Sunday, August 29, 2021

सुन्दरताको विज्ञापन

 


महिला सशक्तीकरण र समताका बहस भइरहँदा हिजो र आजको समाज व्यवस्था र सामाजिक आचरणहरुमा आमूल परिवर्तन नआएको होइन । जैविक रुपमा महिला र पुरुषको संरचना फरक छ । प्रकृतिले जुन चीज महिलालाई दिएको छ त्यो पुरुषलाई दिएको छैन र जुन कुरा पुरुषलाई दिएको छ त्यो महिलालाई दिएको छैन । आफुसँग नभएका कुराहरुसँग सहकार्य गर्नुपर्ने भएर नै महिला र पुरुषको सम्बन्ध शारीरिक ,मानसिक र सामाजिक  रुपमा पनि आदिम युगदेखि अनित्य रहिआएको छ ।  महिला र पुरुषको प्राकृतिक आकर्षणले शारीरिक सम्बन्ध मात्रै हुन्थ्यो र त्यसमा भावनात्मक संवेगले काम गर्दैन थियो भने यो सृष्टि चक्र यहाँसम्म आइपुग्ने नै थिएन । तर ……… आधुनिक समाजमा भावनात्मक उर्जा सकिँदै गयो र अहंकारको जालो फैलँदै जान थालेको छ ।

आधुनिकता र स्वतन्त्रताका नाममा चर्का चर्का बहस गर्ने कोटीका महिलावृन्दहरु एक लाइकका लागि विज्ञापनको प्रसाधन बनिदिन्छन् । के महिलाले अझै पनि शारीरिक सुन्दरताका लागि प्रतिस्पर्धा गरिरहने हो  ? के महिलासँग वैचारिक बहसमा उत्रन तर्क छैन ,क्षमता छैन ? राज्यसँग आरक्षणको लागि कहिलेसम्म कोटा मागिरहने ? हाम्रो क्षमताले हामीले उच्च स्थान प्राप्त गर्न अझै कति पुस्ता पर्खिनु पर्छ ? 

उमेर पुगेपछि बिहे गरिदिनु पर्छ ,बच्चा जन्माइदिनु पर्छ ……… थोरैले रहरले वैवाहिक सुख हासिल गरेको हुन्छन् , अझ मातृ सुख त अनुभवहीन भइदिन्छ कामकाजी महिलाको । भुइँ नदेखिने पेट हुँदा पनि अफिस जानुपर्छ , फिल्ड हेर्नुपर्छ । त्यसमाथि लोग्नेको पसिनामा आहाल बसेका आइमाईहरुको वचन सुन्नुपर्छ " अब त पोइको कमाई खाएर बस्ने बेलामा कति लोभ गरेको पैसाको ? " हाय रे दुनियाँ आफ्नो परिश्रमको एक हजार पनि पोइले खटाएर दिएको दस हजारभन्दा कति मुल्यवान हुन्छ भन्ने अर्काको कमाइमा रजाइ गर्नेहरुले कसरी बुझुन् । 

बच्चा जन्मिएपछि ज्यान तङ्ग्रिन नपाउँदै जागिर जोगाउने दौडधुप सुरु हुन्छ । दिनभरि गान्निएका स्तन र भोकाएको शिशुको ब्यालेन्स मिल्दैन र सुरु हुन्छ फेरि अर्को तिक्तता ………

यस्तो समाजसँग संघर्ष गर्नुपर्ने हामीलाई चिन्ता चाहिँ लिपिस्टिकको कलर र क्रिमको क्वालिटीको हुन्छ । पहिरनका डिजाइन र श्रृङ्गार प्रसाधनको हुन्छ  ।  भित्रबाट सुन्दर र शिष्ट बनाउनको लागि पनि कुनै प्रोडक्ट हुन्थ्यो भने मलाई लाग्छ त्यहाँ कुनै महिलाको होडिङ बोर्ड बन्ने छैन । किनकि आजसम्म महिलाहरुलाई शारीरिक सुन्दरताकै घमण्ड छ र पुरुषले त्यसको भरपुर प्रयोग गरेको छ । यहाँ विज्ञापनमा सुन्दरता हुँदैन ,सुन्दरताको विज्ञापन हुन्छ । 

Monday, August 2, 2021

डायरी- विमर्श


 जिन्दगीले भोगेका धेरै कुराहरु डायरीमा उतार्न सकिन्न । हामी आफ्नो लागि कम र अरुको लागि धेरै होशियार भएर बाँच्ने कोसिस गर्छौं । आफुलाई के हुन्छ भन्दा बढि अरुले के सोच्छन् भन्ने कुराले हाम्रो दिमागमा यसरी जाल बुनेको हुन्छ कि चाहेर पनि त्यो जालो बाट हामी मुक्त हुन सक्दैनौं । मैले धेरै पटक आफ्नो डायरी च्यातेको छु र जलाएको छु । के मेरा दैनिकी त्यति लज्जास्पद थिए ? के मेरा अभिव्यक्ति त्यति अस्विकार्य थिए ? कसैले पढ्न नहुने ,नसक्ने कुराहरु के लेखेँ मैले ? किशोरी उमेरमा आउने धेरै भावनाहरु मैले संगालेर राख्न सकिनँ ,जानिनँ । म काँचो थिएँ र मलाई डर लाग्थ्यो मलाई पढेर के भन्लान् ।  मन हो , मनमा राम्रा नराम्रा सबै किसिमका भावहरु आउँछन् ,विचारहरु आउँछन् र तरंग फैलाउँछन् । हामी हुर्किएको वातावरण अनुकूल हामीमा यति धेरै लगाम लगाइन्छ कि हामीलाई हाम्रा उमेरले दिएका अनुभवहरु लेख्ने हक सम्म छैन । हामी कुन मानसिकतामा बाँचिरहेका छौँ अझै ? 

हामीलाई हाम्रो समाजले कुन स्तरको बनाउन चाहन्छ ? समाज तपाईं ,हाम्रै सम्मिश्रण होइन र ? 

समाजमा व्याप्त अनैतिकता , अव्यावहारिकता जस्ताको त्यस्तै विकास गरेर एउटि छोरीको ,एउटी किशोरी ,एउटी यौवनाको डायरी जलेर खाग हुँदैमा समाज सभ्य हुन सक्दैन । यसले कुण्ठाको बाटो डोर्याउँछ र समाजलाई अझै भत्काउँछ ।

म तिनै च्यातिएका र जलाइएका डायरीका किस्साहरु सम्झने यत्न गर्दैछु ।

डायरी


 कहिलेकाहीँ साना चोटहरुको पीडा ठुला चोटहरुले पुरिदिन्छ  । ऊ मेरो जीवनको त्यहि ठुलो घाउ बन्यो जसलाई सानो चोटको पीडा सहन नसकेर आफैंले आफैंलाई दुई चिरा बनाउन पुगेँ । जब ठुलो चोट लाग्यो ,सानो चोटको दुखाइ महसुस नै भएन । मलाई थाहा थियो ऊ मेरो गन्तव्य होइन ,प्राप्ति होइन र प्रेम पनि होइन । फेरि पनि ऊ आदत बन्यो ,लत बन्यो  । त्यो अादतको खत उहि थियोे ,त्यो लतको जिम्मेवार उहीँ थियो । विडम्बना अपजसको तितो गोली म एक्लैले निलेँ । बेमानीको तुच्छ आरोप म एक्लैले थेगेँ । वियोग र वेदनाको पहिरोमा म एक्लै पुरिएँ । आँसु र पिडाको दलदलमा म एक्लै भासिएँ । मलाई मन्जुर छन् मेरा अञ्जान कसुरहरुको सजाय ,मलाई मन्जुर छ मेरा अविवेकी निर्णयका परिणाम । तर म उसका जालिम हर्कतहरुलाई के गरुँ ? 

मलाई यी हरफहरु लेखिरहँदा कुनै ग्लानी हुँदैन " यदि मेरो हृदय र चेतना दुवै मेरो काबुमा रहँदैन थियो भने मलाई उसको हत्यारा हुन कुनै पश्चाताप हुने छैन " 

तर म आलो रगतमा बदला खोज्दिन । म बदला लिन्छु त केवल आफ्नै दृढ संकल्पहरुसँग , जो पटकपटक चिप्लिएर ऊ सम्म पुग्ने कोसिस गरिरहे र आफैंलाई अपमानित गराइरहे । 


एउटा मान्छेको मायाले मात्रै होइन एउटा मान्छेको अपमान र घृणाले पनि जिन्दगीमा धेरै फरक पार्दो रहेछ । चाहेर पनि म घृणालाई प्रेम गर्न सक्दिनँ , यदि सक्छु भने म मानवताभन्दा माथि उठिसकेको हुनेछु । मलाई भ्रमहरुमा , ढोंगहरुमा बाँच्नु छैन । कसैको खुसीको निम्ति गरिएको सानो अभिनयले जिन्दगीको सम्पूर्ण नाप नक्सा नै बदलिएपछि डर लाग्छ सम्बन्धहरुसँग । घृणा जाग्छ सबैभन्दा बढि प्रेमसँग ।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...