नेपालीमा एउटा उक्ति छ " बाउसँग अनुहार मिल्ने छोरी अनि आमासँग अनुहार मिल्ने छोराहरु भाग्यमानी हुन्छन् ।" अनुहार मिल्दैमा भाग्यमानी हुने कुरामा विश्वास लाग्दैन । तर पनि सानो हुँदा खुब खुसी लाग्थ्यो बाउसँग मिलेको अनुहारले भाग्यमानी भईन्छ भनेर ……… खुसी त अहिले पनि लाग्छ ,आजसम्म बाउ आमाको काखमा खान पाइएको छ , बाउ आमाको आँगनमा खेल्न पाइएको छ । यो भन्दा ठुलो अर्को भाग्य पनि त के छ र संसारमा ।
म जन्मेर यत्रो हुन्जेल बुवा बिमार भएर अस्पताल भर्ना हुन परेको थिएन । पोहोर साल बुवा साह्रै बिरामी हुनुभयो । यो मेरो परिवारको लागि ठुलो खड्गो थियो र कट्यो पनि । पहिलोपटक बुवा बिरामी हुँदा अफिस जाँदा बाटोभरि रुँदै हिँडेको अहिले जस्तै लाग्छ । एउटा हातमा खाना बोकेको छु , अर्को हातमा झोला भरेको छु । लक डाउन ग्रस्त समयमा अस्पताल पुर्याउनै पो नसक्ने हुँ कि , उपचार गराउन नै पो नभ्याउने हुँ कि भनेर यति आँतिन्थेँ कि आफ्नै रक्तसंचार गडबढ भएर पटकपटक भाउन्न हुन्थेँ ।
जे हुन्छ राम्रैको लागि हुन्छ भन्छन् ,हो जस्तो पनि लाग्छ । बुवा बिरामी हुँदा बुवालाई त गाह्रो भयो नै दिनरात ,झरि बादल नभनेर सहयोग गर्ने दाइहरुलाई पनि गाह्राे भयो । अफिसमा मेरो जिम्मेवारी लिएर बुवाको उपचारका लागि मलाई सजिलो बनाइदिने सहपाठी सहकर्मीहरुलाई पनि गाह्राे भयो । तर यो समयले बाउ छोरीको सम्बन्धलाई यति आत्मिक बनाइदियो कि ठुली भएपछि पहिलोपटक बुवाको हातको सिरानी हालेर निदाउन पाएँ । बुवाको अपरेसन सफल भएपछि भर्ना भएदेखी हाम्रो साथ नछोडेकी बहिनी सबु घर गई । जतिखेरै सुत्नु परेर बुवालाई झर्को लाग्थ्यो अनि म डाटा किनेर भुन्टि र कान्छी सिरियल देखाइदिन्थेँ । कहिले दुवै जना हाँस्थ्यौ कहिले दुवै भावुक हुन्थ्यौँ । मैले धेरै पटक बुवाका आँखाका कुनाहरु रसाएको देखेको छु , सायद त्यहि भावुकता मभित्र पनि सरेको हुनुपर्छ । सानो चोटले पनि धेरै दुखाउँछ । प्राय बेलुका बुवा निदाउनु हुन्न थियोे र म बुवा ननिदाए सम्म निदाउन सक्दैन थिएँ । घरि अक्सिजन चेक गर्थेँ घरि हर्ट विट हेर्थेँ । दिउँसो चाहिँ बेडमा टाउको राखेर घोप्टिन्थेँ अनि बुवाले हातको सिरानी लगाइदिनु हुन्थ्यो । म अर्ध निन्द्रामा हुन्थेँ । बुवा मलाई सानी बच्चीलाई जस्तो मेरो कपाल मिलाईदिरहनु भएको हुन्थ्यो ।
बुवाको मनमौजि बानीले गर्दा लाग्थ्यो ,बुवा हामीलाई मायै गर्नुहुन्न अनि बुवालाई पनि लाग्दो हो छोरीहरु आफ्नै पारामा छन् । होइन रहेछ , म बुवालाई आमालाई भन्दा बढि माया गर्दो रहेछु । किनकि ममि धेरैपटक बिरामी हुँदा पनि म यसरी भक्कानिएर रोएको थिइनँ । अफिसमा सि सि क्यामेरा अफ गरेर ढोका थुनेर रुन्थेँ ,ठुलो साउन्डमा टिभि अन गरेर । बाहिरको मान्छेले नसुनुन् भनेर ……… ती दिन सम्झेर आज पनि आँतै जिरिङ्ग हुन्छ । त्यति बेलै थाहा पाएँ बुवा संसार जालिम छ भनेर। अप्ठ्यारोमा पारेर मान्छेहरुले कसरी पछाडिबाट छुरा धस्छन् भनेर …… चाहेर पनि बिर्सन सक्दिन ती दिनका गोमन साँपहरुलाई जसले मेरो आलो घाउमा नुनचुक छरिरहे,डसिरहे……… र मैले ऐया पनि भन्न पाइन ।
सन्तानलाई सम्पत्ति ठान्ने मेरो महान बा , सन्तानको खुसीलाई स्वर्ग ठान्ने मेरो आदर्श बा । सबैभन्दा ठुलो कुरा आफ्नो मर्जीको मालिक हुन सिकेको छु बुवा हजुरबाट , ढुक्क हुनुस् हजुरको छोरीको जिन्दगीमा कोही हस्तक्षेप गर्न आउन सक्ने छैनन् ।

