Friday, July 30, 2021

डायरी

 

एउटा साधारण क्याफे । ऊ बसेको छ । म असजिलो सँग उभिएको छु छेउमा ।सँगै बस्न किन किन मनले मानेको छैन । चियाको चुस्की लिँदै उसले भन्यो ,दुईचार महिना हो गाह्रो हुने त्यसपछि तिम्रो जिवनमा पनि कोही अाउँछ अनि तिमीले बिस्तारै बिर्सने छौ ।"

यो ऊ बोलेको थिएन । भर्खरै भर्भराउँदै गरेको उसको नयाँ सम्बन्ध बोल्दै थियोे ।
चियाको कप र प्लेटको टकरावले फेरि झस्किएँ म । ऊ भनिरहेको थियोे " जिन्दगी छोटो छ ,दुखी भएर बाँच्न हुन्न तिमीले यो सब सहज स्विकार्नु पर्छ ।"
छेउको अर्को टेबलमा एक जोडी स्कुले बालबालिका अाए । दुवैको रंग कालो थियो ।पुक्क परेका गालाहरुमा खोपिल्टा पारेर हाँस्दै थिई सानी केटी । यत्तिकैमा यी दुई कसको अायु लामो छ भनेर विवाद गर्न लागे , सानी केटीले हात उचालि र फुच्चे केटाले पनि हात उचालेर अाफ्ना दुई हत्केला फुच्चीका हत्केलामा टाँस्यो । केटोका हत्केलामा केटिको हात विलायो र सानी केटी आँखाभरि आँसु पारेर कोल्टे फेरि । फुच्चे केटाले सोध्यो  "किन रोयौ ? "
सानी केटीले आँसु पुछ्दै भनी "म मरेपछि तिमी अर्को बिहे गर है " !
मलाई बालख प्रेमले फेरि टुक्राइदियो । उनीहरु मृत्युपछिको वियोगान्त कल्पना गरेर रोए ऊ जिउँदैमा मारेर खुसी खोज् भनिरहेको छ । प्रेम भन्नू पनि त केही रहेनछ ।

उन्मुक्ति

 जब तिम्रा आँखाहरु मेरा आँखाहरु छलेर 

दोबाटाहरुमा हराउन थाले

हो त्यसपछि ,फेरि तिम्रो प्रतीक्षा गरिनँ

म निर्दयी ,निष्ठुरी 

किञ्चित म पापीनी होइन 

मैले तिम्रो कसम कुल्चेर हिँडेकी छैन

आऊ आँखामा आँखा जुधाएर जाँचौँ

कसको कति सत्य डगमगाउँछ 

र एउटा अन्तिम फैसला गरौँ 


म अविश्वासको पर्दा उचालिरहेकी छैन

आशंकाको आगो फुकिरहेकी छैन

तिमीभित्रको "म" र मभित्रको "तिमी" माथिको निगरानी 

तिमीलाई कैदीको कयस जस्तो लाग्छ भने 

तिमी उड, मेरो स्पन्दनमा ताल्चा मारिएको छैन

र तिम्रो उडानको पखेटा काटिएको छैन

म तिम्रो बाटोमा तगारो नबनुँला !!


कलियुगकी कुन्ती


तिमी त्यो युगकी कुन्ती होइनौ
जसको अवैध प्रेमको एउटा कहानी लेखियोस्
र युग युगले सम्झना गरिरहोस्
यहाँ त
बिस्तारा सम्मको यात्रा सँगै
प्रेमको आयु सकिन्छ र नजन्मिँदै सहिद हुन्छन्
कलि युगका कर्णहरु
कलिलो पाठेघर क्षतविक्षत बनाएर
हुर्काएको प्रेमको चिनो
सिस्नु र बाँसघारीका झाङमा लगेर
फ्याँक्न पनि हिम्मत चाहिन्छ
उ युगकी कुन्तीले त नदिमा बगाइदिनु पर्यो
छातिमा टाँसेर वात्सल्य पोख्न सकिनन्
तर म तिनको कायरतालाई थुक्छु
बरु यहाँका सडक सडकमा भेटिने
बौलाहीहरु बहादुर लाग्छन्
घर बिर्सिए, समाज चिनेनन्
देश छैन , अधिकार छैन
र पनि कत्ति मिठो मातृप्रेम छ
उसको नाङ्गो छाति
कत्ति पनि अश्लील देखिन्न
किनकि
त्यहाँ वात्सल्यताको वस्त्र छ
अन्धकारको छायांमा उत्तेजनाको पानी पोखेर हिँड्ने
महापुरुषलाई आफ्नै अनुहारको खाते केटो देख्दा
अाङ्ग सिरिङ्ग हुन्छ कि हुँदैन ?
विलासिताको घमण्डले,
मान्छे नभएरै मान्छे हुनुको घमण्डले
जात ,धर्म ,वर्ण र वर्गको घमण्डले
कहाँ पुर्याउँछ समाज
कहाँ पुर्याउँछ युग
एकले अर्कालाई हुत्याउँदा हुत्याउँदै
आफू पनि हुत्तिन के बेर
सांसारिकता जलेर एकैचोटि खरानी पनि भइहाल्दैन
फेरि टुटे फुटेका सम्बन्धहरु
नाता र निशानीहरु
उस्तै बनाउन ,दिगो र सिंगो बनाउन
अरु धेरै युग पर्खनुपर्छ
तिमी आँखा चिम्लेर हाम नफाल
मृत्युको पनि मापदण्ड हुन्छ
गहिराइ र उचाइ नाप्न भए पनि आँखा खोल
गोडा लतारेर हिँडेपछि ठेस लाग्नु स्वभाविक हो
जानेर लागेको ठेस कम दुख्छ
आफ्नी प्रेमिका अर्ध वस्त्र
चोक चोकमा बहुलाएर हिँडेको हेर्न सक्नु
आफ्नो प्रेमी निर्वस्त्र
गल्ली गल्ली भौँतारिएर बाँचेको हेर्न सक्नु
यो समयको, प्रेममा भरिएको विषको घडा हो
कोहि पिएर पनि बाँच्छन्
कोहि नपिए पनि जिउन सक्दैनन्
तिमी त्यो युगकी कुन्ती भएर
प्रेमपान नगर
सूर्यको किरणभन्दा छिटो झर्ने
पुरुषको वीर्य आफुमा लीन नगराऊ
त्यो प्रेम होइन वासना हो
स्खलित उत्तेजना सँगै
शिथिल हुने प्रेमले सन्तुष्टि दिने छैन र तिमी
पगली भएर
बहुलाही भएर
मठ मन्दिर ,देवालय, सत्तल ,पाटी ,पौवा
कुना काप्चा जताततै बलात्कृत हुने छौ
हर दिन ,हर रात
त्यहाँ न तिम्रो जात चाहिन्छ , न रुप न रंग न वर्ग
न चाहिन्छ तिमीलाई सन्तान जन्माउन वैधानिक लोग्ने
या वैधानिक कानुन
कसैले प्रश्न गर्ने छैनन् तिमीलाई
"तिम्रो बच्चाको बाउ कुन हो ?
तिम्रो बच्चाको जात कुन हो ?"
सोधे पनि के
तिमी कि हाँसिरहनेछौ, कि रोइरहनेछौ
कि ढुंगा टिपेर लखेट्ने छौ अलि परसम्म
फेरि उहि नियति , उहि प्रहार
उहि दुखाइ ,उहि कठोरता !!
म मान्दिन रामको आदर्श
बरु प्रेमको सच्चा भक्त हो रावण
प्रेमले कुमारी योनी खोज्दैन
यो भन्दा ठुलो उदाहरण कुन हुन्छ ?
यदि रावणको प्रेममा सीताको चरित्र हुन्न थियो भने
अपहरण ,अपहरण हुने थिएन
प्रेमको उत्सव हुने थियो
तिमी यो युगकी सीता
अग्नि कुण्डमा हाम फालेर
आफ्नो सतित्व सावित गर्न सक्दिनौ
छातिको अाकार नबढ्दै
ब्वाँसाहरुको सिकार भइसकेकी तिमीलाई
अग्निले पनि साथ दिने छैन
यौवनको अागो निभाउन
प्रेमको तेल नथप
तिमी आफैंमा एउटा शक्ति
आफैंमा एउटा संसार
खण्डहर बनाएर धरतीलाई श्राप नदेउ
धरतीले पनि किसिम किसिमका जीव जन्माएको छ
आकाशले पनि किसिम किसिमका पिण्ड बोकेको छ
तिमी धरती बन
आकाश बन
आमा बन
अनि नारी बन !!

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...