Tuesday, November 16, 2021

भुइँ कुहिरो र पैयूँ फूल


 


भुइँ कुइरो फुलेर बस्ती ढकमक्क फुलेको छ

कुहिरोभित्र उस्तै मोहक देखिएका  छन् 

पैँयुका गुलाबी बोटहरु

ठुलो रुखमा फुलेका स साना फूलहरु 

शीत सँगै झरिरहेछन् मेरो हत्केलामा

यसरी चिसो फूलको स्पर्शले 

मलाई पुलकित बनाइदिन्छ र 

एकाएक तिमीलाई खोज्न थाल्छु


तिमी यिनै पैँयुका फूलहरुझैँ 

एक याम आयौ

र अलप भएर गयौ भुइँ कुहिरो जस्तै 

न बाँधेर राख्न सकेँ 

न सजाउन सकेँ 

भुल या भ्रम पो थियौ कि 

कहिल्यै खोतल्न चाहिनँ

बस् मिठो अनुभूति नमिठो गरि निलिरहेँ


तिमी आउनु ,जानू या हराउनुमा 

कुनै गुनासो गरिनँ

किनकि तिमी नियोजित आएका थिएनौ 

र योजना बनाएर गएका पनि होइनौ 

नियति यति बलियो भएर रह्यो कि

तिमीसँग अर्को यामको 

याचना गर्न पनि सकिनँ


जहाँ छौ ,

तिम्रो संघारमा खुसीको घाम उदाओस्

घाम त यहाँ पनि उदाएको छ 

सँगसँगै उदाएको तिम्रो चिसा यादहरुले

आँसुको बुँद ओभाउन दिएनन् 

र म भिजेको पुतली भएँ

उड्न सकिनँ !!


Wednesday, October 27, 2021

देउता र मान्छे



एउटा आदिम युग थियो 

जहाँ देवताहरु मान्छे बनाउँथे 

र एउटा यो युग जन्मियो

जहाँ मान्छे स्वयम् देवता बनाउँछ 

म अल्मलिन्छु 

मेरो अल्पज्ञान अल्मलिन्छ 

देवताले मान्छे बनायो 

या मान्छेले देवता ? 


मैले गर्भमै चिनेको हुँ 

आमाले ढोग्दै हिँडेका ढुंगा ढुंगामा कुँदिएका 

प्रतिमाहरुमा उतारिएका 

भिमकाय, जादुमय ,तिलस्मी ,रहस्यमय

अजंगका , चटक्कका भगवानका स्वरुपहरु

तुलसीमा ,पारिजातमा, पिपलमा 

अनि जूनको छातिमा बसेको

कालो दागमा भएको भगवानलाई पनि 


मलाई अझै याद छ 

आमाको पिठ्युँमा पछ्यौराले बेरिएर 

ठहिँटी ,हनुमानढोका ,गणेस्थान,भद्रकाली 

पशुपति र स्वयम्भूका कति हो कति 

भगवानको घर घुमेको

कति कति पटक

मन्दिरको घण्टामा ठोकिएर लडेको

कति कति पटक 

पाइलैपिच्छे पुजिएका ढुंगाको टीका 

निधारमा दल्न नपाएर लडिबुडि गरेको

र पनि 

केही यादहरु ,केही सम्झनाहरु 

सतहमा लागेको घाउको खत जस्तै 

मेटिएर जाँदा रहेछन् , विस्तारै …


म पुज्छु ढुंगा ,

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि

ढुंगामा अनुबन्ध गरेर 

लाटो बनाइएको देवता

न बोल्छ न विष वमन गर्छ

मलाई यहि विशेषता विशेष लाग्छ

र लाग्छ आमाको श्रद्धामा विश्वास 

नबोलोस् कहिल्यै 

नखोलोस् सत्य 

लुकाइरहोस् रहस्यको गर्भमा 

म पुज्छु ढुंगा 

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि !!




ब्ल्याक होल





वर्षौपछि भेटिएको उसले मेरा आँखाहरु बाट उसका आँखाहरु हटाएर भन्यो " साला आइमाईहरु ब्ल्याक होल रहेछन् , मेरो जीवनको मान सम्मान, पद प्रतिष्ठा पैसा सबै सबै त्यहि प्रेमको ब्ल्याक होलमा गुमनाम भो"

मैले उसको आँखामा आँखा अड्याउने कोसिस गरेर भनेँ " प्रेम होइन यौन भन , प्रेमले कसैलाई लुट्दैन ,रित्याउँदैन ।" 

मुर्मुरिएर ऊ पड्क्यो," यो प्रेम किन स्त्री जाति सँगै हुन्छ ?"

मैले हाँसो थेग्न सकिनँ …………

वरपरका मान्छेहरु हामी तिर केन्द्रित भइसकेछन् ।

एकछिन पछि मौनता चिर्दै मैले भनेँ " म को हुँ ?" 

ऊ अकमक्क पर्यो र भन्यो "किन सोधेको ?"

"भनन म को हुँ ?"

"सजल"

"मात्रै "

ऊ बोलेन । 

" प्रेम थिएन र हाम्रो ?"

यौन सम्बन्ध नभएको हो त ?"

"भन के के गुमायौ तिमीले मबाट ?" 

पद ? 

प्रतिष्ठा ? 

पेशा ? 

पावर ? 

पैसा ? 

के गुमायौ ? 

प्रेमको ब्ल्याक होलमा मात्रै मन फस्छ र हराउँछ डियर ,भौतिक कुराहरु होइन ।"


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...