Friday, July 30, 2021

अनुनय

 ए जून 

तिमी एकैछिन बिटुलिँदा

छाक छोड्नेले

आफुलाई सुनपानीमा चोख्याउनेहरुले

मेरो जिन्दगीमा लागेको ग्रहण

मेरो प्रेममा लागेको दाग 

मेरो आत्मामा

लत्पतिएको रगतका टाटा मेट्न 

कति छाक छोड्ला ?

कति झ्याल, ढोका थुन्ला ?

मलाई बाँच्न सिकाइदेऊ न 

अलिकति साहस

अलिकति सहनशीलताको उर्जा दिएर !!


विद्रोही पारिजात





प्रिय पारिजात 

यो हाड मासुलाई 

माटोको जिम्मा लगाएर 

अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग

तिमीले सकम्बरी र सुयोगवीर लेख्दा

साल्गीको बलात्कृत अाँसु लेख्दा 

अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा 

एउटा अपमान सहि

एउटा तिरस्कार सहि

एउटा अपवाह सहि

कसैकी रण्डी हुन पर्यो कि परेन ? 

कसैकी वेश्या हुन पर्यो कि परेन ? 

मलाई शंका लाग्छ 

कतै उपमाहरुको भारीले 

आशंका र कपोकल्पित दिग्भ्रमहरुले

तिमीलाई बाँझो राखेको त थिएन ?


म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई 

तिमीले ती घाउहरु 

उतै छोड्यौ कि सँगै लिएर आयौ ? 

त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?

कट्कटी दुख्ने हातगोडाका जोर्नी 

अशक्त फोक्सोको उकुसमुकुस 

त्यहाँभन्दा बेसी 

दुख्यो कि दुखेन मनको धरातल ? 

प्रिय पारिजात 

फुलेपछि नझर्ने जीवन के को छ र ?

तिमी झर्यौ एउटा उचाइमा पुगेर

म भुइँमा पोखिनुको 

बाटोमा छरिनुको 

हजारौं पैतालाले कुल्चिनुको 

एउटा तितो कहानी लिएर अाउनेछु

मेरा सवालहरुको जवाफ खोजिराख है ।।

दुरी

 

टाढा छु 

तर  नजिक छु 

घामभन्दा पनि नजिक 

जून भन्दा पनि नजिक

सुनिरहेछु 

तिम्रो मुटुको धक्धक

देखिरहेछु आँखाको न्यास्रो

र महसुस गरिरहेछु यारा

तिम्रो आलिंगनको न्यानो !! 


तिम्रा सुस्केराहरुमा 

थकानहरुमा गलिरहेछु तिमी जस्तै 

तिमी मुस्कुराउँदा मात्रै हाँस्छ हिमाल

तिमीसँगै झरिरहेछ आकाश

भिजाएर छातिको देब्रे पाखो 

जति उर्बर होस् जमिन

तिम्रो वर्षा बिना 

मेरो प्रेमको पाटो बाँझै रहन्छ यारा !!

✍️अनामिका सजल

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...