Tuesday, November 16, 2021

भुइँ कुहिरो र पैयूँ फूल


 


भुइँ कुइरो फुलेर बस्ती ढकमक्क फुलेको छ

कुहिरोभित्र उस्तै मोहक देखिएका  छन् 

पैँयुका गुलाबी बोटहरु

ठुलो रुखमा फुलेका स साना फूलहरु 

शीत सँगै झरिरहेछन् मेरो हत्केलामा

यसरी चिसो फूलको स्पर्शले 

मलाई पुलकित बनाइदिन्छ र 

एकाएक तिमीलाई खोज्न थाल्छु


तिमी यिनै पैँयुका फूलहरुझैँ 

एक याम आयौ

र अलप भएर गयौ भुइँ कुहिरो जस्तै 

न बाँधेर राख्न सकेँ 

न सजाउन सकेँ 

भुल या भ्रम पो थियौ कि 

कहिल्यै खोतल्न चाहिनँ

बस् मिठो अनुभूति नमिठो गरि निलिरहेँ


तिमी आउनु ,जानू या हराउनुमा 

कुनै गुनासो गरिनँ

किनकि तिमी नियोजित आएका थिएनौ 

र योजना बनाएर गएका पनि होइनौ 

नियति यति बलियो भएर रह्यो कि

तिमीसँग अर्को यामको 

याचना गर्न पनि सकिनँ


जहाँ छौ ,

तिम्रो संघारमा खुसीको घाम उदाओस्

घाम त यहाँ पनि उदाएको छ 

सँगसँगै उदाएको तिम्रो चिसा यादहरुले

आँसुको बुँद ओभाउन दिएनन् 

र म भिजेको पुतली भएँ

उड्न सकिनँ !!


  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...