Friday, July 30, 2021

आत्मानुभूती

 यदि उसले मलाई माया गर्थ्यो भने 

तिमीसँग विवाह गर्ने थिएन 

र तिमीलाई माया गर्थ्यो भने 

मलाई प्रेम गर्ने थिएन 

यत्ति पनि नबुझेर 

आफुलाई भाग्यमानी सम्झने तिमी 

फरक यति हो 

तिमीले लोग्ने पायौ 

मैले लोग्नेमान्छे चिन्न पाएँ 

पाएपछि चिन्नु भन्दा

चिनेपछि गुमाउँदा

मलाई कुनै पश्चाताप छैन ।।


अनुनय

 ए जून 

तिमी एकैछिन बिटुलिँदा

छाक छोड्नेले

आफुलाई सुनपानीमा चोख्याउनेहरुले

मेरो जिन्दगीमा लागेको ग्रहण

मेरो प्रेममा लागेको दाग 

मेरो आत्मामा

लत्पतिएको रगतका टाटा मेट्न 

कति छाक छोड्ला ?

कति झ्याल, ढोका थुन्ला ?

मलाई बाँच्न सिकाइदेऊ न 

अलिकति साहस

अलिकति सहनशीलताको उर्जा दिएर !!


विद्रोही पारिजात





प्रिय पारिजात 

यो हाड मासुलाई 

माटोको जिम्मा लगाएर 

अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग

तिमीले सकम्बरी र सुयोगवीर लेख्दा

साल्गीको बलात्कृत अाँसु लेख्दा 

अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा 

एउटा अपमान सहि

एउटा तिरस्कार सहि

एउटा अपवाह सहि

कसैकी रण्डी हुन पर्यो कि परेन ? 

कसैकी वेश्या हुन पर्यो कि परेन ? 

मलाई शंका लाग्छ 

कतै उपमाहरुको भारीले 

आशंका र कपोकल्पित दिग्भ्रमहरुले

तिमीलाई बाँझो राखेको त थिएन ?


म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई 

तिमीले ती घाउहरु 

उतै छोड्यौ कि सँगै लिएर आयौ ? 

त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?

कट्कटी दुख्ने हातगोडाका जोर्नी 

अशक्त फोक्सोको उकुसमुकुस 

त्यहाँभन्दा बेसी 

दुख्यो कि दुखेन मनको धरातल ? 

प्रिय पारिजात 

फुलेपछि नझर्ने जीवन के को छ र ?

तिमी झर्यौ एउटा उचाइमा पुगेर

म भुइँमा पोखिनुको 

बाटोमा छरिनुको 

हजारौं पैतालाले कुल्चिनुको 

एउटा तितो कहानी लिएर अाउनेछु

मेरा सवालहरुको जवाफ खोजिराख है ।।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...