थाल्छु । दौडँदा दौडँदै कति हो कति माटाको गाग्रा फुट्छन् । कलिला कुर्कुचा र हत्केला फुट्छन् । गाला त झन् भुङ्ग्रामा पोलेको मकैको रोटी जस्तो हुन्थ्यो ।
जब म बालापन सम्झन्छु ,सम्झनामा भक्तपुर र ललितपुरका ईटा भट्टाहरु अाउँछन् । याद छैन त्यो ठाउँ कुन थियो तर नजिकै क्याम्पस थियो । बिहान र बेलुका सारी लगाएका तन्नेरी केटीहरु झ्याउली( अस्थायी बासस्थान /घर) माथिको बाटोमा खितखिताउँदै अाउने जाने गर्थे । कोही अनुहारका राम्रा देखिन्थे ,कोही लवाईमा राम्रा । सायद ड्रेस थिएन, फरकफरक पहिरनमा हुन्थे । म उनीहरु अाउने ,जाने समयसँग अभ्यस्त भइसकेको थिएँ । मलाई उनीहरूले हातमा कापी किताब च्यापेर खितखिताउँदै हिँडेको हेरिराख्न मन हुन्थ्यो । रंगीचंगी सुकिला पहिरनमा उज्याला उनीहरू ,दन्त्यकथाका परी जस्ता लाग्थे । उनीहरुले माटो छुनु पर्दैन , चिसो हिउँदमा अाधा रातमै उठेर माटोसँग कुस्ती खेल्नु पर्दैन ,उनीहरु धेरै पढेका विद्वान बन्नेछन् , उनीहरूको नाइके हुँदैन , बैदार हुँदैन अनि साहु पनि हुँदैन । उनीहरू त आफ्नो मालिक आफैं हुनेछन् । खुब रहर जाग्थ्यो उनीहरू जस्तै हुन । उनीहरू जस्तै कापी कलम बोकेर स्कुल जान । मैले बोलिरहेको शब्दको अक्षर कुन आकारको हुन्छ होला ……म खुब कल्पन्थेँ । सायद कल्पनाहरुको गहनताले नै मलाई भावुक बनायो ।
म पाँच वर्ष पुगेकी थिइनँ तर मलाई याद छ त्यहाँ एउटा मुलको धारो थियो । एकदम अव्यवस्थित । कहिलेकाही मुलको पानी बग्ने ठाउँमा मान्छेहरू हगिदिन्थे । ईटा भट्टा माथि गाउँ थियोे , गाउँका मान्छे पनि अाउँथे पानी लिन । अामाले काखीमा गाग्रो बोकेको देखेर मलाई पनि त्यसैगरी बोक्नु पर्थ्यो । मेरो जिद्दीका अगाडि बाबाको केही नलागेर सानो गाग्रो किन्दिनु भएको थियो ,अम्खोरा जत्रो । म त्यसैमा पानी ओसारेर खुवाउँथे खलामा ईटा चाङ लगाइरहेका बा अामालाई । एक्लो सन्तान थिएँ , रहरको सन्तान । मायाको सिमै थिएन । र पनि दुख थियोे । दुखमा पनि कति मिठो प्रेम हुन्छ , त्यो मैले मेरा बा अामाबाट सिकेको छु । अप्ठ्यारोमा कसरी साथ निभाउनुपर्छ ,अामाको व्यवहारले सिकाउँथ्यो, सजिलो कसरी बनाइरहने त्यो बाबाको मायाले देखाउँथ्यो। प्रेम र त्यागको अादर्श मलाई मेरै बा अामाभन्दा पर गएर बुझ्न मन लाग्दैन ।
छ महिना ईटा भट्टा बसेर अाएपछि मलाई स्कुल जान मन लाग्दैन थियोे । मेरो साथी छुट्थे ,साथीसँगै स्कुल जाने बानी छुट्थ्यो । क्याम्पस पढेर अाएका परी जस्ता रंगीविरंगी सपनाहरु पनि उतै छुट्थे । म कल्पना गर्थें ,न्यानो घरको ,सुकिलो पहिरनको । किनकि त्यहाँ सबैभन्दा बढि चिसो मौसमको सामना गर्नुपर्थ्यो । ईटाको थाकबाट छिर्ने सिरेटो, परालको छानाबाट खस्ने शीत । बालुवा र माटोले रंगिएका मैला लुगा । त्यहाँभन्दा परको सपना देख्ने दृश्यहरु नै थिएनन् अाँखामा । अहिले अाएर लाग्छ, सपनाको पनि अायतन हुने रहेछ । कुवामा पसेको भ्यागुतालाई त्यहि संसार सम्पूर्ण लाग्छ, उडि जाने चरिलाई कहिल्यै सकिँदैन संसार फन्को लगाएर । मेरा बा अामालाई चिन्ता थियो , म पढ्न नजाली र आफू जस्तै दुख पाउली भनेर । बुवा म रोएको अहिले पनि हेर्न सक्नुहुन्न , म स्कुल नजानको लागि रोइकराइ गरेर लडिबुडि गर्थेँ । बुवा हेर्न नसकेर पाखा लाग्नुहुन्थ्यो। मेरी अामा त्यतिखेर निर्दयी भएर सिस्नाको झाम्टा लाउँदै स्कुल नपठाएको भए अाज म यसरी लेख्न सकिरहेको हुन्नथेँ । मायामा क्रुरता पनि जरुरी हुन्छ यो अामाले सिकाइन् ।
फेब्रुअरी २, २०२१
२०७७/१०/२०

No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...