कहिलेकाहीँ बाल्यकाल सम्झन्छु । सम्झिरहने त्यस्तो खास क्षण केही छैन । जति सम्झन्छु प्रेमिल भन्दा बढि रिसाहा प्रवृत्तिको एक घामठ बच्ची झेलेका निर्दोष बाउ आमाको क्लान्त अनुहार मात्रै सम्झन्छु । एक्लो सन्तान भएर पुलपुलिएकी भन्नेहरु थिए । टाउकामा चढाएर राखेको फल देख्लास् भन्थे । कसैसँग झगडा गरिनँ । रिसको आगो दनदनी बलेको अनुहारमा देखिन्न थियोे । बाहिरबाट जति शान्त देखिन्थेँ ,भित्र म आगाको भुङ्ग्रामाथि कुदिरहेको हुन्थेँ ।
सानैदेखि जे भोगेँ , त्यहि भोगिरहेकै छु आजसम्म । मान्छेले आगोको जिन्दगी पनि पानी भएर जिउनु पर्ने रहेछ । त्यसको उदाहरण म किन अरुलाई दिउँ ? !
सानो कुरामा पनि सम्झौता झेल्न नसक्ने मैले कति ठुला ठुला परिस्थितिमा आफुलाई सम्हाल्न सकेँ । गर्छु भनेको काम गर्नैपर्छ , गर्नु हुँदैन भनेको काम पनि गर्नैपर्छ । बहुलठ्ठीपना । गर्नुपर्ने भन्दा ज्यादा गर्नै नहुने कामको लामो सूची बन्छ होला मेरो जिन्दगीमा । कसैलाई रुवाउन नपरोस् , रुवाइनँ । कोही आफ्नै तक्दिर सम्झेर नदुखेको टाउको ठोक्दै रुन्छन् भने म त्यसलाई आफ्नो कसुर मान्न कदापि तयार छैन । जानेर गरेका भुलहरुमा कसैलाई कतै दुखाई दिएकी छैन ।
कसैलाई अरुलाई पीडा दिएर आफू खुसी हुने आदत हुन्छ । कसैलाई आफुलाई पीडा दिएर अरुलाई खुसी दिने चाहत । यी दुवै मनोरोगी हुन् । यस्ता मान्छेसँग कहिल्यै केमिस्ट्री मिल्दैन मेरो । त्यसो त संसारमा आफ्नो हिसाबले चल्ने मान्छे कति नै छन् र ? सब यन्त्रवत छन् । कोही पैसाको पछाडि कोहि पद, कोही सुख, कोहि शान्तिका लागि कुदिरहेछन् बेलगाम । पुग्ने कहाँ ,पाउने के थाहै छैन । पाएका कुराले मान्छेलाई कहिल्यै सन्तोष दिएको छैन । सधैं प्राप्तिको लालचमा कुदेको छ कुदेको छ ।
म रिसको प्रसंगमा थिएँ । यस्तो लाग्छ रिस मेरो रगतमै छ । जीनमै छ । हुनुपर्ने कम ,नहुनुपर्ने नै धेरै गुण छन् मसँग । भएका कुरा सबै कहाँ देखिन्छन् र ?
मभित्र दन्केको आगो, वर्षेको झरि , पग्लेको हिमाल पनि त अन्तरयामी छ ईश्वर जस्तै । छ तर भेटिँदैन । देखिँदैन । मसँग भएको रिस ,मसँग भएको प्रेम ,मसँग भएको करुणा मेरै सम्पत्ति हुन् । न विक्रि हुन्छन् न लिलाम । म मभित्रको प्रेम लाई जति नै प्रेम गर्छु रिसको झिल्को लाई पनि । तँ छस् र त सल्काउन पाएको हुन्छु अभिमानको आगो , स्वाभिमानको मसाल । रिस घृणा होइन अहंकार होइन । दम्भ र घमण्ड होइन । स्वभाव हो , प्रकृति हो । प्रकृति स्विकार्नु नै त जीवन हो ।






