Saturday, July 31, 2021

कोरोना कहर



एकाएक शरिरको तापक्रम बढे जस्तो लाग्यो । जेष्ठको घाम अझै सेलाएको छैन । ओढेको पातलो पोलार पनि फ्याँकिदिन्छु । टाउको भारि हुन्छ । उठेर पानी पिउँछु र लम्पसार हुन्छु ।

नाक थुनिएको जस्तो भएर सास फेर्न सक्दिनँ र ऐंठनमा ब्युँझन्छु । राम्रोसँग सास तान्न सकिरहेको छु फेरि किन त्यस्तो भो ? सायद तर्कना हुँदो हो । लामखुट्टेको मनोमानीसँग रिस उठ्छ र गुडनाइट प्लगमा घुसारेर फेरि पसारिन्छु ।


एकाएक एम्बुलेन्स साइरन बजाउँदै अाउँछ । उठ्न खोज्छु हातगोडा चल्दै चलेनन् । सेतो पहिरनमा आएका मान्छेको अाकृति जस्तो छायांले उचालेर एम्बुलेन्समा राखे । प्रतिवादमा न बोली फुट्यो न हातगोडा नै चलाउन सकेँ । मेरो बचाउमा न एउटै कोठामा सुतेकी बहिनी निस्की न पल्लो कोठाबाट बा अामा नै । बेस्सरी रुन खोजेँ ,आवाज अाएन आँसु मात्रै बग्यो ।


होशमा आउँदा नाकमा पाइप घुसारिएको रहेछ । नाडीमा सलाइन चढाइराखेको । अँध्यारो कोठा,  भेन्टिलेटरको सुसाहट । सन्नाट्टामा मृत्युले अट्टहास गरिरहेझैँ देखेँ । सम्झनामा आँखाले देखेका , हृदयले महशुस गरेका सबै एक एक गरेर अाउन थाले । सबैभन्दा बढि याद बालापनको आयो । बुबाले काखमा राखेर दाह्री दल्दै खाएको म्वाई , अामाले तोरीको तेलमा मेथी पड्काएर तालुमा ठोकिदिएको । बहिनी जन्मेपछि घरमा छाएको खुसी , थै थै गर्दै आँगनमा डुलाएको पल । स्कुल पढ्दा साथीहरूले चोरेर खुवाएको आँप, लिची ,भकि अमिलो ,अमला । नौ कक्षा पढ्दा रंजिताले  घरमै बनाएर ल्याएको केक कक्षाकोठामै काटेर मनाइदिएको वर्थडे ।

सँगै हिँडे डुलेका साथी संगी । कति हो कति यादको पहिरो । आइसोलेशन बाहिरबाट चियाइरहेका आँखाहरुमा निकैबेर खोज्दा पनि ती  आँखाहरु भेटिएनन् । जुन आँखाहरु मलाई प्रेमको दिलाशा दिन्थे र बाँच्न प्रेरित गर्थे । त्यसपछि चेत हरायो ।


एक्कासी आँखामा तिरमिराउने ज्योति अायो र जुरुक्क उठ्न खोजेँ । आँखा त सावन भएका रहेछन् । छेउमा बसेर आमा आँसु पुछिदिँदै रहेछिन् । बहिनीले पानी दिई । आफैँलाई चिमोटेँ हजारपल्ट र एकिन गरेँ , म ठिकठाक रहेछु ।

उफ् कस्तो कायरता मृत्युप्रति । मृत्यु जिवनको अन्त्य हो कि पूर्णता ? कस्तो असमञ्जस्यता हो यो ।  बस् तर्कना र सपनाले कहाँ कहाँ पुर्याएछ ।

डायरी


 एकाएक बदलिएको उसको मन प्रति कटाक्ष पोख्दै मैले भनेँ " तिमीलाई मेरो मायामा विश्वास थिएन भने, तिमीलाई मेरो शरिरसँग मोह थिएन भने किन रात बिताउन दियौ ?"

ओठका कापहरु बाट बहादुरी फुत्काएर उसले भनेको थियो " पानीको कुवामा पुगेपछि तिर्खा नभए पनि अलिकति प्यास त जागिहाल्छ नि शाब्दिका , तिमी यसलाई विषय नबनाउ न" 

अनि यहि विषय कहिल्यै निको नहुने छातिको घाउ बनेको छ शब्द ।

Friday, July 30, 2021

डायरी

 

एउटा साधारण क्याफे । ऊ बसेको छ । म असजिलो सँग उभिएको छु छेउमा ।सँगै बस्न किन किन मनले मानेको छैन । चियाको चुस्की लिँदै उसले भन्यो ,दुईचार महिना हो गाह्रो हुने त्यसपछि तिम्रो जिवनमा पनि कोही अाउँछ अनि तिमीले बिस्तारै बिर्सने छौ ।"

यो ऊ बोलेको थिएन । भर्खरै भर्भराउँदै गरेको उसको नयाँ सम्बन्ध बोल्दै थियोे ।
चियाको कप र प्लेटको टकरावले फेरि झस्किएँ म । ऊ भनिरहेको थियोे " जिन्दगी छोटो छ ,दुखी भएर बाँच्न हुन्न तिमीले यो सब सहज स्विकार्नु पर्छ ।"
छेउको अर्को टेबलमा एक जोडी स्कुले बालबालिका अाए । दुवैको रंग कालो थियो ।पुक्क परेका गालाहरुमा खोपिल्टा पारेर हाँस्दै थिई सानी केटी । यत्तिकैमा यी दुई कसको अायु लामो छ भनेर विवाद गर्न लागे , सानी केटीले हात उचालि र फुच्चे केटाले पनि हात उचालेर अाफ्ना दुई हत्केला फुच्चीका हत्केलामा टाँस्यो । केटोका हत्केलामा केटिको हात विलायो र सानी केटी आँखाभरि आँसु पारेर कोल्टे फेरि । फुच्चे केटाले सोध्यो  "किन रोयौ ? "
सानी केटीले आँसु पुछ्दै भनी "म मरेपछि तिमी अर्को बिहे गर है " !
मलाई बालख प्रेमले फेरि टुक्राइदियो । उनीहरु मृत्युपछिको वियोगान्त कल्पना गरेर रोए ऊ जिउँदैमा मारेर खुसी खोज् भनिरहेको छ । प्रेम भन्नू पनि त केही रहेनछ ।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...