Wednesday, May 12, 2021

आमा

Monday, April 26, 2021

कथा - हिम्मत

 म कहिलेकाहीँ पुग्छु जूनाको कफि हाउसमा । कामको प्रेसर , घरायसी  झमेलाहरुले तनाव बढेको बेला प्राय म एक्लै हिँड्छु । आफ्नो कारणले अरुलाई दुखाउन नपुगियोस् भन्ने हेतु पनि म त्यसो गर्छु । जूना मेरो बच्चै देखिकी साथी , बिहे गरेको ६ महिनामै लोग्नेले सौताको कलह भित्र्याएपछि घर गरि खान नसकेर  माइती गाउँमा बसेर जीवन धानिरहेकी छ, पाँच सात सालदेखि ।बाटो छेउमा जस्ता पातो बेरबार पारेर दुई साल जति चिया ,चुरोट दोकान चलाएपछि अहिले पक्की घरको दुईवटा सटर लिएर हिउँदमा कफी र गर्मीमा लस्सी बनाएर जिविका चलाइरहेकी छ । परिश्रम नै बेचे पनि दुनियाँका मुख थुन्न त नसकिने नै रहेछ यो जगतमा । लोग्ने छोडेकी भन्ने बित्तिकै मान्छेहरूको अनुहार कुच्चेको कचौरा जस्तो भइहाल्ने, किन छोडी छु मतलब ।  निराश भएर जब उसको नजिक पुग्छु , उसको साहस , लगनशीलताले आशा भरिएर आउँछ र जिन्दगीको माया लागेर आउँछ । सानो घाउको दुखाइ ,ठूलो घाउले लुप्त बनाइदिए जस्तै । 


म सरासर गएँ र अगाडीकै टेबुलमा बसेँ , कुनामा अरु ग्राहक थिए ।वर्षको अन्तिम चिसो मौसम थियोे ,चैत लागेर पनि झरी परेकाले म कफिको तलतलले त्यहाँ पुगेको थिएँ । त्यसो त मलाई चिया ,कफिको लत छैन ,अक्सर साथीहरुसँग नाइ भन्न नमिल्ने अवस्थामा र यस्तै मौसम र मनले च्यालेन्ज गरेको बेला मात्रै आइपुग्ने गर्थे म जूनाको पसल । कुनापटिका केटाहरु अलि बढि नै हल्ला बढाउँदै थिए । मलाई  असहज महसुस भयो ,सक्दो छिटो निस्कन मन भो ।  लिएको कफि छोडेर हिँड्न नि सकिनँ ।

त्यहाँ भएको मध्ये एउटा केटो अघि देखि अश्लील शब्द प्रयोग गरेर कुनै केटीको उपहास गरिरहेको थियोे ।एकैछिनमा फोन आयो , उसले फोन उठाएर स्पिकर अन गरेको थियो सायद, फोनमा कोही केटी रुँदै थिइ ,भक्कानिएर के के भनी मैले बुझिनँ । फोन राखेपछि बडा गर्वले सुनायो," मेरो लागि रुने यस्ता केटी त कति छन् कति , के गर्नु घरमा लान मिल्दैन " निल्न लागेको कफि सर्कियो ,मलाई खोकी चल्यो । त्यसपछि जुरुक्क उठेर हिँडे, अरु सुन्न सक्ने क्षमता नै थिएन मसँग ।

घर आएर डङ्रङ्ग ओछ्यानमा लडेपछि सम्झेँ ,म पनि त त्यसैगरी रोएको थिएँ नि तिमीसँग । तिमीले पनि त्यस्तै भन्यौ कि ?? तिम्रो लागि पनि रोइदिने कति कति थिए कि ? हरे मेरो आँसु नबग्नु पर्ने बाटो पो बग्यो कि ? उफ् अौडाह भो, के केटीहरु केटाहरुको नाउँमा आँसु बगाउन मात्रै जान्दछन् ? पुरुषको यौवनको आगो निभाउने अस्त्र मात्रै हो त नारी ?? मेरो समर्पण ,विश्वास ,प्रेम सब तिम्रो लागि पनि एउटा मीठो बहाना मात्रै थियो त ?  मनले भन्छ, तिमी प्रेम हौ, मस्तिष्कले भन्छ तिमी पुरुष हौ । प्रेम किन यति संकिर्ण हुन्छ ? पुरुष किन यति निर्दयी हुन्छ ? निर्दयी पुरुषको किन माया लाग्छ ,किन आँसु बग्छ ?

प्रश्नै प्रश्नले किचिएर म निसासिन्छु , सास फेर्न गाह्रो हुन्छ र जुरुक्क उठेर बाहिरिन्छु । अौँसीको रात चकमन्न छ, जून बिनाको आकाशमा तारिकाहरुको बिस्कुन छ । प्रत्येक तारिकामा बेग्लै चमक छ , मलाई जून बिनाको आकाश फराकिलो लाग्छ । तिमीबिनाको मन पनि शितल  लाग्छ र मनमनै एउटा प्रण गर्छु " जसरी जून बिनाको आकाश रित्तो छैन , त्यस्तै तिमी बिना पनि मेरो जीवन एक्लो छैन । भलै कोही कसैको हात नहोला तर आफैं भित्रको एउटा हिम्मत हुनेछ ।"

Monday, April 19, 2021

आमा

   


हामी नारीलाई आमाको महिमा ओढाएर ममताको प्रतिमुर्ति भनिभनिकन कतै अन्याय त गरिरहेका छैनौं ?? जस्तो कि "मेरी छोरी कति ज्ञानी ,मेरो बाबा ज्ञानी बनेर देखाइदेऊ फुच्चु " भन्दाभन्दै म हुर्किएँ र मैले विद्रोह कस्तो हो जान्दै जानिनँ । सबैको ज्ञानी हुन पाउने लोभमा मैले कति कति रहरहरु मासेकी छु ,त्यो त यही मन जान्दछ । त्यस्तै हामीले नारी जातिलाई सहनशीलता , सुन्दरता र मातृत्वको गह्रौं भारी बोकाएर जहाँको त्यहीँ राख्ने दुस्प्रयास त गरिरहेका छैनौं ? हामीले अक्षरका आकार पढ्यौँ , अक्षरमा सारा संसारका समाज पढ्यौँ ,व्यवस्था पढ्यौँ र आफ्नो भुगोलमा, जीवनमा प्रयोग पनि गरिरहेका छौँ तर अक्षर बाहिरको चेतना ,ज्ञान ,विवेक हामीमा अझै पनि विकास भएन, हुनै दिएनौँ । हामीले हाम्रो मस्तिष्कलाई पनि बाँधेर राख्यौं ,जो चलि आयो ,त्यहि ठिक किन ठिक ,किन बेठिक ,कहिल्यै सोच्यौँ त ?? 

म आमाको प्रसंगमा छु , हाम्रो शरिरमा बा र आमा दुवैको रगत छ । आमा एक्लै या बा एक्लैले सृष्टि हुन्न । र पनि हामीभित्र बा र आमालाई हेर्ने दृष्टि अलग छ , बा लाई कर्तव्य र आमालाई ममताको छहारी बनाइदिने हामी नै त हौं । अहिले पनि हामी आमाले पकाइदिएको ,पस्किदिएको भात मिठो भनेर आमाहरुलाई भान्सामै थन्काइरहेका छौँ । के यो सोचले विभेद गरेको छैन ? यदि पकाउने र पस्किने काम बा हरुले गरे भने आमाहरुको काम के त ?? हो ,हामी धेरैको सोच यही त छ । हो अघिल्लो पुस्ता शिक्षित थिएन, सचेत थिएन ,कति जानेर ,कति नजानेर ,कति गलत संस्कारले आमाहरु माथि थिचोमिचो भयो होला, भएकै हो तर आज पनि त हामी कमसल बुद्धिजीवीहरुको मानसिकता त्यहि नै छ । 

हामी लाजै नमानी "ल ल आमा यति धोइदिनु है" भनेर लगाएका लुगा फालिदिन्छौ , भोक लाग्यो भनेर त्यहि आमालाई मेसिन बनाइदिन्छौँ । यसरी हामी आधुनिक छोराछोरीले बा र आमाबीचको खाडल भर्ने सानो पनि प्रयास गर्यौ र ? आवश्यकता र विवशताले आमाहरुलाई सात समुद्रपारी पुगेर आफ्ना स साना नानीहरुको भविष्य बनाउने सपना देख्न सिकायो, प्लेन चढ्न र आधा पारी ,आधा वारि भएर बाँच्न सिकायो तर  नानीहरूमा आमाको ममता बाहरुबाट पूर्ति गर्ने धारणा कहिल्यै जन्मिन सकेन । आमालाई देवीको उपमा दिएर बा हरुलाई जालन्धर हुने वातावरण हामी आफैंले न बनाइदिएका हौँ । आमाको सतित्वमा हामी यति सङ्किर्ण छौँ कि यदि आमाको कोही पर पुरुषसँग निकटको सम्बन्ध मात्रै किन नहोस् , हामी पतित भनिदिन्छौँ ,आमाको नाउँमा कलंक बनाइहाल्छौँ ।

हामी चाहन्छौं हामीले आमाको अस्मितामा कदापि प्रश्न उठाउन नपरोस् , आमालाई धरति बनाउँ र कुल्चिरहौँ । हामी बा हरुले भित्र्याएका हर नारीलाई अामाको नाम दिन सक्छौं तर त्यहि चरित्र अामाको हुन्छ भने आमा त्यागिदिन सक्ने हाम्रो आमाप्रतिको धारणा कस्तो हो ? हो यिनै महानताले आमालाई ईश्वर बनाइदिएको छ तर आमाका लागि अनेक पर्खाल बनाउने र तोड्न नसक्ने हामीले बा हरुको लागि किन दायरा बनाएनौँ ? प्रश्न यति हो , र जवाफ आ आफ्नै हुन सक्छन् ।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...