Wednesday, October 27, 2021

देउता र मान्छे



एउटा आदिम युग थियो 

जहाँ देवताहरु मान्छे बनाउँथे 

र एउटा यो युग जन्मियो

जहाँ मान्छे स्वयम् देवता बनाउँछ 

म अल्मलिन्छु 

मेरो अल्पज्ञान अल्मलिन्छ 

देवताले मान्छे बनायो 

या मान्छेले देवता ? 


मैले गर्भमै चिनेको हुँ 

आमाले ढोग्दै हिँडेका ढुंगा ढुंगामा कुँदिएका 

प्रतिमाहरुमा उतारिएका 

भिमकाय, जादुमय ,तिलस्मी ,रहस्यमय

अजंगका , चटक्कका भगवानका स्वरुपहरु

तुलसीमा ,पारिजातमा, पिपलमा 

अनि जूनको छातिमा बसेको

कालो दागमा भएको भगवानलाई पनि 


मलाई अझै याद छ 

आमाको पिठ्युँमा पछ्यौराले बेरिएर 

ठहिँटी ,हनुमानढोका ,गणेस्थान,भद्रकाली 

पशुपति र स्वयम्भूका कति हो कति 

भगवानको घर घुमेको

कति कति पटक

मन्दिरको घण्टामा ठोकिएर लडेको

कति कति पटक 

पाइलैपिच्छे पुजिएका ढुंगाको टीका 

निधारमा दल्न नपाएर लडिबुडि गरेको

र पनि 

केही यादहरु ,केही सम्झनाहरु 

सतहमा लागेको घाउको खत जस्तै 

मेटिएर जाँदा रहेछन् , विस्तारै …


म पुज्छु ढुंगा ,

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि

ढुंगामा अनुबन्ध गरेर 

लाटो बनाइएको देवता

न बोल्छ न विष वमन गर्छ

मलाई यहि विशेषता विशेष लाग्छ

र लाग्छ आमाको श्रद्धामा विश्वास 

नबोलोस् कहिल्यै 

नखोलोस् सत्य 

लुकाइरहोस् रहस्यको गर्भमा 

म पुज्छु ढुंगा 

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि !!




No comments:

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...