नेपाली समाज अझै त्यहीँ छ जहाँ कुनैपनि केटीले आफ्नो मस्तिष्कमा सबैभन्दा अगाडि आफ्नो कुमारित्त्व बोकेर हिँडेकी हुन्छे । एक त विवाह अगाडिको यौन सम्बन्धका लागि मानसिक रुपमा कदापि तयार हुन सक्दिन । शरिरलाई प्रकृतिले उन्मुक्त बनाइदिए पनि मस्तिष्कलाई समाजले लगाम लगाइरहेकै हुन्छ ।
हातखुट्टा बाँधेर ,मुख थुनेर लछारपछार पारेर लगाएका लुगा च्यातेर कतै खोल्सातिर , एकान्त पाखातिर हुने बलात्कारको परिभाषा बदल्न जरुरी छ । समयले धेरै कोल्टे फेरिसकेको छ । भर्चुअल दुनियाँमा सबथोक भर्चुअल हुन थालिसकेको छ । आजको समयमा खेत ,खलिया ,पाखा पखेरामा लखेटि लखेटि कसैको बलात्कार विरलै हुन्छ । एक क्लिकमा एक अर्काका फिलिङ्सहरु शेयर हुन्छन् । हुर्किएको शरीर र भावनाको वेगलाई न समाजले रोक्न सक्छ न संस्कारले न कानुनले । छोरीको ईज्जत योनीमा खोज्ने समाजले छोराको लिङ्गमा पुरुषत्व खोजिरहन्छ र दोहोरिरहन्छ हरेक समाज विकासमा यौनिक विकृति पनि ।
पुरुषले यौनका लागि मात्रै बनाएको निकटता बुझ्न नसक्नु , यौनिक घनिष्ठतालाई सुन्दर भविष्य देख्नु सबै सबै आजका नारीका उत्पिडनका कारण हुन् । लाइफ पार्टनर बनाउने महत्वाकांक्षी सपनामा सेक्स पार्टनर बनिरहेको थाहै हुँदैन । पुरुष मनोविज्ञान नै समाजले त्यसैगरी डिजाइन गरेको छ । क्षणिक प्राप्तिका लागि ,शारीरिक सुखका लागि जस्तो पनि प्रपंच रच्न सक्ने ।
शारीरिक शोषणलाई पनि प्रेमको नाम दिएर चुपचाप छन् धेरै ओठहरु …… किनकि चोट शरिरमा होइन हृदयमा लागेको हुन्छ। अदालतले भिजेको परेलालाई होइन कुमारित्त्व चुहिएको पेन्टी माग्छ प्रमाणका लागि ।
