Monday, September 6, 2021

बुवा

 नेपालीमा एउटा उक्ति छ " बाउसँग अनुहार मिल्ने छोरी अनि आमासँग अनुहार मिल्ने छोराहरु भाग्यमानी हुन्छन् ।" अनुहार मिल्दैमा भाग्यमानी हुने कुरामा विश्वास लाग्दैन । तर पनि सानो हुँदा खुब खुसी लाग्थ्यो बाउसँग मिलेको अनुहारले भाग्यमानी भईन्छ भनेर ……… खुसी त अहिले पनि लाग्छ ,आजसम्म बाउ आमाको काखमा खान पाइएको छ , बाउ आमाको आँगनमा खेल्न पाइएको छ । यो भन्दा ठुलो अर्को भाग्य पनि त के छ र संसारमा ।  

म जन्मेर यत्रो हुन्जेल बुवा बिमार भएर अस्पताल भर्ना हुन परेको थिएन । पोहोर साल बुवा साह्रै बिरामी हुनुभयो । यो मेरो परिवारको लागि ठुलो खड्गो थियो र कट्यो पनि । पहिलोपटक बुवा बिरामी हुँदा अफिस जाँदा बाटोभरि रुँदै हिँडेको अहिले जस्तै लाग्छ । एउटा हातमा खाना बोकेको छु , अर्को हातमा झोला भरेको छु । लक डाउन ग्रस्त समयमा अस्पताल पुर्याउनै पो नसक्ने हुँ कि , उपचार गराउन नै पो नभ्याउने हुँ कि भनेर यति आँतिन्थेँ कि आफ्नै रक्तसंचार गडबढ भएर पटकपटक भाउन्न हुन्थेँ । 


जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् ,हो जस्तो पनि लाग्छ । बुवा बिरामी हुँदा बुवालाई त गाह्रो भयो नै दिनरात ,झरि बादल नभनेर सहयोग गर्ने दाइहरुलाई पनि गाह्राे भयो । अफिसमा मेरो जिम्मेवारी लिएर बुवाको उपचारका लागि मलाई सजिलो बनाइदिने सहपाठी सहकर्मीहरुलाई पनि गाह्राे भयो । तर यो समयले बाउ छोरीको सम्बन्धलाई यति आत्मिक बनाइदियो कि ठुली भएपछि पहिलोपटक बुवाको हातको सिरानी हालेर निदाउन पाएँ । बुवाको अपरेसन सफल भएपछि भर्ना भएदेखी हाम्रो साथ नछोडेकी बहिनी सबु घर गई । जतिखेरै सुत्नु परेर बुवालाई झर्को लाग्थ्यो अनि म डाटा किनेर भुन्टि र कान्छी सिरियल देखाइदिन्थेँ । कहिले दुवै जना हाँस्थ्यौ कहिले दुवै भावुक हुन्थ्यौँ । मैले धेरै पटक बुवाका आँखाका कुनाहरु रसाएको देखेको छु , सायद त्यहि भावुकता मभित्र पनि सरेको हुनुपर्छ । सानो चोटले पनि धेरै दुखाउँछ । प्राय बेलुका बुवा निदाउनु हुन्न थियोे र म बुवा ननिदाए सम्म निदाउन सक्दैन थिएँ । घरि अक्सिजन चेक गर्थेँ घरि हर्ट विट हेर्थेँ । दिउँसो चाहिँ बेडमा टाउको राखेर घोप्टिन्थेँ अनि बुवाले हातको सिरानी लगाइदिनु हुन्थ्यो । म अर्ध निन्द्रामा हुन्थेँ । बुवा मलाई सानी बच्चीलाई जस्तो मेरो कपाल मिलाईदिरहनु भएको हुन्थ्यो । 


बुवाको मनमौजि बानीले गर्दा लाग्थ्यो ,बुवा हामीलाई मायै गर्नुहुन्न अनि बुवालाई पनि लाग्दो हो छोरीहरु आफ्नै पारामा छन् । होइन रहेछ , म बुवालाई आमालाई भन्दा बढि माया गर्दो रहेछु । किनकि ममि धेरैपटक बिरामी हुँदा पनि म यसरी भक्कानिएर रोएको थिइनँ । अफिसमा सि सि क्यामेरा अफ गरेर ढोका थुनेर रुन्थेँ ,ठुलो साउन्डमा टिभि अन गरेर । बाहिरको मान्छेले नसुनुन् भनेर ……… ती दिन सम्झेर आज पनि आँतै जिरिङ्ग हुन्छ । त्यति बेलै थाहा पाएँ बुवा संसार जालिम छ भनेर।  अप्ठ्यारोमा पारेर मान्छेहरुले कसरी पछाडिबाट छुरा धस्छन् भनेर …… चाहेर पनि बिर्सन सक्दिन ती दिनका गोमन साँपहरुलाई जसले मेरो आलो घाउमा नुनचुक छरिरहे,डसिरहे……… र मैले ऐया पनि भन्न पाइन । 

सन्तानलाई सम्पत्ति ठान्ने मेरो महान बा , सन्तानको खुसीलाई स्वर्ग ठान्ने मेरो आदर्श बा । सबैभन्दा ठुलो कुरा आफ्नो मर्जीको मालिक हुन सिकेको छु बुवा हजुरबाट , ढुक्क हुनुस् हजुरको छोरीको जिन्दगीमा कोही हस्तक्षेप गर्न आउन सक्ने छैनन् ।


Sunday, August 29, 2021

सुन्दरताको विज्ञापन

 


महिला सशक्तीकरण र समताका बहस भइरहँदा हिजो र आजको समाज व्यवस्था र सामाजिक आचरणहरुमा आमूल परिवर्तन नआएको होइन । जैविक रुपमा महिला र पुरुषको संरचना फरक छ । प्रकृतिले जुन चीज महिलालाई दिएको छ त्यो पुरुषलाई दिएको छैन र जुन कुरा पुरुषलाई दिएको छ त्यो महिलालाई दिएको छैन । आफुसँग नभएका कुराहरुसँग सहकार्य गर्नुपर्ने भएर नै महिला र पुरुषको सम्बन्ध शारीरिक ,मानसिक र सामाजिक  रुपमा पनि आदिम युगदेखि अनित्य रहिआएको छ ।  महिला र पुरुषको प्राकृतिक आकर्षणले शारीरिक सम्बन्ध मात्रै हुन्थ्यो र त्यसमा भावनात्मक संवेगले काम गर्दैन थियो भने यो सृष्टि चक्र यहाँसम्म आइपुग्ने नै थिएन । तर ……… आधुनिक समाजमा भावनात्मक उर्जा सकिँदै गयो र अहंकारको जालो फैलँदै जान थालेको छ ।

आधुनिकता र स्वतन्त्रताका नाममा चर्का चर्का बहस गर्ने कोटीका महिलावृन्दहरु एक लाइकका लागि विज्ञापनको प्रसाधन बनिदिन्छन् । के महिलाले अझै पनि शारीरिक सुन्दरताका लागि प्रतिस्पर्धा गरिरहने हो  ? के महिलासँग वैचारिक बहसमा उत्रन तर्क छैन ,क्षमता छैन ? राज्यसँग आरक्षणको लागि कहिलेसम्म कोटा मागिरहने ? हाम्रो क्षमताले हामीले उच्च स्थान प्राप्त गर्न अझै कति पुस्ता पर्खिनु पर्छ ? 

उमेर पुगेपछि बिहे गरिदिनु पर्छ ,बच्चा जन्माइदिनु पर्छ ……… थोरैले रहरले वैवाहिक सुख हासिल गरेको हुन्छन् , अझ मातृ सुख त अनुभवहीन भइदिन्छ कामकाजी महिलाको । भुइँ नदेखिने पेट हुँदा पनि अफिस जानुपर्छ , फिल्ड हेर्नुपर्छ । त्यसमाथि लोग्नेको पसिनामा आहाल बसेका आइमाईहरुको वचन सुन्नुपर्छ " अब त पोइको कमाई खाएर बस्ने बेलामा कति लोभ गरेको पैसाको ? " हाय रे दुनियाँ आफ्नो परिश्रमको एक हजार पनि पोइले खटाएर दिएको दस हजारभन्दा कति मुल्यवान हुन्छ भन्ने अर्काको कमाइमा रजाइ गर्नेहरुले कसरी बुझुन् । 

बच्चा जन्मिएपछि ज्यान तङ्ग्रिन नपाउँदै जागिर जोगाउने दौडधुप सुरु हुन्छ । दिनभरि गान्निएका स्तन र भोकाएको शिशुको ब्यालेन्स मिल्दैन र सुरु हुन्छ फेरि अर्को तिक्तता ………

यस्तो समाजसँग संघर्ष गर्नुपर्ने हामीलाई चिन्ता चाहिँ लिपिस्टिकको कलर र क्रिमको क्वालिटीको हुन्छ । पहिरनका डिजाइन र श्रृङ्गार प्रसाधनको हुन्छ  ।  भित्रबाट सुन्दर र शिष्ट बनाउनको लागि पनि कुनै प्रोडक्ट हुन्थ्यो भने मलाई लाग्छ त्यहाँ कुनै महिलाको होडिङ बोर्ड बन्ने छैन । किनकि आजसम्म महिलाहरुलाई शारीरिक सुन्दरताकै घमण्ड छ र पुरुषले त्यसको भरपुर प्रयोग गरेको छ । यहाँ विज्ञापनमा सुन्दरता हुँदैन ,सुन्दरताको विज्ञापन हुन्छ । 

Monday, August 2, 2021

डायरी- विमर्श


 जिन्दगीले भोगेका धेरै कुराहरु डायरीमा उतार्न सकिन्न । हामी आफ्नो लागि कम र अरुको लागि धेरै होशियार भएर बाँच्ने कोसिस गर्छौं । आफुलाई के हुन्छ भन्दा बढि अरुले के सोच्छन् भन्ने कुराले हाम्रो दिमागमा यसरी जाल बुनेको हुन्छ कि चाहेर पनि त्यो जालो बाट हामी मुक्त हुन सक्दैनौं । मैले धेरै पटक आफ्नो डायरी च्यातेको छु र जलाएको छु । के मेरा दैनिकी त्यति लज्जास्पद थिए ? के मेरा अभिव्यक्ति त्यति अस्विकार्य थिए ? कसैले पढ्न नहुने ,नसक्ने कुराहरु के लेखेँ मैले ? किशोरी उमेरमा आउने धेरै भावनाहरु मैले संगालेर राख्न सकिनँ ,जानिनँ । म काँचो थिएँ र मलाई डर लाग्थ्यो मलाई पढेर के भन्लान् ।  मन हो , मनमा राम्रा नराम्रा सबै किसिमका भावहरु आउँछन् ,विचारहरु आउँछन् र तरंग फैलाउँछन् । हामी हुर्किएको वातावरण अनुकूल हामीमा यति धेरै लगाम लगाइन्छ कि हामीलाई हाम्रा उमेरले दिएका अनुभवहरु लेख्ने हक सम्म छैन । हामी कुन मानसिकतामा बाँचिरहेका छौँ अझै ? 

हामीलाई हाम्रो समाजले कुन स्तरको बनाउन चाहन्छ ? समाज तपाईं ,हाम्रै सम्मिश्रण होइन र ? 

समाजमा व्याप्त अनैतिकता , अव्यावहारिकता जस्ताको त्यस्तै विकास गरेर एउटि छोरीको ,एउटी किशोरी ,एउटी यौवनाको डायरी जलेर खाग हुँदैमा समाज सभ्य हुन सक्दैन । यसले कुण्ठाको बाटो डोर्याउँछ र समाजलाई अझै भत्काउँछ ।

म तिनै च्यातिएका र जलाइएका डायरीका किस्साहरु सम्झने यत्न गर्दैछु ।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...