Wednesday, October 27, 2021

जीवन




 एकाएक बदलिएको मौसम 

र मान्छेको मनसँग

म थाकिसकेँ 

प्रश्न गर्दागर्दै 

र जवाफ खोज्दा खोज्दै

सबै प्रश्न जायज हुँदैनन् 

र हुँदैनन् सबै जवाफहरु सत्य 

म प्रश्नहरुभन्दा पर……

जवाफहरु भन्दा पहिले 

खोज्नेछु आफ्नै मन

र लगाउनेछु लगाम

नजाओस् उडेर कतै 

चुँडिएको चङ्गा जस्तो मनमौजी भएर 

हावाको वेगसँगै अपरिचित रुखको हाँगामा

बेवारिसे भएर तुन्द्रुङ्ग झुण्डिन

जसरी तिमीमा अल्झेर 

न भुइँको न रुखको भएको छ जीवन !!

उपहार




 मसँग पनि छन् 

पिडाका पहाड

बोकी नसक्नु पीरको भारी 

सहि नसक्नु ,खपि नसक्नु 

दुखाइका आर्तनादहरु 

अलिकति ईष्र्याले साँघुरिएका अनुहार 

अलिकति अहमताले तन्किएका छातिहरु 

खुचिङ 

बल्ल खाइस् भन्नेहरुको हुलमा 

फेरि पनि एक्लै छोड्यौ 

र छन् एक्लोपन 

र उदासिका सुस्केराहरु

बस्  छैन त केवल

क्लोनाजका ट्याबलेटहरुमा किनिएको 

कृत्रिम निन्द्रा 

र म वेचैन छु यसरी 

मलाई मेरो वेचैनीसँग गुनासो छैन

यो त तिमीले दिएको 

अमिट उपहार हो मेरो !!

मातृ सुख

 



होश सम्हाल्न सक्ने भए देखि लोग्नेमान्छेले महिलामाथि गर्ने कुनै पनि व्यवहार प्रेमपूर्ण देखिनँ, यतिसम्म कि मेरो चाहना विपरीत बुबा आमाको इज्जत राखिदिनको लागि आफुलाई विवाहको मण्डपमा बलि चढाएँ  । 

गाउँभरिका पुरुषहरु कि त तासको खालमा भेटिन्थे कि जाँडको तालमा । घरका आमा श्रीमतीले पालेका लैना गाई भैँसीको दूध बेचेको पैसाले न घरका रङ्ग फेरिन्थ्यो न कहिल्यै नुनतेल नै आइपुग्थ्यो ,तैपनि दुख गर्ने दिदी ,भाउजुहरु प्रति सहानुभूति पोख्नु बाहेक म आँसु पुछिदिन सक्दैनथेँ । दिनै जस्तो आँखाको डिलमुनि निलो दागमा भेटिने उजेली भाउजुको अनुहार कहिल्यै उज्यालो देखिनँ । यस्तै पीडामा पहेँलिएका महिलाको दैनिकीले मलाई विवाहको रहर पलाएन । मभन्दा मुनिका तीन बहिनी बिकाउन पनि मैले बिहे गरिदिनु थियोे , उमेर र रोगले जीर्ण बुबाको मलाई आफ्नै हातले यो घरबाट अन्माउने ईच्छा मैले मार्न सकिनँ र आफ्नै ईच्छाको दागबत्ती दिएँ । जाँडे र जुवाडे लोग्नेमान्छे मात्रै देखेको मेरो मस्तिष्कमा पुरुषको परिचय नै त्यत्ति त बनेको थियो ,,सोचेँ जिन्दगी लामो हुने भयो ।

एक किसिमको अत्यास भरिएको थियो मनमा, मलाई केटो हेर्नु के थियो र, हेरे पनि मन परेन भन्ने हक थिएन ।हेरिनँ, देख्ने साथी संगीले भने "तिमीलाई सुहाउँदो छ, राम्रो …………यति राम्रो पोइ त यसपालि कसैलाई परेको छैन " ।

"हेर्दा राम्रो भएर हुन्छ र ,ताल उहि त हो नि सबैको " अर्की शंका बोल्छे । 

हो ,ऊ राम्रो रहेछ

सबैभन्दा ठुलो उपलब्धि ऊ जाँड छुँदैन थियो , तास खेल्दैन थियो अनि रण्डिबाजी उसको विषय थिएन ।

एक प्रकारले नसोचेको लोग्ने परेको हो , जिन्दगी छोटो जस्तो लाग्न थाल्यो ।


समय बित्दै गयो , म असलमा असल लोग्ने पाएर पनि खुसी हुन सकिनँ ,म आमा भइनँ ,म पूर्ण नारी हुन पाइनँ, एकै साल बिहे गरेका साथीका छोराछोरी स्कुल पढ्छन् ।बहिनीका छोराछोरी हुर्किसके । उनीहरुका लोग्ने जाति छैनन् , दुखले हाडछाला मात्रै भएका छन्, लोग्नेको झम्टाइ र पिटाइले खाएको पनि ज्यानमा लाग्दैन ।

राति अबेर आउँछन्  अगेनामा सेलाएको भात भन्दा बढि चिसा स्वास्नी गिजल्छन् र बिहान चिया नपाक्दै भट्टिको तातो तोङ्बा सुर्क्याउन पुग्छन् ।


उफ् मलाई ईर्ष्या लाग्छ ,जँड्याहा लोग्नेको, कमसेकम मातृसुख त दिएको छ ।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...