Wednesday, September 3, 2025

संकल्प

 

कलियुगकी राधा हुँ 

किन्तु

परन्तु

द्वापर युगमै इति: 

भइसकेको 

कृष्णको निश्चल प्रेम भेटिनँ

अपितु 

दुसाशनका बिजहरु यत्रतत्र 

सल्बलाइरहेछन् 

कंसका काला कर्तुतहरु 

छताछुल्ल पोखिई रहेछन् 

म लाज पचाएर 

खोजिरहेछु 

एक निष्कलंक प्रेम 

जसको प्रतिरक्षामा 

 उत्रने छैनन् कुनै रुक्मिनीहरु 

आँसुको 

मसाल बोकेर 

यहाँ पति बाँडिएको देखिन्छ

प्रेमि खोसिएको देख्ने

आँखाहरु गान्धारी भएका छन् 


कल्पनाको अर्को पर्याय 

प्रेम लेखिन्छ ,गरिन्न 

गरिएको प्रेम 

लेख्न लायक भए पो

अचेल प्रेम हुँदैन 

आकर्षण हुन्छ 

संभोग हुँदैन सेक्स हुन्छ 

प्रेमी भेटिँदैन ,पुरुष भेटिन्छ 

दुईचार स्खलनपछि 

दुत्कारेर हिँड्छ 

र भन्छ  " चरित्रहीन " 

म लेख्नेछु 

प्रेमको अर्को अध्याय 

जहाँ हुने छैनन् 

कामुकतामा उठेका 

भावनाका ज्वारभाटाहरु 

र निमोठिने छैनन् 

स्निग्ध समर्पणका उद्वेगहरु 

नआओ कोही प्रेमको

भर्याङ चढेर 

पटकपटक उठ्दैन ढलेको विश्वास 

र गुमेको ईज्जत् 

लिंग र प्रेमको 

प्रकृति अलग छ !!

Thursday, August 21, 2025

बुद्ध ,बहुला र "म"


 

लट्टा परेको कपाल

मयलको पत्रले पुरिएर एउटै भएको

छाला र लुगाको रंग

खप्टिएर भिरेको फ्याङ्ले कपडाले

धर्म छोडेर देखिएको गुप्ताङ्ग

चालीस डिग्रीको पीचमा लतारिएका

नाङ्गा पैताला

दुनियाँले देखिरहेको

यो सामान्य दृश्यले

म असामान्य हुन्छु


बीच सडकमा बिना त्रास ,बिना संकोच

निडर ,निर्भय ऊ थचक्क बसिदिन्छ

एउटा अज्ञात भयले , म आँखा चिम्लन्छु

मेरो मस्तिष्क ,

रगत र गिदिको आहालमा लट्पटिएको

मानव आकृतिले विकृत हुन्छ

म आँखा लुकाएर पछि हट्छु

आश्चर्य ,


कुनै दन्त्य कथाको नायकको झैँ

निर्भिक अट्टहासले म फर्किएँ

न रिस ,न राग न भय न अपेक्षा न उपेक्षा

शान्त उसका आँखामा मैले बुद्ध देखेँ

एकाएक कस्सिएको मुठ्ठी

र आक्रोशित लवजले म अल्मलिएँ

मैले भर्खरै देखेको शान्त आँखा

बुद्धको कि बहुलाको ??


बहुलाको आँखामा बुद्ध देख्ने

मेरा आँखा बहुला हुन् कि

बुद्धलाई बहुला देख्ने मेरो मगज उस्तो ??

ऊ यसरी उठ्यो ,

जसरी

आफ्ना डमरुको रक्षामा बघिनी उठ्छे

अन्धाधुन्ध झम्टन्छे र लुच्छे

ठिक त्यस्तै उसको गर्जनले म अलिपर भाग्छु

अरुहरु पनि भाग्छन् ,

ऊ बुद्ध होइन बहुला हो


बहुलाले जुनसुकै बेला जस्तोसुकै हुर्मत लिन सक्छ

मान्छेलाई मान्छेको अगाडि नाङ्गिन लज्जा हुन्छ

नाङ्गो बहुलालाई न लज्जा न ग्लानी

बाटोको माटो उठाएर शीरमा हाल्छ

र खोच्चिएका खुट्टा उचालेर सपथ खान्छ

“सत्य सेवा सुरक्षणम् “

बेसुरा हर्कतबाट भीडले मज्जा लिन्छ

र हाँस्छ उपहास

त्यसपछि ऊ ढुंगा उठाउँछ र भिडतिर दौडन्छ

के बुद्ध बहुलाउँदा यस्तै हुन्छ ??



छिन्नभिन्न भएर भीड हराउँछ

तातो सडकमा फेरि थचक्क बस्छ

चिसो तातोको संदेश नपठाउने रक्तनशा

घामपानीको असर नदेखाउने हाड छाला

न दुख्छ न रुन्छ ,लाग्छ निर्जीव ठुटो हो

जब

व्यस्त सडक अवरुद्ध हुने गरेर

व्यस्त मानिसका पाइला टक्क अडिने गरेर

बीच बाटोमा तेर्सो पर्छ र बर्बराउँछ

फेरि पनि म

शिष्यहरुको माझमा दर्शन बाँडिरहेको बुद्ध देख्छु

सिलसिला विहिन उसका विषयहरु

प्रसंगविहिन राखिएका तर्क

प्रयोग विहिन भएको प्रमाणित जस्तो

कता कता कस कसलाई झट्का लाग्छ

र फेरि बुद्ध बहुलामा परिणत हुन्छ



ऊ माटोको टीका लगाउँछ,

माटोको ओछ्यानमा माटोकै सिरान हाल्छ

बिना लोभ कोहि पापी हुन्न

ऊ पापी होइन ,उसलाई लोभ के को ?

ऊ बहुला फगत बहुला

मगज सड्केको बहुला

ऊ आफ्नै भाइलाई दलाल भन्छ

देश बेच्नेहरुको सत्तोसराप गर्छ

गरिबको पसिनामा रजाइँ गर्नेहरुको

माटोको मोलमोलाइ गरेर

नाप नक्सा खुम्च्याउनेहरुको पोल खोल्छ

सत्यसँग डराउनेहरुले , इमान बेचेर नाङ्गिएकाहरुले

तर्कले जित्न र इमानले हार्न नसक्नेहरुले

ऊ तिर औंला उठाए र भने बहुला हो यो


अब सबै उसलाई बहुला देख्छन्

ऊ सबैलाई भ्रष्ट देख्छ

कहिले आनन्द बोल्छ कहिले आक्रोश

कहिले घीन बोल्छ कहिले करुणा

बेप्रवाह बोल्दा बोल्दै अनियन्त्रित हुन्छ

एउटा कम्पनले डगमगाउँछ भीड र धपाउँछ

म घरि बुद्ध देख्छु ,घरि बहुला

हुन सक्छ मेरो भ्रम

कतै म आफैं त बहुलाइनँ ??

अपराजित "पारिजात"

 

प्रिय पारिजात 

यो हाड मासुलाई 

माटोको जिम्मा लगाएर 

अाउनेछु तिम्रो समिप र सोध्नेछु तिमीसँग

तिमीले सकम्बरी र सुयोगवीर लेख्दा

साल्गीको बलात्कृत आँसु लेख्दा 

अन्तरमुखी र अपरिभाषित अाँखा लेख्दा 

एउटा अपमान सहि

एउटा तिरस्कार सहि

एउटा अपवाह सहि

कसैकी रण्डी हुन पर्यो कि परेन ? 

कसैकी वेश्या हुन पर्यो कि परेन ? 

मलाई शंका लाग्छ 

कतै उपमाहरुको भारीले 

आशंका र कपोकल्पित दिग्भ्रमहरुले

तिमीलाई बाँझो राखेको त थिएन ?


म मेरा घाउहरु देखाएर सोध्नेछु तिमीलाई 

तिमीले ती घाउहरु 

उतै छोड्यौ कि सँगै लिएर आयौ ? 

त्यहाँ जस्तै पोल्छ कि शितल छ यहाँ ?

कट्कटी दुख्ने हातगोडाका जोर्नी 

अशक्त फोक्सोको उकुसमुकुस 

त्यहाँभन्दा बेसी 

दुख्यो कि दुखेन मनको धरातल ? 

प्रिय पारिजात 

फुलेपछि नझर्ने जीवन के को छ र ?

तिमी झर्यौ एउटा उचाइमा पुगेर

म भुइँमा पोखिनुको 

बाटोमा छरिनुको 

हजारौं पैतालाले कुल्चिनुको 

एउटा तितो कहानी लिएर आउनेछु

मेरा सवालहरुको जवाफ खोजिराख है ।।

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...