ऊ मेरो मुस्कानको कारण, हरेक प्रहरमा आउने उसको रखवारीको म्यासेजले ,उसले गर्ने सजेस्ट ,केयर वाला म्यासेजले त्यसै त्यसै पुलकित बनाइदिन्छ । नजाने अनेक बहाना हुँदा रहेछन् बोल्ने,बोलाउने अनि सुन्ने र सुनाउने । यो उसैबाट सिकेँ मैले । अनि मेरो आँसुको कारण पनि उहि । थाहा छैन कति कति बुँद त बेहिसाब आँखाभित्रै सुकाएँ । बाँच्नको लागि एक झिल्को अाशा जगाइदिएर ,रहर र कहरको एक दियो जलाइदिएर के गरुँ ?? त्यो झिल्को अाज डढेलो बनेर फैलिएको छ जताततै , त्यो दियो सल्किएको छ अाज अाफ्नै छातिको देब्रे पाखोमा । ऊ त एउटा अगुल्टो न थियो ,झोसिएर गयो ।यता पुरै बस्ती सकिएको के प्रवाह उसलाई ? माया त माया नै थियो ।चाहे एकपलको होस् ,चाहे जनमभरको होस् । सारमा मैले ऊ बाट पाएको माया एक निमेषको होला, त्यो पनि कता कताबाट बहकिएर अाएको माया । जसरी अायो ,उसैगरी गयो ।जताबाट अाएको उतै गयो । बतासलाई बाँधेर राख्न सामर्थ्य छ र मेरो ? सूर्यको बाटो छेक्न सकेको छ र केहिले ? हो त्यस्तै मेरो बसमा रहेन ऊ, मेरो बसमा रहन सकेन उसको माया ।उडेर गयो ………पिंजडाबाट फुत्केको चरा जस्तैः …… म भुइँबाट हेरिरहेँ । उसको उचाइ मेरो आँखाले नाप्नै सकेन । हेर्दाहेर्दै विलायो सुन्यतामा ,अाँखाभित्र ,मानस्पटलमा बनेको विम्ब भने बेस्सरी बटारिन थाले । अाकार हराएको बादलको टुक्रा जस्तो , सिमानाहिन प……र उभिएको क्षितिज जस्तो कताकति स्पष्ट देखा पर्छ , कताकति धमिलो भएर ।वर्षौदेखि नपुछिएको दर्पणमा जस्तो ।
Saturday, July 31, 2021
डायरी
एक साधारण व्यक्ति , जसको जिवनमा असाधारण घटनाहरु घटेका छन् र ती घटनाहरुलाई जिवन्तता दिने एक दुष्प्रयास गरिरहेको छु ।
डायरी
फेसबुकको इनबक्समा भएको सामान्य परिचय र तिमीले, मैले वर्षौं अघिदेखि लेखि छोडेको स्टाटस, साहित्यिक रचना र तस्बिरमा गरेको लाइक ,कमेन्टको अइरो पहिरोको भरमा म कहाँ तिमीलाई जीवनसाथीको रुपमा अपनाउन सहमत हुन्छु त डियर अन्जान मान्छे ! हो म बुझ्छु जमाना डिजिटल छ, परिचय सँगै सबथोक साटासाट गर्न सकिने प्रविधि छन् , मन चाहे भेट्नु पनि ठुलो कुरो होइन तर भेट्ने हदसम्म पुगेर छुट्न साह्रै गाह्रो हुन्छ ।यो मैले भोगेको छु र फेरि दोहोराएर भोग्न चाहन्न । तिमी बुझ, समयभन्दा अघि र पछि हामी केही गर्न सक्दैनौं । म भाग्यवादी त होइन र पनि मेरो कर्मले यही सिकाएको छ। वास्तवमा तिमी जुन कुरा देखेर मप्रति आशक्त छौ , त्यो भेटिए पश्चात् म मा नभेटिन पनि सक्छ । हो म प्रेम लेख्छु ,यौन लेख्छु ,विकृति लेख्छु ,विसङ्गति लेख्छु । कहिले रुँदै लेख्छु ,कहिले लेखिसकेपछि रुन्छु । तिमीले भर्चुअल दुनियाँबाट मेरो यो पागलपन देखेका छैनौ । मेरो उठ्ने र सुत्ने टाइम टेबल हुन्न , मन लागे जुनै बेला लेखिरहेको हुन्छु , पढिरहेको हुन्छु । भात भान्सामा मेरो रुचि छैन ,जुन तिमीले मेरै जिम्मेवारी सम्झन्छौ । र मेरो लागि भात भान्सा गरिदिएर मलाई लेख्ने ,पढ्ने माहोल बनाइदिन सक्छौ त तिमी ? आज आवेशमा आएर सहमत भयौ भने पनि तिमीलाई म निल्नु न ओकल्नुको गाँस हुनेछु , म अरुले जे गरे त्यो पनि गर्न त सक्छु तर अरुभन्दा केही पृथक पनि गर्नुछ र त्यो तिमीलाई स्वीकार्य हुनै सक्दैन ।
तिमीलाई थाहा छैन, म कसैको प्रेम हुँ । ऊ प्रतिको मेरो भुमिकाले तिमीलाई हिनताबोध हुन सक्छ । मेरो प्रेमीको अगाडि तिमी कहिल्यै भरी हुने छैनौ र तिमीलाई यो कहिल्यै सह्य हुन सक्दैन । लोग्नेमान्छे एउटै ओछ्यानमा दुई ओटी पत्नी सँगै निदाउन सक्छ , तर पत्नीको मनमा भएको अर्को पुरुष प्रतिको प्रेम कदापि सहन सक्दैन । र तिमी त्यहि पुरुष हौ, अब पनि मसँग जीवन बिताउने सपना देख्न सक्छौ ??
हुन त म मीठो झुट बोलिदिन सक्थेँ ,नजाने कतिसँग बोलिसकेको छु । आफू दुखेर अर्काको खुसीका खातिर झुट बोल्दा मलाई पश्चाताप हुँदैन । अर्कालाई दुखाएर आफ्नो खुसीका लागि झुट बोल्नु चाहिँ पाप जस्तो लाग्छ र आजसम्म त्यो साहस गर्न सकेको छैन । मैले तिमीलाई दुखाउन चाहिनँ । मलाई विश्वास छ तिमीले छि: भन्ने छैनौ र दुख्ने पनि छैनौ । नियालेर हेर्दा जून पनि दागी देखिन्छ , म त मान्छे सँगै रहँदा ,बस्दा अनेक खोट भेटिएलान् । सोचेभन्दा बिल्कुल भिन्न आचरण भइदियो भने के गर्छौ हँ ? या तिमी पृथक भएर आउ, या मलाई पृथक रहन देऊ । म हतारमा र दोधारमा निर्णय दिन सक्दिनँ ,र तिमी पनि त्यसो नगर । हरेक प्रस्ताव स्वीकृत हुन्नन् , यसलाई असामान्य नसम्झ । तिमीलाई सुन्दर जीवनको शुभकामना !!
एक साधारण व्यक्ति , जसको जिवनमा असाधारण घटनाहरु घटेका छन् र ती घटनाहरुलाई जिवन्तता दिने एक दुष्प्रयास गरिरहेको छु ।
कोरोना कहर
एकाएक शरिरको तापक्रम बढे जस्तो लाग्यो । जेष्ठको घाम अझै सेलाएको छैन । ओढेको पातलो पोलार पनि फ्याँकिदिन्छु । टाउको भारि हुन्छ । उठेर पानी पिउँछु र लम्पसार हुन्छु ।
नाक थुनिएको जस्तो भएर सास फेर्न सक्दिनँ र ऐंठनमा ब्युँझन्छु । राम्रोसँग सास तान्न सकिरहेको छु फेरि किन त्यस्तो भो ? सायद तर्कना हुँदो हो । लामखुट्टेको मनोमानीसँग रिस उठ्छ र गुडनाइट प्लगमा घुसारेर फेरि पसारिन्छु ।
एकाएक एम्बुलेन्स साइरन बजाउँदै अाउँछ । उठ्न खोज्छु हातगोडा चल्दै चलेनन् । सेतो पहिरनमा आएका मान्छेको अाकृति जस्तो छायांले उचालेर एम्बुलेन्समा राखे । प्रतिवादमा न बोली फुट्यो न हातगोडा नै चलाउन सकेँ । मेरो बचाउमा न एउटै कोठामा सुतेकी बहिनी निस्की न पल्लो कोठाबाट बा अामा नै । बेस्सरी रुन खोजेँ ,आवाज अाएन आँसु मात्रै बग्यो ।
होशमा आउँदा नाकमा पाइप घुसारिएको रहेछ । नाडीमा सलाइन चढाइराखेको । अँध्यारो कोठा, भेन्टिलेटरको सुसाहट । सन्नाट्टामा मृत्युले अट्टहास गरिरहेझैँ देखेँ । सम्झनामा आँखाले देखेका , हृदयले महशुस गरेका सबै एक एक गरेर अाउन थाले । सबैभन्दा बढि याद बालापनको आयो । बुबाले काखमा राखेर दाह्री दल्दै खाएको म्वाई , अामाले तोरीको तेलमा मेथी पड्काएर तालुमा ठोकिदिएको । बहिनी जन्मेपछि घरमा छाएको खुसी , थै थै गर्दै आँगनमा डुलाएको पल । स्कुल पढ्दा साथीहरूले चोरेर खुवाएको आँप, लिची ,भकि अमिलो ,अमला । नौ कक्षा पढ्दा रंजिताले घरमै बनाएर ल्याएको केक कक्षाकोठामै काटेर मनाइदिएको वर्थडे ।
सँगै हिँडे डुलेका साथी संगी । कति हो कति यादको पहिरो । आइसोलेशन बाहिरबाट चियाइरहेका आँखाहरुमा निकैबेर खोज्दा पनि ती आँखाहरु भेटिएनन् । जुन आँखाहरु मलाई प्रेमको दिलाशा दिन्थे र बाँच्न प्रेरित गर्थे । त्यसपछि चेत हरायो ।
एक्कासी आँखामा तिरमिराउने ज्योति अायो र जुरुक्क उठ्न खोजेँ । आँखा त सावन भएका रहेछन् । छेउमा बसेर आमा आँसु पुछिदिँदै रहेछिन् । बहिनीले पानी दिई । आफैँलाई चिमोटेँ हजारपल्ट र एकिन गरेँ , म ठिकठाक रहेछु ।
उफ् कस्तो कायरता मृत्युप्रति । मृत्यु जिवनको अन्त्य हो कि पूर्णता ? कस्तो असमञ्जस्यता हो यो । बस् तर्कना र सपनाले कहाँ कहाँ पुर्याएछ ।
एक साधारण व्यक्ति , जसको जिवनमा असाधारण घटनाहरु घटेका छन् र ती घटनाहरुलाई जिवन्तता दिने एक दुष्प्रयास गरिरहेको छु ।
कलियुगकी राधा हुँ किन्तु परन्तु द्वापर युगमै इति: भइसकेको कृष्णको निश्चल प्रेम भेटिनँ अपितु दुसाशनका बिजहरु यत्रतत्र सल्बलाइरहेछन् क...
-
नेपाली समाज अझै त्यहीँ छ जहाँ कुनैपनि केटीले आफ्नो मस्तिष्कमा सबैभन्दा अगाडि आफ्नो कुमारित्त्व बोकेर हिँडेकी हुन्छे । एक त विवाह अगाडिको यौ...
-
तिमी बिरामी भएको थाहा पाएपछि , बिर्सिएँ तिमीले मेरो पवित्रतामाथि लात हानेर जिन्दगीको मझधारमा छोडि गएको । बिर्सिएँ , तिम...
-
तिमी उसको सर्टको कलरमा मेरो लिपिस्टकको दाग खोजिरह्यौ उसको अंगालोमा मेरो पर्फ्युमको सुगन्ध खोजिरह्यौ अनि खोजिरह्यौ मोबाइल र ल्यापटपमा म...


