Saturday, September 17, 2022

काँचो मासु




 


मखमली  ,

रक्सी खाँदा खाँदै रक्सीले खाएका

ख्याउटे , राले , सिङ्गानेहरुले खाएको रक्सीको

गिलास 

घिन नमानी उठाउँछे 

सरफ पानीमा चोपल्छे र धस्काउँछे भिम साबुन त..ल

पोखुल्टादेखि डोकामा जोर गाग्रो हालेर

बोकेर ल्याएको पानी रक्सी भन्दा पनि फारु

गरि पखाल्छे

"एक गिलास पनि पत्याउँदिनस्

मखमली " भन्दै छिरेको हर्के एक मानो बुत्याउँछ र

भन्छ "के म गरिब छु ? " 

घरभरि खसी छन्, बासेको

भाले ल्याइदिउँला भोलि बिहान नबास्दै ,

"अब

एक गिलास थपिदेन मखमली "

मखमली हार्छे र

रक्सीका ग्यालिनहरुबाट छोरीको सुन्दर

भविष्य सार्दै , गिलासहरुमा भरिदिन्छे 

ऊ जान्दिन उसको पेसा कस्तो हो 

एकाएक

बजिरहेको रेडियोले फुक्छ घरेलु मदिरा

निषेधित विज्ञापन …… माझ्दामाझ्दैको

गिलास मखमलीको कम्पित हातले थेग्न सक्दैन

र फ्याट्ट फुट्छ भुइँमा बजारिएर 

जाँड राख्ने मकै,

कोदोको ढिँडो र मर्चा मात्रै जानेकी ऊ

आगो बल्ने रक्सी पार्न सिपालु छे 

न उसको कम्पनी छ न दर्ता 

लोग्नेले अलपत्र छोडेर

हिँडेपछि रक्सी जस्तै बल्ने मनको जलन रक्सी

बेचेर निभाउन थालेकी थिइ 

रक्सी र सुकुटीको

स्वादमा कतिले मखमलीको रुप चटनी बनाए

छोइला कचिला र अचार बनाए , त्यसको

हिसाब खोज्दिन ऊ 

घरेलु मदिरामा सरकारले

लगाएको प्रतिबन्ध सँगै उसले आफ्नै यौवनको

निर्बन्ध व्यापार खोली वरपरका आइमाईहरु

लोग्ने बिगारेको बातमा मखमलीतिर धारे

हात लगाइरहे न उसको सत्यानाश नै भयो न

कानुन पुर्जी लिएर समाउन आयो 

वाह क्या सरकार छ देशमा 

क्या प्रतिबन्ध लगाउँछ मदिरामा 

काँचो मासुको खुलेआम

विजनेश गरेर !!


विष पुरुषको पीयूष माया




 बरण्डामा उभिएर मेरै बाटो हेरिरहेकी ऊ कोठाभित्र पस्दा नपस्दै विस्फोट भई ” मलाई तिम्रा गर्लफ्रेन्ड जति सौता जस्ता लाग्छन् ,झन् त्यो सरला किन तिम्रो काँधमा काँध मिलाएर हिँड्छे ?”

” के सम्बन्ध छ तिम्रो त्यो सँग ? त्यो बिचमा आएकी कि ,म बिचमा आइपुगेँ हँ ??

उसको यस्तो अप्रत्याशित प्रश्नले मलाई एक पटक खङ्रङ्ग बनाउँछ । चोरी पक्रिएको मेरो पुरुषत्व डग मगाउँछ । आशङ्काको आगो ओकलेको उसको प्रश्नले एकाएक ऊ प्रति तीव्र वितृष्णा जस्तो पनि पलाउँछ, जब मैले बोलिहाल्न उचित शब्द भेटिनँ, त्यसपछि झन्डै झन्डै हात उठिसकेको थियो मेरो । सोफामा असरल्ल रहेका लुगा पट्याउँदै दराजमा राख्न लागेकी ऊ मेरो मौनतामाथि विजयको हुँकार छोड्छे अझै र भन्छे ” बोल्ने ठाउँ राखेको भए पो सक्नु ?त्यो अर्काकी स्वास्नी , बच्चाकी आमासँग कस्तो लसपस हो तिम्रो ?”

म तिम्रो स्वास्नी मात्रै होइन ,तिमी मेरो प्रेम पनि हौ । मलाई तिम्रो प्रत्येक धड्कनको पूर्वानुमान हुन्छ । त्यो कसको र कस्तो नाममा धड्केको छ तिमीले छलेर छलिन्न ।”

म सुने नसुने झैँ अस्थिर मन टिभीको स्क्रिनमा एकत्रित गर्न खोज्छु , मोबाइलमा टिङटिङ गरेर न्यु म्यासेजको सङ्केत देखिन्छ ।

ऊ एकोहोरो पुराण सुनाइरहेकी छ । म घरी टिभी, घरी मोबाइलको म्यासेज बक्समा आँखा कुदाउँछु । म्यासेज बक्समा १,२,३ गर्दै ७,८ ओटै इनबक्स जम्मा भइसके । म पुरै बेवास्ता गरिरहेको छु ,कारण अगाडि हतकडी लगाउने तरखरमा छे ऊ ,अर्थात् मेरी जीवनयामिनी ।

सरला मेरो कलेज पढ्दाखेरीकी सहपाठी । प्राय एउटै बेन्चमा बस्थ्यौँ ।धेरैजसो क्लास सकिँदा लगभग म पनि उसको पूरा स्केच बनाएर सक्थेँ । अनि ऊ ती चित्रहरूलाई उसका गुलाबी ओठको छाप बस्ने गरी चुप्पा गर्थी र चित्र सहित चम्पट हुन्थी ।

भोलि ,भोलि र फेरि अर्को भोलिहरु पनि यसै गरी बिते र ऊ त्यसै गरी चित्र लिएर भागेकी फेरि जीवनको आधा अध्याय सकेर मात्रै भेटिई ।

सादा थिई,रङ्गिन भइछ । रङ्गहीन पनि सुन्दर थिई, अहिले रङ्गिन विरुप भइछ । प्रेममा पहिलोपल्ट हारेको आभास गरेँ ।

साथी र लेक्चररको आँखा छलेर मेरो हातका अौँला खेलाउँथी र भन्थी “कस्तो चिसो छौ के तिमी ” , “चिसो अौँला हुनेहरूको लभ true हुन्छ नि त” म उसले छोइरहोस् भनेर हौवा बनिदिन्थेँ । ऊ मेरा आँखामा एकदम बेग्लै गरी हेर्थी र भन्थी ” कसम ?”

बदलामा म उसको अौँलामा बेस्सरी नङ गाडिदिन्थेँ, ऊ आँखा चिम्लन्थी र निस्सासिएर गहिरो सास फाल्थी ।

कहिलेकाहीँ मेरा स्केचमा ऊ आफूलाई भेट्दैनथी र मेरो मेहनत च्यातेर डस्बिनमा हालिदिन्थी । यसरी सरला मेरो जीवनमा याद बनेर रही, उन्माद चढेर आई अनि न्यास्रो बनेर बेपत्ता भएकी थिई ।

लगभग दुई दशकपछि फेसबुकमा भेटिई र फेरि मलाई त्यही क्याम्पसको लास्ट बेन्चमा पुर्‍याएर मेरो अौँला मात्रै होइन मुटु पनि छामिरहेकी छ । ऊ सँग छुटेपछिका मेरा चित्रहरूमा उसैलाई खोजिरहेकी छ । तर पहिला जस्तो बहुलाएर च्यातिदिएकी छैन, हेर्छे, हेर्छे अनि थकित सुस्केरा छोड्छे र भन्छे ” मलाई तिम्रो कुचीमा सजिन लेखिएकै रहेनछ नि ” । म मौन रहन्छु । ऊ अङ्गालिन चाहन्छे, छुन चाहन्छे ,मेरो काँधमा ,मेरो छातीमा पोखिन चाहन्छे । जब उसको तातो श्वासले मेरो निधार चुम्छ म हताश हुन्छु र जुरुक्क उठेर बाटो लाग्छु । जान्छु पनि भन्न सक्दिनँ ,यसो नगर म अरूको भइसकेँ ,तिमी अर्कैको भइसक्यौ पनि भन्न सक्दिन ।                      एक पाखो मन त्यही सरलाको आँखामा पिलपिलाइरहेका आँसुमा छोडेर म भर्खरै मात्रै कोठामा छिरेको हुन्छु र यसरी केरकारमा परेको छु । मलाई थाहा छ, मोबाइलको म्यासेज बक्स उहीँ सरलाले भरेकी हो , गुनासो होला, आँसु होला, तिक्तता , रिस, अाक्रोस्, प्रेम के के लेखेकी होली । यता ऊ उग्र भएकी छ र यो सबुद भेट्नु भनेको उसका आरोपहरू सही सत्य हुनु मात्रै होइन , पारपाचुके सम्मको परिणाम सुनिश्चित हुनु पनि हो । म जीवनमा दोस्रोपल्ट आफ्नै प्रेमसँग हार्छु र हतार हतार नपढिएको इन्बक्स म्यासेज डिलिट गरिदिन्छु र उसको नम्बर ब्ल्याक लिस्टमा हालिदिन्छु । जल्दै गरेको घर पानी छम्केर निभाए जत्तिकै शीतल महसुस भो । मेरो हातको मोबाइल खोसेर ऊ मेरो म्यासेज बक्स या फेसबुक च्याट चेक गर्ने खालकी होइन । अाजसम्म त्यसो गरेकी छैन र पनि आज अज्ञात भयले म निलो भएको छु ।यो चिसो मौसमलाई च्यालेन्ज गर्दै मलाई पसिनाले लत्पताएको छ ।

मेरो यो अस्वाभाविक मौनताले ऊ फतफताउन छोड्छे र नजिकै अाएर मेरो निधार छाम्छे , हनहनी तातेको मेरो टाउकोमा मसिना अौंलाहरु (जो यो चिसोमा लुगा पट्याउँदा पट्याउँदै चिसिएका छन् ) खेलाउँछे मलाई एक किसिमको बेग्लै सन्तुष्टि मिल्छ । प्याट्ट मेरो कुममा हिर्काउँदै भन्छे ” अघि नै भन्नू पर्दैन सन्चो छैन भनेर ?”

म उसलाई हेरेर फिस्स हाँस्छु । सम्झन्छु चिसा अौँलाको ट्रु ( true ) लभ ।


Monday, March 7, 2022

मार्च आठ र महिला अधिकार


जाँड रक्सीका घ्याम्पा फुटाउँदै ,घ्याम्पाका जाँड घोप्टाउँदैमा महिलाका अधिकार सर्वोपरि हुने र महिला हिंसाको अन्त्य हुन्थ्यो भने यतिखेर समयले अर्कै कोल्टे फेर्ने थियो । कुनै पनि नारीले आफ्नो शक्तिको बिस्कुन सत्ता बाहिर फिँजाउनु पर्ने थिएन । नारीका शत्रु नारी नै हुन् भन्नेहरुको विश्लेषण सतही हो । जुन विषयमा पूरा ज्ञान छैन ,त्यसैमा सबैभन्दा बढि टिप्पणी हुन्छ ।

अहिलेको महिला स्वतन्त्रता र अधिकार पनि विकसित समाजको पर्याय होइन । यहाँ घर भत्काएर गोठ बन्नु उपलब्धि हुन सक्दैन । यहाँ स्वतन्त्र हुन सम्बन्ध विच्छेद हुनुपर्छ । हक अधिकारको नाम निशाना मेटिनुपर्छ । सम्बन्धका कसिला डोरिहरु जलेर खाग हुनुपर्छ । अौंलामा गन्न सकिनेहरुको भागमा त्यो खुसी छ जो परिवारमा मिल्छ । परिवारमा नमिलेको खुसी खोज्न भड्किनेहरुको कथा व्यथा झन् लामो छ । पुरुष हुनुको अहम बोकेर सम्बन्धहरुको जालो फिँजाएर घर ,बाहिर दुवैको स्वतन्त्रता खोस्नेहरुको अादत झनै अापत्तिजनक छ ।

श्रीमतीका अगाडि सालीका स्तन माड्ने मात्रै होइन , सुत्केरी दिदी स्याहार्ने सालीलाई नै भुँडी बोकाउने र एउटै घरमा दुई जिन्दगी सडाउने समाज पनि यहि हो । काम गर्ने श्रमिकका रुपमा घरभरि श्रीमतीको बिस्कुन लगाउने समाज पनि हो ।  कम भएको छ र यो मानसिकता अन्त्य चाहिँ भएको छैन अझै ।

सदियौँदेखि भावनामाथिको खेलबाड , शरिरमाथिको खेलबाड ……मलाई यो संरचनाको अन्त्य भएको हेर्नुछ ।


एउटा स्थापित महिलाको संघर्ष अझै कहालीलाग्दो छ । कसैको काँधमा नचढिकन सफलताको शिखर चुम्ने ती महिलाहरुको साहसलाई सलाम । यहाँ चाकडी चाप्लुसी गरेर चर्चामा पुगेका पुरुषहरु नभएका होइनन् , तर महिलासँग योनी छ र ,महिलाको चरित्र लगेर सिधै योनीमा चोपलिन्छ । कति निघृण छ हाम्रो सोच, कति विकार छ हाम्रो मानसिकतामा ?

कहिलेकाहीँ सोच्छु  उमेर पुगेकि म, घर व्यवहारको जिम्मेवार उठाइरहेकी म आफ्नो प्रेमिसँग भेट्न जाँदै गर्दा भन्न सकुँ  "अामा म आज फलानासँग हुन्छु , ढिला हुन्छ अथवा नअाउन सक्छु ।"  जब म सबै कुरामा सक्षम छु , आफ्नो निर्णय प्रतिको जिम्मेवारी आफैं उठाउन सक्छु र पनि  झुटको सहारा लिन बाध्य हुन्छु । किन ??  म कल्पना गर्छु , छोरीहरु डेट जाँदै गर्दा आमाहरुले सम्झाउन् , "त्यहाँ विवेक नगुमाउनु , प्रेमका नाममा बलात्कृत नहुनु । म छु केही परे भन्नू । "हाम्रो जस्तो अल्पविकसित मुलुकमा यहाँ सम्मको चेतना त हाम्रा संस्कारका साङ्लाहरुमै बन्धित छन् ।मान्छेको चेतना विश्वविद्यालयको शिक्षाले भन्दा ज्यादा संस्कारको अभ्यासमा बढि अभ्यस्त छ ।


यहाँ घर घरमा शोषण छ ,दमन छ । महिलामाथि हुने हिंसाको स्वरुप बदलिएको छ । हिजो हुने शारीरिक यातना ,कुटपिट अाज मानसिक ज्याजतिमा रुपान्तरण भएको छ । हिजो घर घरमा हुने सौता अाज सञ्जालमा हुन्छन् । बाहिरबाट शिक्षित, सभ्य, संस्कारी देखिनेहरुको भित्री कर्तुत राम्रोसँग अध्ययन गर्ने अवसर पाएँ । मलाई दुख लाग्छ ती अाम नारीहरुको समर्पण प्रति । कति श्रदा छ उनीहरुमा आफ्नो पुरुष प्रति तर तिनै बोक्रे अादर्शहरुको नियत यति घिन लाग्दो हुन्छ कि थुक्न पनि घिन लाग्छ । यसरी लेखिरहँदा , लाग्न सक्छ म कुण्ठा ओकलिरहेको छु । यो बिल्कुल होइन ,एकपटक आफू र आफ्नो वरिपरिको माहोल सुक्ष्मसँग नियाल्नुस् । यो सत्य तपाईंको वरिपरि पनि छ । तपाईंको जिवनमा पनि छ ।


केही महिलाहरु गरिब छन् । उनीहरुसँग पैसा छैन । भोग बिलास छैन । आराम छैन । र पनि  सकुन छ । सन्तोष छ । अानन्द छ । किनकि उनीहरूलाई उनीहरुको लोग्नेको मिठो साथ छ । लड्दा उठाउने हात छ । एक अर्कामा समर्पण छ । हो मलाई त्यहि समाज समतामूलक लाग्छ । अभाव होस् तर दबाब नहोस् । दुख होस् तर सुखका निम्ति बेमानी नहोस् ।

कसैले कसैको खुट्टा नतानोस् । स्वतन्त्रताको लागि घर नतोडियोस् । नाता नटुटोस् । एक रथका दुई पाङ्ग्रा, एक सिक्काका दुई पाटा कसरी एक बिना अर्को पुर्ण हुन सक्छन् ?



  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...