Thursday, March 3, 2022

बलात्कार


 नेपाली समाज अझै त्यहीँ छ जहाँ कुनैपनि केटीले आफ्नो मस्तिष्कमा सबैभन्दा अगाडि आफ्नो कुमारित्त्व बोकेर हिँडेकी हुन्छे । एक त विवाह अगाडिको यौन सम्बन्धका लागि मानसिक रुपमा कदापि तयार हुन सक्दिन । शरिरलाई प्रकृतिले उन्मुक्त बनाइदिए पनि मस्तिष्कलाई समाजले लगाम लगाइरहेकै हुन्छ । 

हातखुट्टा बाँधेर ,मुख थुनेर लछारपछार पारेर लगाएका लुगा च्यातेर कतै खोल्सातिर , एकान्त पाखातिर हुने बलात्कारको परिभाषा बदल्न जरुरी छ । समयले धेरै कोल्टे फेरिसकेको छ ।  भर्चुअल दुनियाँमा सबथोक भर्चुअल हुन थालिसकेको छ । आजको समयमा खेत ,खलिया ,पाखा पखेरामा लखेटि लखेटि कसैको बलात्कार विरलै हुन्छ । एक क्लिकमा एक अर्काका फिलिङ्सहरु शेयर हुन्छन् । हुर्किएको शरीर र भावनाको वेगलाई न समाजले रोक्न सक्छ न संस्कारले न कानुनले ।  छोरीको ईज्जत योनीमा खोज्ने समाजले छोराको लिङ्गमा पुरुषत्व खोजिरहन्छ र दोहोरिरहन्छ हरेक समाज विकासमा यौनिक विकृति पनि  । 

पुरुषले यौनका लागि मात्रै बनाएको निकटता बुझ्न नसक्नु , यौनिक घनिष्ठतालाई सुन्दर भविष्य देख्नु सबै सबै आजका नारीका उत्पिडनका कारण हुन् । लाइफ पार्टनर बनाउने महत्वाकांक्षी सपनामा सेक्स पार्टनर बनिरहेको थाहै हुँदैन । पुरुष मनोविज्ञान नै समाजले त्यसैगरी डिजाइन गरेको छ । क्षणिक प्राप्तिका लागि ,शारीरिक सुखका लागि जस्तो पनि प्रपंच रच्न सक्ने । 


शारीरिक शोषणलाई पनि प्रेमको नाम दिएर चुपचाप छन् धेरै ओठहरु …… किनकि चोट शरिरमा होइन हृदयमा लागेको हुन्छ। अदालतले भिजेको परेलालाई होइन कुमारित्त्व चुहिएको पेन्टी माग्छ प्रमाणका लागि । 




Tuesday, November 16, 2021

भुइँ कुहिरो र पैयूँ फूल


 


भुइँ कुइरो फुलेर बस्ती ढकमक्क फुलेको छ

कुहिरोभित्र उस्तै मोहक देखिएका  छन् 

पैँयुका गुलाबी बोटहरु

ठुलो रुखमा फुलेका स साना फूलहरु 

शीत सँगै झरिरहेछन् मेरो हत्केलामा

यसरी चिसो फूलको स्पर्शले 

मलाई पुलकित बनाइदिन्छ र 

एकाएक तिमीलाई खोज्न थाल्छु


तिमी यिनै पैँयुका फूलहरुझैँ 

एक याम आयौ

र अलप भएर गयौ भुइँ कुहिरो जस्तै 

न बाँधेर राख्न सकेँ 

न सजाउन सकेँ 

भुल या भ्रम पो थियौ कि 

कहिल्यै खोतल्न चाहिनँ

बस् मिठो अनुभूति नमिठो गरि निलिरहेँ


तिमी आउनु ,जानू या हराउनुमा 

कुनै गुनासो गरिनँ

किनकि तिमी नियोजित आएका थिएनौ 

र योजना बनाएर गएका पनि होइनौ 

नियति यति बलियो भएर रह्यो कि

तिमीसँग अर्को यामको 

याचना गर्न पनि सकिनँ


जहाँ छौ ,

तिम्रो संघारमा खुसीको घाम उदाओस्

घाम त यहाँ पनि उदाएको छ 

सँगसँगै उदाएको तिम्रो चिसा यादहरुले

आँसुको बुँद ओभाउन दिएनन् 

र म भिजेको पुतली भएँ

उड्न सकिनँ !!


Wednesday, October 27, 2021

देउता र मान्छे



एउटा आदिम युग थियो 

जहाँ देवताहरु मान्छे बनाउँथे 

र एउटा यो युग जन्मियो

जहाँ मान्छे स्वयम् देवता बनाउँछ 

म अल्मलिन्छु 

मेरो अल्पज्ञान अल्मलिन्छ 

देवताले मान्छे बनायो 

या मान्छेले देवता ? 


मैले गर्भमै चिनेको हुँ 

आमाले ढोग्दै हिँडेका ढुंगा ढुंगामा कुँदिएका 

प्रतिमाहरुमा उतारिएका 

भिमकाय, जादुमय ,तिलस्मी ,रहस्यमय

अजंगका , चटक्कका भगवानका स्वरुपहरु

तुलसीमा ,पारिजातमा, पिपलमा 

अनि जूनको छातिमा बसेको

कालो दागमा भएको भगवानलाई पनि 


मलाई अझै याद छ 

आमाको पिठ्युँमा पछ्यौराले बेरिएर 

ठहिँटी ,हनुमानढोका ,गणेस्थान,भद्रकाली 

पशुपति र स्वयम्भूका कति हो कति 

भगवानको घर घुमेको

कति कति पटक

मन्दिरको घण्टामा ठोकिएर लडेको

कति कति पटक 

पाइलैपिच्छे पुजिएका ढुंगाको टीका 

निधारमा दल्न नपाएर लडिबुडि गरेको

र पनि 

केही यादहरु ,केही सम्झनाहरु 

सतहमा लागेको घाउको खत जस्तै 

मेटिएर जाँदा रहेछन् , विस्तारै …


म पुज्छु ढुंगा ,

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि

ढुंगामा अनुबन्ध गरेर 

लाटो बनाइएको देवता

न बोल्छ न विष वमन गर्छ

मलाई यहि विशेषता विशेष लाग्छ

र लाग्छ आमाको श्रद्धामा विश्वास 

नबोलोस् कहिल्यै 

नखोलोस् सत्य 

लुकाइरहोस् रहस्यको गर्भमा 

म पुज्छु ढुंगा 

त्यहाँ देवता भए पनि नभए पनि 

म झुकाउँछु शीर

ढुंगाले आशिर्वाद दिए पनि नदिए पनि !!




  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...