अन्त त मैले कठोर भएर भनेँ " तँ मलाई छोडेर अरुसँग बिहे गर्छस् भने गर् । म तँलाई अरुसँग देख्न सक्दिन । अहिले नै विष खाएर मर्दिन्छु ।" तँलाई पनि सन्चो ,मलाई पनि सन्चो……
फोन राखेको पन्ध्र सेकेन्डमा उसले फोन फर्कायो ।
म मर्ने तयारीमा लागेँ । फोन हेरिनँ । मैले राखेको ठाउँमा मेटासिट भेटिनँ । यो संयोग थियो या लेखान्त । उसले फोन गर्न छोडेन । उसले म मरेको हेर्न सक्दैन थियोे । यो मलाई थाहा थियो अनि उसलाई थाहा थियो ,म उसको पीडा देख्न सक्दिन भनेर । फोन उठाएर म बोलिन । एकोहोरो ऊ बोल्यो । बोलिरह्यो । " तिमीले मर्नु पर्दैन । मर्नु परे सँगै मरुँला । आवेषमा नआउ । म तिम्रै हुँ । "
कति मिठो झुट बोल्यो उसले । सायद अन्तिम झुट । ऊ झुट बोल्न जान्दैन थियोे । पत्याइदिएँ । कति सजिलै पत्याएछु ,त्यति ठुलो झुट पनि । म खुसीले कोक्किएँ । सँगै हुँदो हुँ त उसको छाति पखालिँदो हो मेरो आँसुले । म मिलनको आँसु रोएँ, म विश्वासको आँसु रोएँ । उसले अल्झिएको डोरीको गाँठो फुकाएको रहेछ । अहिले सम्झँदा लाग्छ ,म त उसको मायामा लाटो भएको रहेछु । बोली छ आवाज छैन । पाइला छ गन्तव्य छैन । उसलाई मेरो आँसुको पाप नलागोस् । मेरा आँखाहरु उसको दुर्गति हेर्न सक्दैनन् ।
त्यो क्षण सम्झेर म अझै पनि कमजोर हुन्छु । प्रेममा जति शक्ति हुन्छ ,त्यसको हजार गुणा बढि कमजोरी पनि हुने रहेछ । यो मेरो व्यक्तिगत अनुभव हो । मेरो महसुस हो । पीडा हो । म कमजोर भएँ । मेरो कमजोर समयमा पिठ पछाडिबाट छुरा प्रहार गर्नेहरु नै मेरो साहस बने । प्रेमले पोलेको घाउमा मैले वितृष्णाको आगो फुक्नु पर्यो । यो मेरो बाध्यता थियो । जब जब साना साना कुराहरुमा म कसैको अपनत्व खोज्थेँ र पाउँदैन थिएँ ।दुखि हुन्थेँ । एक किसिमले संसार शून्य लाग्थ्यो । आफ्नो खुसी अरुमा खोज्नु जति मुर्खता अर्को कुनै होइन रहेछ । यति बुझ्न मैले उसलाई गुमाउनु पर्यो । असलमा म उसलाई गुमाएको भन्न सक्तिन र चाहन्न । समग्रमा मैले उसलाई जताततै पाएको छु । पाउनु भनेको आफुसँग हुनु मात्रै पनि होइन ,यदि सँगै भएर पनि आफ्नोपनको महसुस भएन भने । उसका यादहरु लेखेर सकिन्नन् । सम्झेर पनि सकिन्नन्। प्रसंशा गर्नका लागि धेरै गुणहरु छन् । मलाई उसले मुख छाडेको मन पर्थ्यो तर उसले तँ सम्म पनि भन्न जानेको थिएन । नियतिसँग विश्वास छैन । नियतमा खोट लगाउने ठाउँ छैन र पनि मुटुमा घाउ बनाएर गयो । थाहा छैन जिन्दगीले कुन मोड लिन्छ । कहाँ पुर्याउँछ र के के हुन्छ । आज यस्तो हुन्छ , हिजो कहाँ थाहा थियो र ? जहाँ पुगे पनि जसरी पुगे पनि अपलक प्रेमले निहार्न पाऊँ , नि: शब्द व्यक्त हुन सकुँ ।






