Thursday, March 25, 2021

डायरी


 अन्त त मैले कठोर भएर भनेँ " तँ मलाई छोडेर अरुसँग बिहे गर्छस् भने गर् । म तँलाई अरुसँग देख्न सक्दिन । अहिले नै विष खाएर मर्दिन्छु ।" तँलाई पनि सन्चो ,मलाई पनि सन्चो…… 

फोन राखेको पन्ध्र सेकेन्डमा उसले फोन फर्कायो । 

म मर्ने तयारीमा लागेँ । फोन हेरिनँ । मैले राखेको ठाउँमा मेटासिट भेटिनँ । यो संयोग थियो या लेखान्त । उसले फोन गर्न छोडेन । उसले म मरेको हेर्न सक्दैन थियोे । यो मलाई थाहा थियो अनि उसलाई थाहा थियो ,म उसको पीडा देख्न सक्दिन भनेर । फोन उठाएर म बोलिन । एकोहोरो ऊ बोल्यो । बोलिरह्यो  । " तिमीले मर्नु पर्दैन । मर्नु परे सँगै मरुँला । आवेषमा नआउ । म तिम्रै हुँ । " 

कति मिठो झुट बोल्यो उसले । सायद अन्तिम झुट । ऊ झुट बोल्न जान्दैन थियोे । पत्याइदिएँ । कति सजिलै पत्याएछु ,त्यति ठुलो झुट पनि । म खुसीले कोक्किएँ । सँगै हुँदो हुँ त उसको छाति पखालिँदो हो मेरो आँसुले । म मिलनको आँसु रोएँ, म विश्वासको आँसु रोएँ । उसले अल्झिएको डोरीको गाँठो फुकाएको रहेछ । अहिले सम्झँदा लाग्छ ,म त उसको मायामा लाटो भएको रहेछु । बोली छ आवाज छैन । पाइला छ गन्तव्य छैन । उसलाई मेरो आँसुको पाप नलागोस् । मेरा आँखाहरु उसको दुर्गति हेर्न सक्दैनन् । 

त्यो क्षण सम्झेर म अझै पनि कमजोर हुन्छु । प्रेममा जति शक्ति हुन्छ ,त्यसको हजार गुणा बढि कमजोरी पनि हुने रहेछ । यो मेरो व्यक्तिगत अनुभव हो । मेरो महसुस हो । पीडा हो । म कमजोर भएँ ।  मेरो कमजोर समयमा पिठ पछाडिबाट छुरा प्रहार गर्नेहरु नै मेरो साहस बने । प्रेमले पोलेको घाउमा मैले वितृष्णाको आगो फुक्नु पर्यो । यो मेरो बाध्यता थियो । जब जब साना साना कुराहरुमा म कसैको अपनत्व खोज्थेँ र पाउँदैन थिएँ ।दुखि हुन्थेँ । एक किसिमले संसार शून्य लाग्थ्यो । आफ्नो खुसी अरुमा खोज्नु जति मुर्खता अर्को कुनै होइन रहेछ । यति बुझ्न मैले उसलाई गुमाउनु पर्यो । असलमा म उसलाई गुमाएको भन्न सक्तिन र चाहन्न । समग्रमा मैले उसलाई जताततै पाएको छु । पाउनु भनेको आफुसँग हुनु मात्रै पनि होइन ,यदि सँगै भएर पनि आफ्नोपनको महसुस भएन भने । उसका यादहरु लेखेर सकिन्नन् । सम्झेर पनि सकिन्नन्। प्रसंशा गर्नका लागि धेरै गुणहरु छन् । मलाई उसले मुख छाडेको मन पर्थ्यो तर उसले तँ सम्म पनि भन्न जानेको थिएन । नियतिसँग विश्वास छैन । नियतमा खोट लगाउने ठाउँ छैन र पनि मुटुमा घाउ बनाएर गयो । थाहा छैन जिन्दगीले कुन मोड लिन्छ । कहाँ पुर्याउँछ र के के हुन्छ । आज यस्तो हुन्छ , हिजो कहाँ थाहा थियो र ? जहाँ पुगे पनि जसरी पुगे पनि अपलक प्रेमले निहार्न पाऊँ , नि: शब्द  व्यक्त हुन सकुँ । 


Wednesday, March 24, 2021

कहरभित्रको रहर

     मायामा बन्धन नै कहाँ हुँदो रहेछ र कमरेड । तिमीले पखेटा हाल्यौ र गुँड छोड्यौ । मेरो प्रेमले तिम्रा पखेटा काटेर कुँजो बनाउन चाहेन, भलै तिम्रो साथमै रहने चाह नभएको होइन ।  उडानबाट थाकेपछि फर्केर त आउँछौ नि ? तिमीले हाम्रो प्रेमका विरुद्ध उठाएको कदमले पनि मभित्र भएको तिमीप्रतिको अनुराग लर्खराउन सकेन । यो अनुराग कस्तो ? यो मोह कस्तो ? यो प्रेम कस्तो ? अनि कस्तो मान्छेको मन ? तिमीले हृदयले प्रेम गर्यौ या मस्तिष्कले ? प्रेम त गरेको हौ । यदि प्राप्तिको एक धर्सो सिन्दुर साक्षी होइन भने तिमी मेरो हौ र म तिम्रो हुँ । मैले तिम्रा आँखामा छचल्केको न्यास्रो देखेको छु , छातिमा ऐठनको गाँठो देखेको छु । ओठमा उदासीको गीत तिम्रो पनि छ ,मेरो पनि छ । फेरि पनि मुस्कुराउनु जिन्दगी हो । यहाँ आँसुमाथि सहानुभूतिको खोलो बगाउनेहरुको भीड छ । तिनै भीडबाट टाढा भाग्नका लागि पनि एक धर्सो मुस्कान बोकेर हिँड्नु जरुरी भएको छ ।
एउटा प्रेमीले आफ्नो प्रेम जोगाउन गर्नुपर्ने सबै सबै कर्म गरेको हौ , सानै सहि युद्ध त भएकै हो । तिमी योद्धा भएर मैदानमा त उत्रियौ तर यसरी हारेको सिपाही जस्तो पछाडि फर्केर आफ्नो दृढ संकल्प नै भुल्छौ भन्ने चाहिँ लागेको थिएन । यो प्रेमको युद्ध थियो र तिमीमाथि तिमीलाई हराउन अनेकौं अस्त्रहरु प्रयोग भए । प्रेमसँगै हुर्किएको भ्रमलाई ढाल्न नसक्नु मेरो कमजोरी थियोे । जिन्दगीमा भ्रमले जित्यो र प्रेम हार्यो । प्रेम हार्दाको पीडा तिमीलाई थाहा छ र मलाई पनि  । मायाले पोलेको छाति तिमीसँग छ र मसँग पनि  । पहिलो देखि अन्तिम भेट सम्म साटिएका आँसुका फूलहरु न तिम्रो मानस्पटलमा ओइलाउँछ न मेरो हृदयमा मुर्झाउँछ ।
कुनैपल , कुनै क्षण प्रेमले सम्झ…… घृणाले सम्झ अलिकति महसुस गर बस् त्यति भए पुग्छ ।
मलाई मेरो भागको प्रेम मस्तै मिलेको छ ,तिमीलाई तिम्रो भागमा परेको प्रेम कसैले खोसेर खोसिन्न ।
महशुस हो ,तिमी गर म गर्छु । तिमीलाई नसम्झेको कुनै क्षण हुन्न ,तिमीलाई नदेखेको कुनै चीज हुन्न । फेरि पनि तिमीलाई भेट्नुपर्ने ,तिमीलाई छुनुपर्ने ,तिम्रो आलिंगनमा बाँधिएर तिम्रो छाति भिजाउनुपर्ने यो तृष्णा हो ,यो प्यास हो , मोह हो थाहा छ । माया भन्नू नै यी सबै सबै त रहेछन् । कहिले तावामा ,कहिले भुङ्ग्रामा । मायाले पोल्छ । लाग्छ यो मोह भन्दा माथि उठेर तिमीलाई अनन्त प्रेम गरुँ । तिमीलाई नभेटुँ ,नदेखुँ फेरि पनि तिमीलाई हृदयमा स्पर्श गरुँ । हरेक पाइलामा महसुस गरुँ र नखोजुँ कतै कुनै उपस्थिति जहाँ तिमीलाई अरु कसैको साथमा देखेर मुर्छा परुँ ।
हो यस्तै हुनेछ हाम्रो प्रेम । यसरी नै सम्झनेछु तिमीलाई । तिम्रो सुखको कामनाहरुमा , तिम्रो खुसीको कामनाहरुमा जिन्दगीका अप्ठ्यारा बाटाहरु पनि सजिलै कटाउन सक्छु । तर तिम्रा बाटाहरुमा कदापि तगारो बन्ने छैन । तिम्रो अप्ठ्याराहरुमा आउनेछु , निराशाहरुमा आउनेछु । तिम्रो लागि सदा खुल्ला छ यो प्रेमिकाको काख ,जहाँ खुसी र पिडाका सुस्केराहरु सुस्ताउन कसैको अनुमति चाहिन्न ।
२७ फेब्रुअरी ,२०२१
२०७७/११/१५
                                अनामिका सजल

जस्तो सृष्टि उस्तै दृष्टि




 दुईचार दिन अघि एउटी साथीले कुरैकुरामा भनी " तिमीसँग यसरी नजिकबाट साथी हुनु अघि मैले तिम्रो बारेमा अर्कै कुरा सुन्थेँ "

" के सुनाउँथे ? "
" बहुत घमण्डी "
घरमा अति झगडालु , रिसाहा ,भनेको कुरा पुग्नैपर्ने ………
म हाँसे । कमसेकम मेरो बारेमा गाउँमा कुरो हुँदो रहेछ । यो पनि खुसीको कुरो हो । यसो सम्झन खोजेँ ,म त्यस्तै थिएँ त ……… ?? जम्मै त होइन तर हो …… त्यस्तै । म सानैदेखि अभिमानी हुँ । मेरो अभिमानमाथिको चोट म सजिलै स्विकार गर्न सक्दिनँ । चाहे विषय जस्तोसुकै होस् । एकपटक मेरो महिनावारी समयमा भएन । चौध पन्ध्र वर्षको थिएँ । भर्खर भर्खरै महिनावारी सुरु भएको थियोे । सायद स्कुलको नौ दस कक्षातिरै पढ्दै थिएँ । एक साँझ सुत्ने बेलामा बा अामाको खुसखुस सुनेँ । आमा भन्दै हुनुहुन्थ्यो " छोरीको पर सर्ने दिन नाघिसक्यो ,भएर नि नभनेको हो कि के गरेकी हो ?"
" छोरी तह लाउनी अामाले हो तँ सम्झा न "
नसुन्नु पर्थ्यो ,सुनिहालेँ । आफ्नो मन पेटमै नभएको विषयमा घरमा भएको गाइँगुइँले यति विक्षिप्त बनायो कि भोलिपल्ट देखि बाउ अामासँग बोल्नै छोडिदिएँ । बोल्न मात्रै होइन यिनीहरुका घरको भात पनि खान्न भनेर एक हप्ता त अनशन नै बसियो । अनि यस्ती निफुल्केकि केटीलाई घमण्डी नभनेर के भन्छन् त गाउँलेले । 
केटा साथी सम्म नभएकि छोरीमाथि महिनावारी समयमा भएन रे भन्दैमा छोरीको चरित्रमाथि नै शंका गर्ने बाउ अामा मेरो मात्रै त होइनन् होला तर पनि मलाई त्यतिबेला मेरा बाउ अामा असाध्यै अधर्मी लाग्थे । धेरै लामो समय मलाई यो कुराले विक्षिप्त बनायो । म के कुरामा डिप्रेस छु कसैलाई थाहा थिएन तर म आफुलाई निकै एक्लो फिल गर्न थालेँ । एक्लै रुने ,एक्लै बस्ने । यतिसम्म कि घरमा आएका साथीसँग पनि म राम्रो व्यवहार गर्न सक्दैनथेँ मलाई कसैसँग बोल्न मन लाग्दैन थियोे । कोहि बोल्यो कि रिस उठ्थ्यो । अलिकति मेरो उमेरको बचपन थियो अलिकति मभित्र अहम पनि थियोे ।
आफुलाई चित्त नबुझेका स साना कुरामा पनि सहमत हुन नसक्नु मेरो अादत थियोे । यसैलाई मान्छेहरु घमण्ड भन्दा रहेछन् । अहिले लाग्छ ,म ठिक थिएँ । भन्नेहरुले त आफू अनुकूल जे पनि भनिदिन्छन् । अहिले म बदलिएको छु । आफुलाई बदल्नु र जीवनलाई हेर्ने दृष्टिकोण बदल्नु बिल्कुल फरक कुरा हुन् । बाहिरी आवरण बदल्नु र भित्री चिन्तन बदल्नु जस्तै । जिन्दगी भोग्नै बाँकी छ । जिवनको परिभाषा भोगाइ हो । अहिलेसम्म अप्ठ्यारा मान्छे निकै भोगियो , सायद अरुलाई पनि म अप्ठ्यारो लाग्दो हुँ ।
यतिसम्म अप्ठ्यारो कि नचाहेर पनि साथमै रहनुपर्ने , सँगै हिँड्नुपर्ने । कुनैकुनै जुत्ताले जति दुखाए पनि मान्छेको भिडमा फुकालेर हातमा बोकेर हिँड्न सकिन्न नि हो त्यस्तै अप्ठ्यारो तर झेल्नैपर्ने किसिमको । केही सजिलाहरु पनि हुन्छन् । जसलाई निमेषभर भेटिन्छ र छुटिन्छ पनि त्यसरी नै ।
"तर तिमीलाई भेटेपछि त्यस्तो लागेन ,मान्छेहरु जे पनि भन्दा रछन् "
म मनमनै हाँसे फेरि , "तिमीसँग भेट हुँदा मैले आफुलाई बदलिसकेको थिएँ ।"
हो मान्छेमा घमण्ड हुनुपर्छ तर कसैलाई पीडा दिने किसिमको होइन । हाम्रो जिवनमा अरुले हामीलाई कसरी हेर्छन् भन्दा पनि हामीले अरुलाई कसरी हेर्छौ भन्ने कुराले बढि महत्त्व राखेको हुन्छ । अहिले आफ्नै बाउ अामालाई हेर्ने मेरो दृष्टि गलत थियो भन्ने लाग्छ । आधा गाग्रो पानी जस्तै अाधा ज्ञानले मान्छेलाई अस्थिर बनाउँछ । अस्थिरताले ल्याउने मानसिक विचलन यति घातक हुन्छ कि कुनै न कुनै विनाश भएकै हुन्छ कुनै न कुनै रुपमा ।
अहिले पनि धेरैको नजरमा घमण्डी छु । मेरो घमण्डले मलाई मेरो धरातलमा उभिन दिएको छ ।
यतिसम्म कि प्रेमीको नजरमा सम्म म घमण्डी रहेछु । मेरो घमण्ड नाजायज थिएन ,त्यो समयले एकदिन प्रमाणित गरिदिनेछ । मेरो घमण्ड हामी टुट्नुको कारण होइन ,यो पनि उसले महसुस गर्नेछ ।
जिन्दगीका यस्ता धेरै किस्ता छन् ,जसलाई धेरैपटक लेख्दै मेट्दै गरेको छु । डायरीका पाना च्यातेर फाले जस्तो सजिलो हुँदैन आफ्ना दैनिकीहरुबाट मन नपरेका दिनहरु फाल्न । मन नपरेका कुराहरुलाई पनि प्रेम गर्न थालेको छु । जब प्रेम हुन्छ ,नराम्रो र मन नपर्ने भन्ने नै हुँदो रहेनछ । जति खोट होस् ,जति अवगुण होस् ,जति नै लापरवाह होस् ……प्रेमको नजरले प्रेम मात्रै देखाइदिन्छ । भलै प्रेमको पनि आफू अनुकूल परिभाषा दिनेहरुको जमात छ यहाँ । पाउँदा प्रेम, नपाउँदा घृणा । मान्छेभित्रको यो अहंकार भन्दा बढि घातक केही देख्दिन म । मलाई घमण्डी भन्नेहरुलाई पनि म प्रेम गर्छु । मलाई घृणा गर्नेहरुलाई अझै बढि प्रेम गर्छु । जसले जे दिन सक्छ , जति दिन सक्छ त्यहि नै प्राप्ति हो । अरुले के दिन्छ भन्दा पनि आफुले के दिन सकिन्छ ,मेरो लागि महत्त्वपूर्ण हुनेछ ।

फेब्रुअरी २०,२०२१
२०७७/११/०८
अनामिका सजल

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...