Monday, March 7, 2022

मार्च आठ र महिला अधिकार


जाँड रक्सीका घ्याम्पा फुटाउँदै ,घ्याम्पाका जाँड घोप्टाउँदैमा महिलाका अधिकार सर्वोपरि हुने र महिला हिंसाको अन्त्य हुन्थ्यो भने यतिखेर समयले अर्कै कोल्टे फेर्ने थियो । कुनै पनि नारीले आफ्नो शक्तिको बिस्कुन सत्ता बाहिर फिँजाउनु पर्ने थिएन । नारीका शत्रु नारी नै हुन् भन्नेहरुको विश्लेषण सतही हो । जुन विषयमा पूरा ज्ञान छैन ,त्यसैमा सबैभन्दा बढि टिप्पणी हुन्छ ।

अहिलेको महिला स्वतन्त्रता र अधिकार पनि विकसित समाजको पर्याय होइन । यहाँ घर भत्काएर गोठ बन्नु उपलब्धि हुन सक्दैन । यहाँ स्वतन्त्र हुन सम्बन्ध विच्छेद हुनुपर्छ । हक अधिकारको नाम निशाना मेटिनुपर्छ । सम्बन्धका कसिला डोरिहरु जलेर खाग हुनुपर्छ । अौंलामा गन्न सकिनेहरुको भागमा त्यो खुसी छ जो परिवारमा मिल्छ । परिवारमा नमिलेको खुसी खोज्न भड्किनेहरुको कथा व्यथा झन् लामो छ । पुरुष हुनुको अहम बोकेर सम्बन्धहरुको जालो फिँजाएर घर ,बाहिर दुवैको स्वतन्त्रता खोस्नेहरुको अादत झनै अापत्तिजनक छ ।

श्रीमतीका अगाडि सालीका स्तन माड्ने मात्रै होइन , सुत्केरी दिदी स्याहार्ने सालीलाई नै भुँडी बोकाउने र एउटै घरमा दुई जिन्दगी सडाउने समाज पनि यहि हो । काम गर्ने श्रमिकका रुपमा घरभरि श्रीमतीको बिस्कुन लगाउने समाज पनि हो ।  कम भएको छ र यो मानसिकता अन्त्य चाहिँ भएको छैन अझै ।

सदियौँदेखि भावनामाथिको खेलबाड , शरिरमाथिको खेलबाड ……मलाई यो संरचनाको अन्त्य भएको हेर्नुछ ।


एउटा स्थापित महिलाको संघर्ष अझै कहालीलाग्दो छ । कसैको काँधमा नचढिकन सफलताको शिखर चुम्ने ती महिलाहरुको साहसलाई सलाम । यहाँ चाकडी चाप्लुसी गरेर चर्चामा पुगेका पुरुषहरु नभएका होइनन् , तर महिलासँग योनी छ र ,महिलाको चरित्र लगेर सिधै योनीमा चोपलिन्छ । कति निघृण छ हाम्रो सोच, कति विकार छ हाम्रो मानसिकतामा ?

कहिलेकाहीँ सोच्छु  उमेर पुगेकि म, घर व्यवहारको जिम्मेवार उठाइरहेकी म आफ्नो प्रेमिसँग भेट्न जाँदै गर्दा भन्न सकुँ  "अामा म आज फलानासँग हुन्छु , ढिला हुन्छ अथवा नअाउन सक्छु ।"  जब म सबै कुरामा सक्षम छु , आफ्नो निर्णय प्रतिको जिम्मेवारी आफैं उठाउन सक्छु र पनि  झुटको सहारा लिन बाध्य हुन्छु । किन ??  म कल्पना गर्छु , छोरीहरु डेट जाँदै गर्दा आमाहरुले सम्झाउन् , "त्यहाँ विवेक नगुमाउनु , प्रेमका नाममा बलात्कृत नहुनु । म छु केही परे भन्नू । "हाम्रो जस्तो अल्पविकसित मुलुकमा यहाँ सम्मको चेतना त हाम्रा संस्कारका साङ्लाहरुमै बन्धित छन् ।मान्छेको चेतना विश्वविद्यालयको शिक्षाले भन्दा ज्यादा संस्कारको अभ्यासमा बढि अभ्यस्त छ ।


यहाँ घर घरमा शोषण छ ,दमन छ । महिलामाथि हुने हिंसाको स्वरुप बदलिएको छ । हिजो हुने शारीरिक यातना ,कुटपिट अाज मानसिक ज्याजतिमा रुपान्तरण भएको छ । हिजो घर घरमा हुने सौता अाज सञ्जालमा हुन्छन् । बाहिरबाट शिक्षित, सभ्य, संस्कारी देखिनेहरुको भित्री कर्तुत राम्रोसँग अध्ययन गर्ने अवसर पाएँ । मलाई दुख लाग्छ ती अाम नारीहरुको समर्पण प्रति । कति श्रदा छ उनीहरुमा आफ्नो पुरुष प्रति तर तिनै बोक्रे अादर्शहरुको नियत यति घिन लाग्दो हुन्छ कि थुक्न पनि घिन लाग्छ । यसरी लेखिरहँदा , लाग्न सक्छ म कुण्ठा ओकलिरहेको छु । यो बिल्कुल होइन ,एकपटक आफू र आफ्नो वरिपरिको माहोल सुक्ष्मसँग नियाल्नुस् । यो सत्य तपाईंको वरिपरि पनि छ । तपाईंको जिवनमा पनि छ ।


केही महिलाहरु गरिब छन् । उनीहरुसँग पैसा छैन । भोग बिलास छैन । आराम छैन । र पनि  सकुन छ । सन्तोष छ । अानन्द छ । किनकि उनीहरूलाई उनीहरुको लोग्नेको मिठो साथ छ । लड्दा उठाउने हात छ । एक अर्कामा समर्पण छ । हो मलाई त्यहि समाज समतामूलक लाग्छ । अभाव होस् तर दबाब नहोस् । दुख होस् तर सुखका निम्ति बेमानी नहोस् ।

कसैले कसैको खुट्टा नतानोस् । स्वतन्त्रताको लागि घर नतोडियोस् । नाता नटुटोस् । एक रथका दुई पाङ्ग्रा, एक सिक्काका दुई पाटा कसरी एक बिना अर्को पुर्ण हुन सक्छन् ?



Thursday, March 3, 2022

बलात्कार


 नेपाली समाज अझै त्यहीँ छ जहाँ कुनैपनि केटीले आफ्नो मस्तिष्कमा सबैभन्दा अगाडि आफ्नो कुमारित्त्व बोकेर हिँडेकी हुन्छे । एक त विवाह अगाडिको यौन सम्बन्धका लागि मानसिक रुपमा कदापि तयार हुन सक्दिन । शरिरलाई प्रकृतिले उन्मुक्त बनाइदिए पनि मस्तिष्कलाई समाजले लगाम लगाइरहेकै हुन्छ । 

हातखुट्टा बाँधेर ,मुख थुनेर लछारपछार पारेर लगाएका लुगा च्यातेर कतै खोल्सातिर , एकान्त पाखातिर हुने बलात्कारको परिभाषा बदल्न जरुरी छ । समयले धेरै कोल्टे फेरिसकेको छ ।  भर्चुअल दुनियाँमा सबथोक भर्चुअल हुन थालिसकेको छ । आजको समयमा खेत ,खलिया ,पाखा पखेरामा लखेटि लखेटि कसैको बलात्कार विरलै हुन्छ । एक क्लिकमा एक अर्काका फिलिङ्सहरु शेयर हुन्छन् । हुर्किएको शरीर र भावनाको वेगलाई न समाजले रोक्न सक्छ न संस्कारले न कानुनले ।  छोरीको ईज्जत योनीमा खोज्ने समाजले छोराको लिङ्गमा पुरुषत्व खोजिरहन्छ र दोहोरिरहन्छ हरेक समाज विकासमा यौनिक विकृति पनि  । 

पुरुषले यौनका लागि मात्रै बनाएको निकटता बुझ्न नसक्नु , यौनिक घनिष्ठतालाई सुन्दर भविष्य देख्नु सबै सबै आजका नारीका उत्पिडनका कारण हुन् । लाइफ पार्टनर बनाउने महत्वाकांक्षी सपनामा सेक्स पार्टनर बनिरहेको थाहै हुँदैन । पुरुष मनोविज्ञान नै समाजले त्यसैगरी डिजाइन गरेको छ । क्षणिक प्राप्तिका लागि ,शारीरिक सुखका लागि जस्तो पनि प्रपंच रच्न सक्ने । 


शारीरिक शोषणलाई पनि प्रेमको नाम दिएर चुपचाप छन् धेरै ओठहरु …… किनकि चोट शरिरमा होइन हृदयमा लागेको हुन्छ। अदालतले भिजेको परेलालाई होइन कुमारित्त्व चुहिएको पेन्टी माग्छ प्रमाणका लागि । 




Tuesday, November 16, 2021

भुइँ कुहिरो र पैयूँ फूल


 


भुइँ कुइरो फुलेर बस्ती ढकमक्क फुलेको छ

कुहिरोभित्र उस्तै मोहक देखिएका  छन् 

पैँयुका गुलाबी बोटहरु

ठुलो रुखमा फुलेका स साना फूलहरु 

शीत सँगै झरिरहेछन् मेरो हत्केलामा

यसरी चिसो फूलको स्पर्शले 

मलाई पुलकित बनाइदिन्छ र 

एकाएक तिमीलाई खोज्न थाल्छु


तिमी यिनै पैँयुका फूलहरुझैँ 

एक याम आयौ

र अलप भएर गयौ भुइँ कुहिरो जस्तै 

न बाँधेर राख्न सकेँ 

न सजाउन सकेँ 

भुल या भ्रम पो थियौ कि 

कहिल्यै खोतल्न चाहिनँ

बस् मिठो अनुभूति नमिठो गरि निलिरहेँ


तिमी आउनु ,जानू या हराउनुमा 

कुनै गुनासो गरिनँ

किनकि तिमी नियोजित आएका थिएनौ 

र योजना बनाएर गएका पनि होइनौ 

नियति यति बलियो भएर रह्यो कि

तिमीसँग अर्को यामको 

याचना गर्न पनि सकिनँ


जहाँ छौ ,

तिम्रो संघारमा खुसीको घाम उदाओस्

घाम त यहाँ पनि उदाएको छ 

सँगसँगै उदाएको तिम्रो चिसा यादहरुले

आँसुको बुँद ओभाउन दिएनन् 

र म भिजेको पुतली भएँ

उड्न सकिनँ !!


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...