Wednesday, October 27, 2021

तिमी


 स- साना कुराहरुमा खुसी हुन सिकेँ - तिमीसँग

स- साना कुराहरुमा दुख्न सिकेँ - तिमीसँगै 

अकारण रिसाउन सिकेँ स साना कुरामा 

र फकाउन सिकेँ तिमीले जस्तै 

जब तिमी 

ठूलो चोट दिएर गयौ 

सम्हालि नसक्नु पीडा दिएर गयौ 

सकिनँ तिमी जस्तो हुन

सकिनँ तिमी जस्तै खुसी हुन

र सकिनँ मेट्न

तिम्रो नाउँमा लागेको दाग

अनमोल छ मलाई तिम्रो उपहार

कुनै समय यहि बाटो भएर फर्कियौ भने

दुनियाँको प्रहारले थिलथिलो भएको 

आफ्नै प्रेम सम्झेर 

नचुकचुकाउनू तिमी !!

प्रेमVsसिन्दुर


 तिम्रो नामको सिन्दुर कुर्दाकुर्दै 

मेरो सिउँदोको उमेर बित्यो 

तिम्रो नामको पोते पर्खँदापर्खँदै

पोतेको झुत्तोले पिङ खेल्ने 

वक्षको बैँस सकियो 

तिमीले पहिराइदिए मात्रै

तिम्रो हुन पाउने

तिमीले भित्राइदिए मात्रै 

तिम्रो घरकि हुने ??

महोदय, 

भनन ,म तिमीलाई मेरो बनाउन के पहिराऊँ

कहिलेसम्म गरुँ प्रतीक्षा 

चिम्टी सिन्दुरको ?

चाहन्छौ नि तिमी ,

प्रेमले छोओस् , आलिंगनमा बाँधोस् 

समर्पणले भरिएर पोखियोस् 

र चाहन्छौ 

तिम्रो अनुकूलता पर्खिएर 

तिम्रो आवश्यकता पर्खिएर

तिम्रो अहम र आवेगको बलि भएर

तिम्रो बनुँ ………बनिरहुँ 

कहिलेकाहीँ त लाग्छ 

तिमीसँग जिस्कँदा जिस्कँदै 

आफुलाई अामा बनाऊँ

र तिमीलाई अपनाऊँ

आफ्नो रगतको प्रेमले

आफ्नो वीर्यको सम्मोहनले

तिमीलाई मेरो बनाओस् 

र मैले एक चिम्टी सिन्दुर कुरेर 

कपाल फुलाउन नपरोस् 

यो बच्चा तिम्रो हो भनेर

गर्न नपरोस् परिक्षण

लगाउन नपरोस् तिम्रा 

प्रेमिल पाखुरामा हतकडी 

तिमीलाई यसरी अपनाउन 

अझै कति शताब्दी प्रतीक्षा गरुँ प्रिय ??

Monday, September 6, 2021

बुवा

 नेपालीमा एउटा उक्ति छ " बाउसँग अनुहार मिल्ने छोरी अनि आमासँग अनुहार मिल्ने छोराहरु भाग्यमानी हुन्छन् ।" अनुहार मिल्दैमा भाग्यमानी हुने कुरामा विश्वास लाग्दैन । तर पनि सानो हुँदा खुब खुसी लाग्थ्यो बाउसँग मिलेको अनुहारले भाग्यमानी भईन्छ भनेर ……… खुसी त अहिले पनि लाग्छ ,आजसम्म बाउ आमाको काखमा खान पाइएको छ , बाउ आमाको आँगनमा खेल्न पाइएको छ । यो भन्दा ठुलो अर्को भाग्य पनि त के छ र संसारमा ।  

म जन्मेर यत्रो हुन्जेल बुवा बिमार भएर अस्पताल भर्ना हुन परेको थिएन । पोहोर साल बुवा साह्रै बिरामी हुनुभयो । यो मेरो परिवारको लागि ठुलो खड्गो थियो र कट्यो पनि । पहिलोपटक बुवा बिरामी हुँदा अफिस जाँदा बाटोभरि रुँदै हिँडेको अहिले जस्तै लाग्छ । एउटा हातमा खाना बोकेको छु , अर्को हातमा झोला भरेको छु । लक डाउन ग्रस्त समयमा अस्पताल पुर्याउनै पो नसक्ने हुँ कि , उपचार गराउन नै पो नभ्याउने हुँ कि भनेर यति आँतिन्थेँ कि आफ्नै रक्तसंचार गडबढ भएर पटकपटक भाउन्न हुन्थेँ । 


जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् ,हो जस्तो पनि लाग्छ । बुवा बिरामी हुँदा बुवालाई त गाह्रो भयो नै दिनरात ,झरि बादल नभनेर सहयोग गर्ने दाइहरुलाई पनि गाह्राे भयो । अफिसमा मेरो जिम्मेवारी लिएर बुवाको उपचारका लागि मलाई सजिलो बनाइदिने सहपाठी सहकर्मीहरुलाई पनि गाह्राे भयो । तर यो समयले बाउ छोरीको सम्बन्धलाई यति आत्मिक बनाइदियो कि ठुली भएपछि पहिलोपटक बुवाको हातको सिरानी हालेर निदाउन पाएँ । बुवाको अपरेसन सफल भएपछि भर्ना भएदेखी हाम्रो साथ नछोडेकी बहिनी सबु घर गई । जतिखेरै सुत्नु परेर बुवालाई झर्को लाग्थ्यो अनि म डाटा किनेर भुन्टि र कान्छी सिरियल देखाइदिन्थेँ । कहिले दुवै जना हाँस्थ्यौ कहिले दुवै भावुक हुन्थ्यौँ । मैले धेरै पटक बुवाका आँखाका कुनाहरु रसाएको देखेको छु , सायद त्यहि भावुकता मभित्र पनि सरेको हुनुपर्छ । सानो चोटले पनि धेरै दुखाउँछ । प्राय बेलुका बुवा निदाउनु हुन्न थियोे र म बुवा ननिदाए सम्म निदाउन सक्दैन थिएँ । घरि अक्सिजन चेक गर्थेँ घरि हर्ट विट हेर्थेँ । दिउँसो चाहिँ बेडमा टाउको राखेर घोप्टिन्थेँ अनि बुवाले हातको सिरानी लगाइदिनु हुन्थ्यो । म अर्ध निन्द्रामा हुन्थेँ । बुवा मलाई सानी बच्चीलाई जस्तो मेरो कपाल मिलाईदिरहनु भएको हुन्थ्यो । 


बुवाको मनमौजि बानीले गर्दा लाग्थ्यो ,बुवा हामीलाई मायै गर्नुहुन्न अनि बुवालाई पनि लाग्दो हो छोरीहरु आफ्नै पारामा छन् । होइन रहेछ , म बुवालाई आमालाई भन्दा बढि माया गर्दो रहेछु । किनकि ममि धेरैपटक बिरामी हुँदा पनि म यसरी भक्कानिएर रोएको थिइनँ । अफिसमा सि सि क्यामेरा अफ गरेर ढोका थुनेर रुन्थेँ ,ठुलो साउन्डमा टिभि अन गरेर । बाहिरको मान्छेले नसुनुन् भनेर ……… ती दिन सम्झेर आज पनि आँतै जिरिङ्ग हुन्छ । त्यति बेलै थाहा पाएँ बुवा संसार जालिम छ भनेर।  अप्ठ्यारोमा पारेर मान्छेहरुले कसरी पछाडिबाट छुरा धस्छन् भनेर …… चाहेर पनि बिर्सन सक्दिन ती दिनका गोमन साँपहरुलाई जसले मेरो आलो घाउमा नुनचुक छरिरहे,डसिरहे……… र मैले ऐया पनि भन्न पाइन । 

सन्तानलाई सम्पत्ति ठान्ने मेरो महान बा , सन्तानको खुसीलाई स्वर्ग ठान्ने मेरो आदर्श बा । सबैभन्दा ठुलो कुरा आफ्नो मर्जीको मालिक हुन सिकेको छु बुवा हजुरबाट , ढुक्क हुनुस् हजुरको छोरीको जिन्दगीमा कोही हस्तक्षेप गर्न आउन सक्ने छैनन् ।


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...