Monday, August 2, 2021

विखण्डीत प्रेम

 


हो तिम्रो मन चट्टान जस्तै छ

र छ फलाम जस्तै बलियो 

किन्तु 

रसाएकै हुन्छ 

पत्थरिला चट्टानहरु पनि 

सावन जागेपछि 

छताछुल्ल पोखिएर

संसार सिंच्नु पनि कला हो 


पुजिनका लागि

ढुंगाले पनि मन्दिर पाउनुपर्छ

यत्रतत्र फैलिएका सबै ढुंगा देउता हुन्नन्

जसरी किसुनजीका 

सोह्र हजार गोपिनीहरु प्रेमिका भएनन् 

प्रेम भन्ने चीज 

न अनुनयमा हुन्छ न विनिमयमा 


नसच्चिने भुलहरु हुन्नन् 

र नच्यातिने भ्रमहरु पनि 

भुलहरु सच्चिएपछि

भ्रमहरु च्यातिएपछि

पूर्वले बिहानीको पर्दा उघारेझैं

प्रेमको लालिमाले 

यो छातिको देब्रे पाखो झल्मलाएको छ

र तिमी अनमोल "रत्न" मा 

अनुदित भएका छौ !!

कटाक्ष

 


ओ मेरो पतिदेवकी प्रेमिका 

आऊ हामी हात मिलाऊँ 

मित्रताको 

सह- अस्तित्वको 

"ऊ "

मेरो "पति"

तिम्रो "प्रेमी "

तिमीलाई जस्तै ,

प्रेमकै बाटो भएर

पत्नी बनाएको हो मलाई पनि 

तिमी र म मा के को दुश्मनी ?

के को ईष्र्या ?

के को डाह ?? 


एउटै हो मुटु तिम्रो ,मेरो 

जति तिमीलाई दुख्छ ,त्यति नै दुख्छ मलाई पनि 

आउ सँगसँगै दुखौँ 

र महसुस गरौँ 

लोग्नेमान्छेको वितण्डा 

लोग्नेमान्छेको प्रेम 

ऊ रुवाउँछ तिमीलाई 

ऊ हाँस्न दिँदैन मलाई 

र पनि तिमी प्रेम गर

र पनि म पूजा गर्छु 

आऊ पतिदेवकी प्रेमिका 

हामी गला मिलाऊँ !!

Saturday, July 31, 2021

सलह

 


किसानको बालीमा पसेको सलह जस्तो 

भनेन उसको प्रेमले 

यो हुने ,यो नहुने 

यो कलिलो ,यो बूढो 

चपायो भेटे जति पत्र 

कुन अौषधी ,कुन विषादी 

अघाउनका लागि हजार माइलको यात्रा 

सहेर हजार हण्डर

न दुख्यो कुनै ठेसमा 

अन्त त: 

उजाड बस्तीमा पिलपिलाइरहेका

हुलका हुल 

उदास मुहारहरु……

एकाएक आएर विथोल्ने 

त्यो उसको प्रेम थियोे कि सलह ??

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...