Wednesday, October 27, 2021

देउता र मान्छे



एउटा आदिम युग थियो 

जहाँ देवताहरु मान्छे बनाउँथे 

र एउटा यो युग जन्मियो

जहाँ मान्छे स्वयम् देवता बनाउँछ 

म अल्मलिन्छु 

मेरो अल्पज्ञान अल्मलिन्छ 

देवताले मान्छे बनायो 

या मान्छेले देवता ? 


मैले गर्भमै चिनेको हुँ 

आमाले ढोग्दै हिँडेका ढुंगा ढुंगामा कुँदिएका 

प्रतिमाहरुमा उतारिएका 

भिमकाय, जादुमय ,तिलस्मी ,रहस्यमय

अजंगका , चटक्कका भगवानका स्वरुपहरु

तुलसीमा ,पारिजातमा, पिपलमा 

अनि जूनको छातिमा बसेको

कालो दागमा भएको भगवानलाई पनि 


मलाई अझै याद छ 

आमाको पिठ्युँमा पछ्यौराले बेरिएर 

ठहिँटी ,हनुमानढोका ,गणेस्थान,भद्रकाली 

पशुपति र स्वयम्भूका कति हो कति 

भगवानको घर घुमेको

कति कति पटक

मन्दिरको घण्टामा ठोकिएर लडेको

कति कति पटक 

पाइलैपिच्छे पुजिएका ढुंगाको टीका 

निधारमा दल्न नपाएर लडिबुडि गरेको

र पनि 

केही यादहरु ,केही सम्झनाहरु 

सतहमा लागेको घाउको खत जस्तै 

मेटिएर जाँदा रहेछन् , विस्तारै …


म पुज्छु ढुंगा ,

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि

ढुंगामा अनुबन्ध गरेर 

लाटो बनाइएको देवता

न बोल्छ न विष वमन गर्छ

मलाई यहि विशेषता विशेष लाग्छ

र लाग्छ आमाको श्रद्धामा विश्वास 

नबोलोस् कहिल्यै 

नखोलोस् सत्य 

लुकाइरहोस् रहस्यको गर्भमा 

म पुज्छु ढुंगा 

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि !!




ब्ल्याक होल





वर्षौपछि भेटिएको उसले मेरा आँखाहरु बाट उसका आँखाहरु हटाएर भन्यो " साला आइमाईहरु ब्ल्याक होल रहेछन् , मेरो जीवनको मान सम्मान, पद प्रतिष्ठा पैसा सबै सबै त्यहि प्रेमको ब्ल्याक होलमा गुमनाम भो"

मैले उसको आँखामा आँखा अड्याउने कोसिस गरेर भनेँ " प्रेम होइन यौन भन , प्रेमले कसैलाई लुट्दैन ,रित्याउँदैन ।" 

मुर्मुरिएर ऊ पड्क्यो," यो प्रेम किन स्त्री जाति सँगै हुन्छ ?"

मैले हाँसो थेग्न सकिनँ …………

वरपरका मान्छेहरु हामी तिर केन्द्रित भइसकेछन् ।

एकछिन पछि मौनता चिर्दै मैले भनेँ " म को हुँ ?" 

ऊ अकमक्क पर्यो र भन्यो "किन सोधेको ?"

"भनन म को हुँ ?"

"सजल"

"मात्रै "

ऊ बोलेन । 

" प्रेम थिएन र हाम्रो ?"

यौन सम्बन्ध नभएको हो त ?"

"भन के के गुमायौ तिमीले मबाट ?" 

पद ? 

प्रतिष्ठा ? 

पेशा ? 

पावर ? 

पैसा ? 

के गुमायौ ? 

प्रेमको ब्ल्याक होलमा मात्रै मन फस्छ र हराउँछ डियर ,भौतिक कुराहरु होइन ।"


जीवन




 एकाएक बदलिएको मौसम 

र मान्छेको मनसँग

म थाकिसकेँ 

प्रश्न गर्दागर्दै 

र जवाफ खोज्दा खोज्दै

सबै प्रश्न जायज हुँदैनन् 

र हुँदैनन् सबै जवाफहरु सत्य 

म प्रश्नहरुभन्दा पर……

जवाफहरु भन्दा पहिले 

खोज्नेछु आफ्नै मन

र लगाउनेछु लगाम

नजाओस् उडेर कतै 

चुँडिएको चङ्गा जस्तो मनमौजी भएर 

हावाको वेगसँगै अपरिचित रुखको हाँगामा

बेवारिसे भएर तुन्द्रुङ्ग झुण्डिन

जसरी तिमीमा अल्झेर 

न भुइँको न रुखको भएको छ जीवन !!

उपहार




 मसँग पनि छन् 

पिडाका पहाड

बोकी नसक्नु पीरको भारी 

सहि नसक्नु ,खपि नसक्नु 

दुखाइका आर्तनादहरु 

अलिकति ईष्र्याले साँघुरिएका अनुहार 

अलिकति अहमताले तन्किएका छातिहरु 

खुचिङ 

बल्ल खाइस् भन्नेहरुको हुलमा 

फेरि पनि एक्लै छोड्यौ 

र छन् एक्लोपन 

र उदासिका सुस्केराहरु

बस्  छैन त केवल

क्लोनाजका ट्याबलेटहरुमा किनिएको 

कृत्रिम निन्द्रा 

र म वेचैन छु यसरी 

मलाई मेरो वेचैनीसँग गुनासो छैन

यो त तिमीले दिएको 

अमिट उपहार हो मेरो !!

मातृ सुख

 



होश सम्हाल्न सक्ने भए देखि लोग्नेमान्छेले महिलामाथि गर्ने कुनै पनि व्यवहार प्रेमपूर्ण देखिनँ, यतिसम्म कि मेरो चाहना विपरीत बुबा आमाको इज्जत राखिदिनको लागि आफुलाई विवाहको मण्डपमा बलि चढाएँ  । 

गाउँभरिका पुरुषहरु कि त तासको खालमा भेटिन्थे कि जाँडको तालमा । घरका आमा श्रीमतीले पालेका लैना गाई भैँसीको दूध बेचेको पैसाले न घरका रङ्ग फेरिन्थ्यो न कहिल्यै नुनतेल नै आइपुग्थ्यो ,तैपनि दुख गर्ने दिदी ,भाउजुहरु प्रति सहानुभूति पोख्नु बाहेक म आँसु पुछिदिन सक्दैनथेँ । दिनै जस्तो आँखाको डिलमुनि निलो दागमा भेटिने उजेली भाउजुको अनुहार कहिल्यै उज्यालो देखिनँ । यस्तै पीडामा पहेँलिएका महिलाको दैनिकीले मलाई विवाहको रहर पलाएन । मभन्दा मुनिका तीन बहिनी बिकाउन पनि मैले बिहे गरिदिनु थियोे , उमेर र रोगले जीर्ण बुबाको मलाई आफ्नै हातले यो घरबाट अन्माउने ईच्छा मैले मार्न सकिनँ र आफ्नै ईच्छाको दागबत्ती दिएँ । जाँडे र जुवाडे लोग्नेमान्छे मात्रै देखेको मेरो मस्तिष्कमा पुरुषको परिचय नै त्यत्ति त बनेको थियो ,,सोचेँ जिन्दगी लामो हुने भयो ।

एक किसिमको अत्यास भरिएको थियो मनमा, मलाई केटो हेर्नु के थियो र, हेरे पनि मन परेन भन्ने हक थिएन ।हेरिनँ, देख्ने साथी संगीले भने "तिमीलाई सुहाउँदो छ, राम्रो …………यति राम्रो पोइ त यसपालि कसैलाई परेको छैन " ।

"हेर्दा राम्रो भएर हुन्छ र ,ताल उहि त हो नि सबैको " अर्की शंका बोल्छे । 

हो ,ऊ राम्रो रहेछ

सबैभन्दा ठुलो उपलब्धि ऊ जाँड छुँदैन थियो , तास खेल्दैन थियो अनि रण्डिबाजी उसको विषय थिएन ।

एक प्रकारले नसोचेको लोग्ने परेको हो , जिन्दगी छोटो जस्तो लाग्न थाल्यो ।


समय बित्दै गयो , म असलमा असल लोग्ने पाएर पनि खुसी हुन सकिनँ ,म आमा भइनँ ,म पूर्ण नारी हुन पाइनँ, एकै साल बिहे गरेका साथीका छोराछोरी स्कुल पढ्छन् ।बहिनीका छोराछोरी हुर्किसके । उनीहरुका लोग्ने जाति छैनन् , दुखले हाडछाला मात्रै भएका छन्, लोग्नेको झम्टाइ र पिटाइले खाएको पनि ज्यानमा लाग्दैन ।

राति अबेर आउँछन्  अगेनामा सेलाएको भात भन्दा बढि चिसा स्वास्नी गिजल्छन् र बिहान चिया नपाक्दै भट्टिको तातो तोङ्बा सुर्क्याउन पुग्छन् ।


उफ् मलाई ईर्ष्या लाग्छ ,जँड्याहा लोग्नेको, कमसेकम मातृसुख त दिएको छ ।

तिमी


 स- साना कुराहरुमा खुसी हुन सिकेँ - तिमीसँग

स- साना कुराहरुमा दुख्न सिकेँ - तिमीसँगै 

अकारण रिसाउन सिकेँ स साना कुरामा 

र फकाउन सिकेँ तिमीले जस्तै 

जब तिमी 

ठूलो चोट दिएर गयौ 

सम्हालि नसक्नु पीडा दिएर गयौ 

सकिनँ तिमी जस्तो हुन

सकिनँ तिमी जस्तै खुसी हुन

र सकिनँ मेट्न

तिम्रो नाउँमा लागेको दाग

अनमोल छ मलाई तिम्रो उपहार

कुनै समय यहि बाटो भएर फर्कियौ भने

दुनियाँको प्रहारले थिलथिलो भएको 

आफ्नै प्रेम सम्झेर 

नचुकचुकाउनू तिमी !!

प्रेमVsसिन्दुर


 तिम्रो नामको सिन्दुर कुर्दाकुर्दै 

मेरो सिउँदोको उमेर बित्यो 

तिम्रो नामको पोते पर्खँदापर्खँदै

पोतेको झुत्तोले पिङ खेल्ने 

वक्षको बैँस सकियो 

तिमीले पहिराइदिए मात्रै

तिम्रो हुन पाउने

तिमीले भित्राइदिए मात्रै 

तिम्रो घरकि हुने ??

महोदय, 

भनन ,म तिमीलाई मेरो बनाउन के पहिराऊँ

कहिलेसम्म गरुँ प्रतीक्षा 

चिम्टी सिन्दुरको ?

चाहन्छौ नि तिमी ,

प्रेमले छोओस् , आलिंगनमा बाँधोस् 

समर्पणले भरिएर पोखियोस् 

र चाहन्छौ 

तिम्रो अनुकूलता पर्खिएर 

तिम्रो आवश्यकता पर्खिएर

तिम्रो अहम र आवेगको बलि भएर

तिम्रो बनुँ ………बनिरहुँ 

कहिलेकाहीँ त लाग्छ 

तिमीसँग जिस्कँदा जिस्कँदै 

आफुलाई अामा बनाऊँ

र तिमीलाई अपनाऊँ

आफ्नो रगतको प्रेमले

आफ्नो वीर्यको सम्मोहनले

तिमीलाई मेरो बनाओस् 

र मैले एक चिम्टी सिन्दुर कुरेर 

कपाल फुलाउन नपरोस् 

यो बच्चा तिम्रो हो भनेर

गर्न नपरोस् परिक्षण

लगाउन नपरोस् तिम्रा 

प्रेमिल पाखुरामा हतकडी 

तिमीलाई यसरी अपनाउन 

अझै कति शताब्दी प्रतीक्षा गरुँ प्रिय ??

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...