प्रिय पारिजात
यो हाड मासुलाई
माटोको जिम्मा लगाएर
अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग
तिमीले सकम्बरी र सुयोगवीर लेख्दा
साल्गीको बलात्कृत आँसु लेख्दा
अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा
एउटा अपमान सहि
एउटा तिरस्कार सहि
एउटा अपवाह सहि
कसैकी रण्डी हुन पर्यो कि परेन ?
कसैकी वेश्या हुन पर्यो कि परेन ?
मलाई शंका लाग्छ
कतै उपमाहरुको भारीले
आशंका र कपोकल्पित दिग्भ्रमहरुले
तिमीलाई बाँझो राखेको त थिएन ?
म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई
तिमीले ती घाउहरु
उतै छोड्यौ कि सँगै लिएर आयौ ?
त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?
कट्कटी दुख्ने हातगोडाका जोर्नी
अशक्त फोक्सोको उकुसमुकुस
त्यहाँभन्दा बेसी
दुख्यो कि दुखेन मनको धरातल ?
प्रिय पारिजात
फुलेपछि नझर्ने जीवन के को छ र ?
तिमी झर्यौ एउटा उचाइमा पुगेर
म भुइँमा पोखिनुको
बाटोमा छरिनुको
हजारौं पैतालाले कुल्चिनुको
एउटा तितो कहानी लिएर आउनेछु
मेरा सवालहरुको जवाफ खोजिराख है ।।





