बिहे भनेपछि सकभर घरबाटै हुन्छ । आधुनिकता र बदलिँदो समयानुकूल पार्टी प्यालेस, धार्मिक आस्था र अनुष्ठान अनुरुप मठ मन्दिर अझै अविश्वास र विश्वास बीच सम्झौता गर्न अदालत पनि चलेकै प्रक्रिया हुन् तर अपशोच ।
पार्लरको एक छेउमा झुन्डिएको रातोमा गोल्डेन कलरको स्टोन मिसिएको एक डोरो पोतेले मन लोभ्यायो । केही नसोची किनेँ ,एक सय सत्तरी तिरेर । अलिपर पुगेपछि बाटो छेउमा ठुला साना ऐनाहरुको अगाडि प्लास्टिकका थैलामा पोको पारेर बेच्न राखेको सिन्दुरले एउटा मोह जगायो । र दस रुपैयाँको एक चिम्टी सिन्दुर किनेँ ।
साइड ब्यागमा सिन्दुर ,पोते बोकेर हिँडिरहँदा एकाएक मनमा ऊ आयो र गयो पनि उसैगरी । झिलिक्क बिजुलीको गतिमा ……मेरो ठाउँमा ऊ हुँदो हो त यसरी न सिन्दुर पोतेको मोहले गल्ने थियो न मेरो मोहले । बाधा नै के थियो र ?? एकाएक मलाई ऊ हुन लाग्यो र फोन गरेर बोलाएँ विश्राम गेष्ट हाउस । ऊ लुरुलुरु आयो र छेउमा बस्यो । प्रेमको वर्षात् थामिएसँगै मैले ब्यागबाट एक सय सत्तरीको पोते र दस रुपैयाँको सिन्दुर झिकेर उसको हातमा थमाइदिएँ ।
थर्थराइरहेका मेरा हातबाट सिन्दुर लियो र सिउँदोमा सिमाना कोरिदियो । भन्नुपर्दा एक डोरो पोतेमा विवाह समापन भयो । न साक्षी ,न कसम न वाचा । विवाहका मान्यताहरु भत्काएर हामीले विवाह गरेका थियौं । यो उसलाई थाहा थियोे ,मलाई थाहा छ र बाँकी ईश्वर जान्दछ । समयले मन मात्रै होइन मनभित्रको प्रेम पनि बदल्दो रहेछ । हुन सक्छ यो प्रेम थिएन र अरु नै थोक हुन पनि सक्छ । म प्रेमलाई त्यति तुच्छ कोटीमा राख्न पनि त सक्दिनँ । यो सम्बन्धको साँध सिमाना भत्काउन कुनै कठिनाइ थिएन उसलाई र उसले भत्काएर गयो । सुकोमलताको लोभमा , सुन्दरताको मोहमा । जो फेरि पनि मेरो हृदयमा अविछिन्न प्रेम बोकेर बाँचिरहेकै छ ,एक सय असीको सिन्दुर पोते र बर्जित विवाह ।
जिवनमा धेरै कुराहरु विसर्जित हुन्छन् यसैगरी तर उसको माया ,उसको सम्झना पहाड बनेर उभिएको छ छातिमा ।



